बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश : बजेटमाथि छलफल नगरी पारित गर्ने तयारी

आइतबार, २६ असार २०७९, १९ : ०७
आइतबार, २६ असार २०७९

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटलाई छलफलमा नलगि पारित गर्ने तयारी गरेको छ । सरकारले दलहरूलाई ह्विप लगाई आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पारित गर्ने तयारी गरेको हो ।

बजेटको स्वागत गरेका प्रदेशसभा सदस्यहरु भने प्रदेश सरकारको वार्षिक कार्यक्रम पुस्तिका (रातो किताब)प्रति असन्तुष्ट छन् । बजेटप्रति सत्तापक्षका सांसदहरु नै असन्तुष्ट रहेका छन् । नेकपा एमालेका प्रदेशसभा सदस्य नेपालु चौधरीले सरकारले बजेटलाई छलफलमा नलगि पारित गराउने तयारी गरेको बताए । उनले नेकपा एमालेको संख्या प्रदेश सभामा थोरै भएपनि बजेटलाई पास नहुन दिन कडा विरोध गर्ने बताए ।  

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले आगामी आर्थिक वर्षको बजेटमा सहमति जनाउने निर्णय गरिसकेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा भएको बैठकले बजेटलाई परिष्कृत गरेर लैजाने सरकारको धारणा आएपछि माओवादी केन्द्रका प्रदेश सभा सदस्यहरुले कुनै विरोध नगर्ने सहमति गरेका थिए । एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठक पनि पटक–पटक बसेको छ । लिखित निर्णय नभएपनि बजेटमाथि कसैले विरोध नगर्ने प्रतिक्रिया आएको प्रमुख सचेतक दुर्गा विकले जानकारी दिइन् ।  

नेपाली काँग्रेसको संसदीय दलको बैठक पटक–पटक बसेपनि सरकारले ल्याएको वार्षिक कार्यक्रम पुस्तिकामा विरोध कायम रहेको छ । काँग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खडकाले अहिले सरकारले ल्याएको बजेटमा सहमति नहुने बताए । विचौलियाको प्रभावमा परेर सरकारले मनपरी र हचुवा ढंगले आर्थिक अनुशासन विपरीत योजनाहरु रातो किताबमा राखेको भन्दै प्रदेशसभा सदस्यहरु आक्रोशित छन् । त्यसैले सरकारले असन्तुष्ट सांसदसँग छलफल गरेर संसदमा बजेटमाथिको छलफल अगाडि बढाउने वातावरण नबनाउँदा बैठक अनिश्चित बनेको खड्काले बताए ।  

समाजवादीका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले बजेट संशोधन हुन नसक्ने भन्दै जस्ताको त्यस्तै पास हुने बताए । प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले वार्षिक कार्यक्रम पुस्तिकामा प्राविधिक कमजोरीका कारण अन्य प्रदेशका योजना समेटिएको, केही बुँदाहरुमा अंक गढबढी भएकाले त्यस्ता कुरालाई सच्याएर बजेटलाई पारितका लागि लगिने बताए ।

चौथो पटक स्थगित
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमाथिको छलफलको बैठक चौथो पटक स्थगित भएको छ । आइतबार बसेको कार्यपरामर्श समितिमा सत्तापक्ष, प्रतिपक्ष र सरकारबीच सहमति नजुट्दा बैठक चौथो पटक स्थगित भएको हो । यसअघि ८ गते बोलाइएको बैठक १२ गतेसम्मका लागि स्थगित गरिएको थियो । १२ गते बोलाइएको बैठक बस्न नपाउँदै १६ गतेसम्मका लागि स्थगित भएको थियो । १६ गते पनि बैठक सञ्चालन हुन नसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि भनी बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

प्रदेश सरकारले आइतबार बैठक सञ्चालन गर्ने तयारी गरेपनि बैठक नबस्दै सूचना टाँस गरेर मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको जनाइएको छ । ‘आइतबार दिनको  ३ बजे बैठक बस्ने गरी तोकिएको सभाको दशौं अधिवेशनको १३ औं बैठक विशेष कारणबस स्थगित भई बैठक २७ गते दिनको ११ बजे बस्ने भएको व्यहोरा जानकारी गराइन्छ’ सभामा टाँस गरिएको सूचनामा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप