शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशमा हालसम्म ४३ प्रतिशत मात्र धान रोपाइँ

सोमबार, २७ असार २०७९, ०८ : ३८
सोमबार, २७ असार २०७९

बागमती प्रदेशका १३ जिल्लामा हालसम्म ४३ प्रतिशत मात्र धान रोपाइँ भएको छ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार प्रदेशका १३ जिल्लामा ५१ हजार ३ सय हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको हो । यो कुल क्षेत्रफलको ४३ प्रतिशत मात्र हुन आउँछ ।

वर्षा र रासायनिक मल अभावका कारण प्रदेशमा पर्याप्त मात्रामा धान रोपाई हुन नसकेको हो । प्रदेशका अधिकांश जिल्ला पहाडी क्षेत्रमा रहेको र पर्याप्त मात्रामा सिँचाइको सुविधा नभएकाले वर्षामा नै निर्भर हुनुपर्ने बाध्यता रहेको छ ।

प्रदेशको १३ जिल्ला मध्ये सबैभन्दा धेरै काठमाडौँमा रोपाई भएको छ भने सबैभन्दा कम कम धादिङमा भएको छ । काठमाडौँमा ८० प्रतिशत भएको छ भने धादिङमा ११ प्रतिशत मात्र रोपाई भएको छ ।

यस्तै रामेछापमा ३५, दोलखामा ५०, ललितपुरमा ७५ र भक्तपुरमा ७० प्रतिशत धान रोपाई भएको मन्त्रालयले जनाएको छ । यसै गरी सिन्धुलीमा ४५, काभ्रेमा ६१, सिन्धुपाल्चोकमा ४०, चितवनमा ४०, नुवाकोटमा ४५ रसुवामा ५५ र मकवानपुरमा २० प्रतिशत क्षेत्रफलमा रोपाई सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता झलकनाथ कँडेलले जानकारी दिए ।

बागमती प्रदेशमा कूल धान उत्पादन हुने क्षेत्र १ लाख २० हजार ५ सय हेक्टर जमिनको ९० प्रतिशतमा धान खेती हुने गरेको उनले बताए । बागमती प्रदेशमा पछिल्लो केही वर्ष यता धान उत्पादन क्रमिक रूपमा घट्दो रहेको छ । कृषि पेसाप्रति किसानको घट्दो आकर्षण र सरकारको अस्पष्ट नीतिले धानको उत्पादन घट्दै गएको देखिन्छ ।

बागमती प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ मा ५ लाख ९ हजार ५ सय ९० मेट्रिक टन धान उत्पादन भएकोमा थियो भने आर्थिक वर्ष २०७६/०७७ मा ५ लाख १० हजार २०० मेट्रिक टन, २०७५/०७६ मा ५ लाख २१ हजार ४ सय ४६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप