सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

शिक्षा क्षेत्रको सुधारमा शिक्षकमात्र जिम्मेवार कि अरू पनि ?

सोमबार, २७ असार २०७९, ०९ : २१
सोमबार, २७ असार २०७९

बालबालिका सुहाउँदो शिक्षण गर्नु, त्यसैअनुसार आफूलाई परिष्कृत गर्दै जानु शिक्षकको आवश्यकता र अपरिहार्यता हो । तर शिक्षा शिक्षकले मात्रै दिने होइन । अनुभवी, अग्रज, जान्नेसुन्ने व्यक्तिहरूले अन्य व्यक्ति वा सन्तानहरूलाई अभिभावकहरूले आफ्ना अनुभव प्रदान गर्नु पनि शिक्षण नै हो । यसरी ज्ञान प्रदान गर्दै जाँदा आफ्ना पुर्खाबाट आफ्नो संस्कृति, कला, धर्म, रीतिरिवाज जस्ता विषय पनि क्रमशः नयाँ पुस्तामा सर्दै जान्छ । र, यस्ता विषय जीवन्त रहन्छ । 

विश्व अत्यन्तै रफ्तारका साथ विकसित हुँदै गइरहेको छ । ज्ञानका क्षेत्रहरू पनि बढ्दै गइरहेका छन् । बालबालिकाका आवश्यकता र क्षमता दुवै बढेका छन् । केही समय अगाडिसम्म प्रविधिको विकास नभएका कारण विद्यार्थीका ज्ञानका स्रोत केवल शिक्षक थिए । धेरै कण्ठ गरेका, किताब नहेरी किताबमा भएका विषयवस्तु जान्ने शिक्षक नै अब्बल शिक्षक कहलाउँथे । विद्यार्थीले पनि शिक्षकले जति जानेको छ, त्यत्ति मात्र सिक्न पाउने अवस्था थियो । 

तर, अहिले समय र परिस्थिति दुवै बदलिएको छ । शिक्षकले केवल पाठ्यपुस्तकमा भएका विषयवस्तु जानेर मात्र पुग्दैन । अब्बल शिक्षक तब कहलिन्छ, जब शिक्षकले प्रविधिको प्रयोग गर्न सक्छ । नयाँ नयाँ विधिको प्रयोग गर्न सक्छ । बालबालिकालाई अतिरिक्त विषयवस्तु सम्म पुर्‍याउन सक्छ । आफूलाई सहजकर्ताको रूपमा, साथीको रूपमा कक्षाकोठामा प्रस्तुत गर्न सक्छ । शिक्षण केवल विज्ञान मात्र होइन, यो त कला पनि हो भन्ने बुझेर शिक्षण गर्दछ । यस्तो गुण यत्तिकै आउँदैन, यसका लागि तालिमको आवश्यकता पर्छ, उत्प्रेरणाको आवश्यकता पर्दछ । यो कति शिक्षकले प्रदान गरिरहेका छन् त ?

अहिले सामुदायिक विद्यालयको कुरा गर्ने हो भने केही अपवादबाहेक सुधारको बाटोमा छन् । शिक्षकहरू पहिला भन्दा झन् झन् मिहिनेत गर्दै छन् । केही शिक्षकमा यदाकदा समस्या भएका विषय बजारमा आएका घटनालाई छोड्ने हो भने शिक्षकहरू शैक्षिक गुणस्तर वृद्धि गर्न खटेको नै पाइन्छ तर सबैभन्दा दोष पाउने कोही छ त शिक्षक नै छ । किन ? कतै एउटा शिक्षकको कमजोरी भेटियो भने सोही कमजोरीको दोष सबै शिक्षकलाई किन ? यो अन्याय भएन र ? 

शिक्षक सेवा आयोगको निरन्तर पदपूर्तिले गर्दा पनि नयाँ फ्रेस शिक्षकहरूको सङ्ख्या विद्यालयमा बाक्लिएको छ । यी नयाँ शिक्षकमा अनुभवको केही कमी हुन सक्छ, नभए अब्बल छन् । पुराना शिक्षकहरूको अनुभव र नयाँ शिक्षकको आधुनिक ज्ञानको ‘फ्युजन’ले पक्कै पनि शिक्षक पेसाप्रतिको  हेराइमा सकारात्मकता ल्याएको छ । शिक्षक नयाँ तरिकाले शिक्षण गर्ने, गुणस्तर वृद्धि गर्ने, नयाँ विषयवस्तु तौरतरिका सिक्न उत्सुक छन् । शिक्षकसँग नयाँ नयाँ जिज्ञासा छन्, ती सम्बोधन गर्ने खालका तालिम कसले दिने ?

अर्को पाटोबाट नि हेरौँ, शिक्षा क्षेत्रमा छुट्टिने बजेट निरन्तर खस्किँदो छ । अन्तर्राष्ट्रिय रूपमा तुलना गर्दा लगभग आधामात्र बजेट शिक्षा क्षेत्रमा छुट्टिन्छ । अधिकांश स्थानीय तह बाटो पिच हुनु, भ्यू टावर बन्नु मात्र विकास सम्झिन्छन् । शिक्षामा बजेट वृद्धि गर्ने, शिक्षकलाई तालिमको व्यवस्था गर्ने, अभिभावक शिक्षा प्रदान गर्ने जस्ता विषय प्राथमिकतामा पर्दैन । उल्टो शिक्षकले विद्यालय सुधारेनन् भन्ने आरोप मात्रै छ । 

विश्वविद्यालय पढ्दाको ज्ञानले मात्र शिक्षक अब्बल हुँदैनन् । समय गतिशील छ, नयाँ नयाँ प्रविधिको विकास भएको छ । त्यससँग सुहाउँदो शिक्षा प्रदान गर्न अन्तर्राष्ट्रिय स्तरको तालिम लगायत अन्य सुविधा प्रदान गरी सक्षम शिक्षक बनाउने जिम्मा शिक्षकको कि राज्यको ? कसले सोच्ने यतातर्फ ? केवल दोष शिक्षकलाई मात्र थुपारेर होला र ?

सामान्यतया दस दस वर्षमा हुने पाठ्यक्रम परिमार्जन अन्तर्गत आगामी २०८० सम्ममा नेपालको विद्यालय तहको पाठ्यक्रम परिमार्जन भइसक्छ । परिमार्जित पाठ्यक्रममा भएका विषयवस्तु शिक्षकले थाहा पाउनु पर्ला कि नपर्ला ? उदाहरणका लागि विज्ञान विषयमा सूचना प्रविधिसँग सम्बन्धित विषयवस्तु कक्षा ६ देखि १० सम्म नै राखिएको छ, यो अत्यन्तै आवश्यक छ । तर, अझै पनि कतिपय शिक्षकलाई सामान्य कम्प्युटर समेत ज्ञान छैन । ती शिक्षकलाई सूचना प्रविधि पाठ शिक्षण गर्नु पूर्व तालिम दिएर कक्षाकोठामा पठाउनुपर्छ कसले भन्ने ? पाठ्यक्रममा भएका नयाँ विषयवस्तुबारे प्रवोधीकरण गर्ने जिम्मा कसको हो ? यसमा जिम्मेवारी पुरा नभएका कारण पक्कै पनि शिक्षाको गुणस्तरमा असर त पर्छ, अनि ती सबैको जरो थाहा नपाइ शिक्षकलाई मात्र दोष दिन मिल्ला र ? 

शिक्षकले राजनीति गरे भन्नेहरु नै आफू चुनाव लड्दा वा आफ्नो पार्टीको चुनाव प्रचार गर्दा शिक्षकलाई प्रयोग गर्छन् । शिक्षकले राजनीति गरेर विद्यालय सुधार भएन भनेर चुनावको बेला भन्ने होला कि, फुर्सदको बेला ? शिक्षकका संघ संगठनको कार्यक्रममा गएर सदस्यता विस्तारमा उत्प्रेरित गर्ने अनि फुर्सदमा राजनीति गरे भन्न मिल्ला र ? 

यहाँ मैले शिक्षकले राजनीति गर्न पाउनुपर्छ भन्न खोजेको होइन तर यसको उपचार कसरी गर्न सकिन्छ भन्न खोजेको मात्र हो । कुनै न कुनै रूपमा शिक्षकको सहयोगबाट विभिन्न ओहोदामा पुगेका व्यक्तित्वहरूले शिक्षा ऐन बनाउने कुरामा, कडा नीति नियम बनाउने कुरामा, राम्रोलाई पुरस्कार र खराबलाई दण्डको व्यवस्था सहितका नीति निर्माणमा आवाज उठाउनुपर्ने होइन र ? १८ घण्टा आफूसँग हुने बच्चाको वास्तविकता बुझेर पनि दोष लगाउने अभिभावकहरूले पनि केही सोच्नु पर्ने होइन र ?

देश विकासका विभिन्न पक्षमध्ये पहिलो नै शिक्षा हो । यसको विकासमा सबैभन्दा ठूलो जिम्मेवारी शिक्षकको नै हो, जुन निर्वाह गर्नुपर्दछ । तर सँगसँगै अभिभावक लगायत सबैले आआफ्नो जिम्मेवारी पनि नबिर्सौँ । 

लेखक वाणगंगा मावि गजेहडा, कपिलवस्तुका शिक्षक हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप