शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

के हो एनएसएलको अन्योल ?

सोमबार, २७ असार २०७९, ०६ : ४५
सोमबार, २७ असार २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)का तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पा नेतृत्वको कार्यसमितिले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीलाई नेपाल सुपर लिग (एनएसएल) गर्न अनुमति दियो । शेर्पा नेतृत्वको कार्यसमितिले भदौ २४ गतेदेखि एनएसएल गर्न दिने निर्णय गरेको थियो । तर, असन्तुष्ट क्लबहरू एनएसएल गर्न नदिने पक्षमा थिए । 

नेपाली फुटबलमा नयाँ आयाम ल्याउने भन्दै सुरु भएको नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणमा सुरु हुन नपाउँदै विवादको घेरामा पर्‍यो । खेलाडी अनुबन्धको विषयमा विवाद हुँदा एनएसएलको टाइसिट ड्र पनि स्थगित भयो । 

यता ए डिभिजन लिग क्लबहरू एनएसएल फिफा र एएफसीको नियम विपरीत भएको भन्दै खेलाडी अनुबन्धको विषयलाई छिटो सुल्झाउन दबाब दिइरहेका छन् । त्यसै अनुसार एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले ए डिभिजन लिग क्लबहरूसँग छलफल गरे । त्यसपछि एन्फाको कार्यसमिति एनएसएल र एन्फाबीचको सम्झौता खारेज गर्न प्रस्ताव गरेको छ । 

त्यसै अनुसार अब बस्ने एन्फाको नयाँ कार्यसमिति बैठकले एनएसएल गर्ने/नगर्ने र नयाँ सम्झौता गर्ने नगर्ने विषयमा छलफल गर्नेछ । एन्फा एनएसएलसँग पुरानो सम्झौतालाई रद्द गरेर नयाँ सम्झौता गर्ने योजनामा छ । एन्फाका वरिष्ठ उपाध्यक्ष खड्काले आफूहरूले एनएसएलसँगको सम्झौता रद्द गर्नका लागि सिफारिस गरेको बताएका छन् । उनले अब बस्ने एन्फा कार्यसमितिको बैठकले मात्र नयाँ निर्णय गर्ने बताए । 

‘हामीले एनएसएलसँग एन्फाले गरेको सम्झौता रद्द गर्न सिफारिस गरेका हौँ । एनएसएल नगर्ने विषयमा हामीले कुनै प्रकारको निर्णय गरेका छैनौँ । ए डिभिजन लिग क्लबसँग छलफल गरेर सम्झौता रद्द गर्ने निर्णय भएको हो,’ खड्काले रातोपाटीसँग भने । 

यता नेपाल स्पोर्टस म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले एन्फाले एनएसएलको विषयमा स्पष्ट धारणा बनाइदिन पर्ने बताएका छन् । एन्फाले आफूहरूलाई पनि स्पष्ट तरिकाको समन्वय नगरेको बताए । 

उनले पछिल्लो समय एन्फाले एनएसएलसँगको सम्झौता रद्द गर्न सिफारिस गरेको कुरा पनि आफूहरूलाई हालसम्म जानकारी नभएको बताए । एन्फाले अब छलफलमा बोलाउने तयारी गरेको र त्यसै अनुसार आफू लागि परेको उनले बताए । ‘एन्फालले हामीलाई सम्झौता रद्द गर्ने विषयमा अहिलेसम्म छलफलमा बोलाएको छैन । एनएसएलको विषयमा एन्फाले प्रष्ट धारणा राख्न सकेमा हामीलाई पनि सहज हुन्छ,’ शर्माले भने ।  

यता एन्फाका महासचिव किरण राईले एन्फाले अहिलेसम्म एनएसएलको विषयमा आधिकारिक धारण बनाइनसकेको बताएका छन् । उनले उपाध्यक्ष र ए डिभिजन क्लबबीच छलफल भएपछि एन्फाको कार्यसमिति बैठकमा एनएसएलसँगको सम्झौता रद्द गर्ने विषयमा छलफल हुने बताएका छन् । 

राईले त्यसका लागि एन्फाले पहिले एनएसएलसँग पनि छलफल गर्ने बताए । सबै पक्षको छलफलपछि मात्र कार्यसमिति बैठकमा निर्णय गर्ने उनले बताए । 

‘एनएसएलको सम्झौताको विषयमा वरिष्ठ उपाध्यक्ष ज्युसँग ए डिभिजन लिग क्लबहरूले छलफल गरेका हुन् । त्यो छलफलबाट सम्झौता रद्द गर्न सिफारिस आएको छ । अब एनएसएलको टिमसँग बसेर बाँकी विषयमा छलफल हुनेछ,’ राईले भने । 

यसरी सुरु भएको थियो एनएसएल, ए डिभिजन लिग क्लब र एन्फाको विवाद

एनएसएलले गत फागुन १७ गते दोस्रो संस्करणको अक्सनका लागि २४२ खेलाडीको नाम सार्वजनिक गरेको थियो । विभिन्न तीन क्याटेगोरीमा खेलाडीको नाम सार्वजनिक गर्दा एनएसएलले ए डिभिजन लिगका क्लबहरूसँग छलफल गरेन । 

पहिलो सिजन कोरोना महामारीका कारण ए डिभिजन लिग नहुँदा खेलाडीहरू कुनै क्लबसँग अनुबन्ध थिएनन् । उक्त समयमा अक्सनका लागि खेलाडी सार्वजनिक गर्दा कुनै किसिमको विवाद आएन । 

एनएसएलले यो सिजन पनि क्लबसँग छलफल गर्न जरुरी ठानेन । एनएसएलका लागि खेलाडीको नाम सार्वजनिक भएको दोस्रो दिन ए डिभिजन लिगका क्लबहरूले विरोध जनाए । 

फागुन १९ गते बसेको एन्फाको आकस्मिक बैठकले एनएसएलको अक्सनलाई रोक्ने निर्णय गर्‍यो । एन्फाका तत्कालीन महासचिव इन्द्रमान तुलाधरले सोही निर्णय अनुसार परिपत्र गरे । एनएसएलको अक्सन रोकिएन उल्टै कार्यक्रममा एन्फाकै सदस्य तथा राष्ट्रिय टिमका व्यवस्थापक मधुसूदन उपाध्याय सहभागी भए । 

राष्ट्रिय फुटबलको सर्वोच्च एन्फाको निर्देशनविपरीत अक्सन गरिए पनि एन्फाले कुनै कारबाही नगर्दा क्लबहरू झनै आक्रोशित भए । खेलाडी रिलिज नै नगरेका ए डिभिजनका चार क्लबले पत्रकार सम्मेलन नै गरेर एन्फामाथि प्रश्न तेर्स्याए । 

चर क्लबहरूको एउटै माग थियो, अक्सनमा समावेश गर्न खेलाडीहरूलाई रिलिज गरिनुपर्छ । तर, उक्त माग सम्बोधन हुन सकेन । एनएसएलले चैत ६ गते (आइतबार) का लागि राखेको खेल तालिका सार्वजनिक (टाइसिट ड्र) कार्यक्रम स्थगित गर्न एन्फाले ४ गते पत्र पठायो । 

उक्त पत्रपछि एनएसएलले टाइसिट ड्र कार्यक्रम स्थगित भएको बतायो । टाइसिट ड्र नै नभएको एनएसएललाई एन्फाले पुन भदौ २४ गतेबाट गर्ने मिति दिएको थियो । तर, पुरानो कार्यसमितिले गरेको निर्णयलाई अहिलेको कार्यसमितिले उल्टाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप