१९औं एसियाली खेलकुद प्रतियोगिताका लागि जुडोबाट २१ खेलाडी छनोट (तस्बिरहरु)
१९औं एसियाली खेलकुद प्रतियोगिताको लागि जुडोको दोस्रो चरणको छनोटबाट २१ खेलाडी छनोट भएका छन् । कीर्तिपुरको नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा सम्पन्न दोस्रो चरणको छनोटबाट पुरुषतर्फ ११ जना र महिलातर्फ १० जना खेलाडी गरी २१ जना खेलाडी छनोट भए ।
प्रतियोगिता विभिन्न ६ तौल समूहमा छनोट भएको थियो । पुरुष ७३ केजी तौल समूहमा एपीएफका प्रमोद मन्डल, सन्जित डंगोल र सुदेश डोङ तथा पुरुष ८१ केजी तौलमुनि मधु रोकामगर, जंगबहादुर सारु र योगेन्द्र बिष्ट छनोट भए ।
त्यस्तै छनोट प्रतिायोगितामा पुरुष ६० केजी तौल समूहमा पुलिस क्लबका उमेश मगर, सुबोध मन्डल र प्रवीनकुमार दियाली चुनिए । यसैगरी महिलातर्फ ४८ केजी तौलमुनि पुलिसकी सोनिया भट्ट, निशा श्रेष्ठ र सुनिता मगर तथा ५७ केजी तौलमुनि मनिता श्रेष्ठ प्रधान, आर्मीकी सीमाकुमारी चिडी र एपीएफकी सुनिता थिङ छनोट भए ।
खुल्ला तौल समूहबाट राजन जोशी र प्रनीतजंग सिंह ठकुरी छनोट भए । महिला ७० केजी तौलमुनि बाट आर्मीकी पुनम श्रेष्ठ र पुलिसकी निशा चौधरी तथा ७८ केजी तौलभन्दा कममा आर्मीकी आकृति जोशी र अस्मिता गोले छनोट भए ।