बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘दक्षिण सहयोग सहायता कोष’ ले नेपालको विकासमा सहयोग पुग्छ : जियान्चाओ

‘नेपाल–चीनबीचको सम्बन्धको भविष्य उज्यालो छ’
सोमबार, २७ असार २०७९, १३ : ५२
सोमबार, २७ असार २०७९

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले चिनियाँ राष्ट्रपति एवं पार्टीका महासचिव सी जिनपिङले घोषणा गरेको ‘चीन सरकार दक्षिण सहयोग सहायता कोष’ले नेपालको विकासमा सहयोग पुग्ने बताएका छन् । दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गरिसकिएको उल्लेख गर्दै उनले यस कोषले नेपालसहितका मुलुकलाई विकासको क्षेत्रमा महत्त्वपूर्ण सहयोग पुग्ने बताएका हुन् । 

सोमवार काठमाडौँको वसन्तपुरमा आयोजित नेपाल स्माइलिङ चिल्ड्रेन प्रोजेक्टको उद्घाटन गर्दै विदेश विभाग प्रमुख लिउले बालबालिकाहरू खुसी भए मात्रै स्वस्थ रहन सक्ने उल्लेख गर्दै राम्रो अध्ययनका लागि बालबालिका स्वस्थ र खुसी हुन जरुरी रहेको बताए । उनले आजका बालबालिका नै भविष्यका नेपाल र चीनका मित्रताका परिपूरक भएको उल्लेख गरे । प्रमुख लिउले चिनियाँ कम्युनिस्ट पार्टीले नेपाल र चीन दुई मुलुकबीचको सामाजिक संगठनमा धेरै सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले नेपाली बालबालिकाहरूलाई चीनमा भ्रमणका लागि जान पनि आग्रह गरे । प्रमुख लिउले चीनमा आएका नेपाली बालबालिकालाई स्वागत गर्न पाए आफू झनै खुसी अनुभव गर्ने र चिनियाँ बालबालिकाहरूसँग भेटघाट गराउने प्रतिबद्धतासमेत व्यक्त गरे । 

उनले भने, ‘यो कार्यक्रमको विषय धेरै महत्त्वपूर्ण छ । बालबालिकाहरू पूर्ण र राम्रो खाएर मात्र स्वस्थ हुनसक्छ । र मात्र राम्रो पढ्न सक्छ । राम्रोसँग हुर्किएपछि मात्रै आफू र परिवारलाई राम्रोसँग विकास गर्नसक्छ । चीन र नेपालबीचको युगौंयुगदेखिको आधार धेरै बलियो छ । दुई देशबीचको सम्बन्धको भविष्य उज्यालो छ । मैले आज बिहान बिपी कोइरालाको इतिहास हेरेँ अनि नेपाल र चीनबीचका पुराना नेता र सम्बन्धको ऐतिहासिक कुरा पढेँ । हाम्रो पार्टीका महासचिव सी जिनपिङले चिनियाँ सरकार दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । त्यसैले यो सानो परियोजना पनि यस कोषको समर्थन पाउँछ भन्ने आशा छ । यो पनि दक्षिण कोष अन्तर्गत चिनियाँ सामाजिक संगठनले विश्वमा अघि बढाएको पहिलो परियोजनाहरू मध्ये एउटा हो । चिनियाँ कम्युनिस्ट पार्टीले नेपाल र चीन दुई मुलुकबीचको सामाजिक संगठनले सहयोग प्रदान गर्नेछ । यसमार्फत दुई मुलुकबीचको सम्बन्धलाई माथि लैजान सकिन्छ ।’

कार्यक्रममा ऊर्जा जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाल चीनबीच अन्तरदेशीय क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माण गरी स्वच्छ ऊर्जा व्यापारमा सहकार्य हुने विश्वास राखेको बताइन् । उनले लामो समयदेखि चीनले नेपाललाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको उल्लेख गर्दै चीनले आर्थिक तथा प्राविधिक सहयोगबाट नेपालको भौतिक पूर्वाधारको विकास, स्वास्थ्य, शिक्षा, जलश्रोत र खेलकुदमा सहयोग गरिरहेको स्पष्ट पारिन् । 

मन्त्री भुसालले सरकारी तवरबाट सुनकोसी जलविद्युत आयोजनामा सहयोग गरेपछिका दिनमा अहिले विभिन्न निजी स्तरमा सहयोग कार्य गरिरहेको उल्लेख गरिन् । 

उनले भनिन्, ‘नेपाल र चीन बीचको आर्थिक सहकार्य, द्विपक्षीय सम्बन्ध स्थापना हुनुभन्दा पहिलेदेखि रही आएको हो । विगत लामो समयदेखि चीनले नेपाललाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । चीनले आर्थिक तथा प्राविधिक सहयोगबाट नेपालको भौतिक पूर्वाधारको विकास, स्वास्थ्य, शिक्षा, जलश्रोत र खेलकुदमा सहयोग गरेको छ । सुनकोसी जलविद्युतबाट सरकारी तहमा शुरु भएको सहयोग कार्य निजी क्षेत्रमा निरन्तर बिस्तार भइरहेको छ । दुई देशबीचको व्यापार निरन्तर बिस्तार हुँदै आएको छ । आगामी दिनमा नेपाल चीनबीच अन्तरदेशीय क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माण भई स्वच्छ ऊर्जा व्यापारमा सहकार्य हुने आशा छ ।’

मन्त्री भुसालले चीनले नेपालका सांस्कृतिक सम्पदा पुनर्निर्माणमा सहयोग गरेको उल्लेख गर्दै नेपालको विकासका लागि चीनको सहयोग आवश्यक रहेको बताइन् । उनले चीनले नेपालको औद्योगीकरण र आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग गर्ने विश्वास लिएको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप