कश्यपको कथा : दिव्य आभूषण

person explore access_timeअसार २७, २०७९ chat_bubble_outline0

एकादेशमा एक जना व्यापारी थिए । व्यापारको शिलशिलामा विभिन्न स्थानमा जान्थे, नानाभाँतीका चलाखी गरी ठगी धन्दा चलाउँथे । छलकपट र धुर्त्याइँमा मानौँ विद्यावारिधि नै गरेका थिए । जस्तै मै हुँ भन्नेहरूलाई समेत कुनसट्को ठगीको जालमा फसाइसकेका हुन्थे पत्तै हुँदैनथ्यो । यसैक्रममा एक दिन एउटा देशका राजदरबारमा पुगे । राजा जति सरल थिए त्यति नै धार्मिक प्रकृतिका पनि । उनलाई देख्ने बित्तिकै व्यापारीले ठानिहाले यिनलाई ठग्न आइतवार कुर्नुपदैन । त्यसैले एउटा आभूषण दिँदै भने–


‘लिनुस् महाराज ! सेवकको तर्फबाट सानो उपहार ।’



आभूषण निकै सुन्दर थियो । राजाले यस अघि देखेकै थिएनन् । यस्तो सुन्दर उपहार दिने पक्कै ठूलै मानिस हुनुपर्छ भन्ने ठानी व्यापारीको प्रशंसा गर्दै भने–



‘महाशय ! तपाईँको बोली र व्यवहार जति सुन्दर छ आभूषण पनि त्यस्तै रहेछ । भन्नुस् यस्तो अद्भूत आभूषण कहाँ पाउनुभो । जतिमा खरीद गर्नुभएको छ त्यसको डबल मूल्य पाउनुहुनेछ ।’

‘यो त मेरो सौभाग्य हो ।’ व्यापारीले चलाखीपूर्वक भने–

‘महाराज ! पहिलो कुरा त यही निवेदन गर्छु कि अधिक प्रशंसा गरी लज्जित नगराउनुहोस् । दोस्रो कुरा यसलाई खरीद गरेको नभई आफैँले उत्पादन गरेको हुँ । तेस्रो कुरा कुनै मूल्य लिने उद्देश्यले दिएको होइन । तुच्छ व्यापारीको उपहार ठानेर स्वीकार्नु भए अहोभाग्य ठान्नेछु ।’

व्यापारीको कुरा सुनेर थप खुसी भएका राजाले प्रशन्नता व्यक्त गर्दै भने–

‘ठीकै छ तपाईँको चाहना नै त्यस्तै छ भने भन्नु केही छैन तर यो त बताउनुस् कि यस्तो सुन्दर आभूषण कसरी उत्पादन गर्नुभो ?’

‘अवश्य महाराज !’ व्यापारीले मुख मिठ्याउँदै भने–

‘आफ्नै घरमा स–सानो कारखाना खोलेको छु, जहाँ यस्तैयस्तै आभूषण उत्पादन हुने गर्छन् ।’

‘कारखाना चलाउन अप्ठ्यारो त  छैन नि ?’

‘छैन सरकार ! तर ....।’

‘तर ?’ राजाले बीचैमा रोक्दै भने–

‘भन्नुस् न के सहयोग चाहिन्छ ।’

‘यसैका लागि त चाहिन्न ।’ व्यापारीले अनकनाएजस्तो गर्दै भने–

‘चाँडै नै यस्तो आभूषण बनाउने विचारमा छु, जसलाई अहिलेसम्म देवीदेवता बाहेक अरूले प्रयोग गर्न पाएका छैनन् ।’

‘यो त खुसीको कुरा ।’

‘त्यो त हो तर ठूलै धन राशि आवश्यक पर्ने भएकाले आँट गर्न सकिन ।’

‘कति लाग्छ र ?’

‘सुरू गर्नै दश हजार जति असर्फी चाहिन्छ ।’

‘त्यति रकम दरवारबाट पाउनुहुनेछ । यस निम्ति प्रगति विवरण भने बुझाउँदै जानुपर्ने हुन्छ ।’

‘आभारी छु सरकार ! सहयोगका लागि ।’

यति भनी उनी रकम लिएर गए तर प्रगति विवरण बुझाउन आएननन् । लामो समयसम्म व्यापारी नआएपछि राजा आफैँले गएर हेरे । बल्ल थाहा पाए त्यस्तो केही कामै भएको छैन । केही कालीगढ काम गरेको जस्तो त देखिन्थे तर उत्पादन भने सून्य । त्यसपछि राजाले व्यापारीलाई बोलाउन पठाई हालखबर जान्न चाहे । व्यापारी यस्तै मौकाको प्रतीक्षामा थिए । राजाको अगाडि स्वर्णथाली प्रस्तुत गर्दै भने–

‘लौ हेर्नुस् महराज ! मेरो कारखानाको उत्पादन । ढकनी खोल्नासाथ यस्ता दिव्य आभूषण देख्नुहुन्छ, जसलाई पापीहरूले दर्शनै पाउँदैनन् ।’

राजाले रेशमी बस्त्रको घुम्टो उठाएर हेरे, जहाँ केही पनि थिएन । अब उनलाई फसाद प¥यो । देखिन भनौँ भने उसको नजरमा पापी ठहरिनुपर्ने भयो । देखेँ भनौँ भने केही पनि थिएन । तैपनि धैर्य भने छाडेनन् र कुरा बनाउँदै भने–

‘अहा ! क्या राम्रो आभूषण रहेछ । यस्ता आभूषण त सबैलाई देखाउनुपर्छ ।’

व्यापारीले हस महाराज ! भन्दै दरवारिया सबैलाई देखाए । सबैको अवस्था त्यस्तै भयो । पापी ठहरिनुभन्दा देखेँ भन्नु नै उत्तम ठानी क्या सुन्दर आभूषण भनेर प्रशंसा गरे ।

अव राजालाई आफू ठगिएमा शङ्का थिएन । त्यसैले मन्त्रीलाई बोलाएर सत्यतथ्य पत्ता लगाउने आदेश दिए । मन्त्रीले अनेक प्रयास गर्दा पनि कुनै उपाय नलागेपछि उही चिरपरिचित चतुरे (चतुर्भुज शर्र्मा) समक्ष गएर सहयोग मागे । चतुरेले मन्त्रीको कुरा ध्यानपूर्वक सुनेपछि कानमा खुसुक्क केही भनेर पठाए । 

मन्त्रीको आग्रह अनुसार राजाले भोलिपल्टै राजसभा बोलाई व्यापारीलाई आफ्ना दिव्य आभूषण प्रदर्शन गर्न लगाए । 

राजाज्ञा पाउनासाथ व्यापारीले पहिले जस्तै परिबन्द मिलाउँदै भने–

‘लौ हेर्नुस् मेरा दिव्य आभूषणहरू यसै थालीमा छन् तर याद राख्नुहोला पापीहरूले चाहिँ देख्ने छैनन् ।’

सबैले एकएक गरी हेर्दै गए । देखेँ सुन्दर रहेछ भनेर प्रशंसा गरे । अन्त्यमा मन्त्रीको पालो आयो । उनले पनि देखेजस्तो गर्दैै भने–

‘ओ हो कति सुन्दर आभूषण रहेछ । यस्तो आभूषण लगाएर देखाइदिनु भए अझ सुन्दर हुने थियो ।’

सबैले उनको स्वरमा स्वर मिलाए । त्यसपछि राजाले व्यापारीतर्फ हेर्दै भने–

‘हो, उहाँहरू सही भन्दै हुनुहुन्छ । यस्तो आभूषण लगाएर देखाउनु राम्रो हुन्छ । आशा छ व्यापारी महोमदय आफैँले लगाएर देखाउनुहुनेछ ।’

अब व्यापारी धर्मसङ्कटमा परे । आभूषण लगाएर देखाउँ भने छदै थिएन । नदेखाउँ राजाज्ञाको कुरा थियो । उनले उम्कने निकै प्रयास गरे तर कुनै उपाय सुझेन र आत्मसमर्पण गर्दै आफैँले झुटको पर्दा उघारे ।

त्यसपछि राजाले व्यापारीको सर्वस्व हरण गरी राज्यकोषमा जम्मा गर्न लगाई आजीवन कठोर काराबासको सजाय सुनाए भने चतुरेलाई उचित पुरस्कार दिएर विदा गरे । 

यसरी दुनियाँलाई ठग्छु भन्दा व्यापारीले आफैँ ठगिनुमात्र परेन आजीवन काराबासमा बसी पश्चात्ताप गर्नुपर्ने अवस्था आयो । भनिन्छ, जस्तो करणी त्यस्तै भरणी । व्यापारीलाई पनि त्यस्तै भयो । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।