बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

मौद्रिक नीतिले लिने व्यवस्थाबाट उत्पन्न हुने अवस्था सहन तयार रहनुपर्छ : गभर्नर अधिकारी

आइतबार, २६ असार २०७९, १७ : २५
आइतबार, २६ असार २०७९

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति देशको अर्थतन्त्रलाई सही दिशा दिने लक्ष्यसहित आउने बताएका छन् । आज नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सुझाव कार्यक्रममा सम्बोधन गर्दै अधिकारीले अर्थतन्त्रलाई सही दिशा दिने लक्ष्यसहित मौद्रिक नीति आउने बताएका हुन् ।

उनले भने, ‘अर्थतन्त्रलाई सही दिशा दिने गरी नीतिहरू आउँछन् ।  गभर्नर अधिकारीलाई जे लाग्छ त्यो नीति आउने होइन ।’ त्यसैले मौद्रिक नीतिले लिने व्यवस्थाबाट पर्ने समस्या सहनका लागि सबै पक्ष तयारी अवस्थामा बस्नुपर्ने अधिकारीको भनाइ छ । यसअघि पनि पटक–पटक कसिलो मौद्रिक नीति आउने बताइरहेका गर्भनर अधिकारीले आज थप पुष्टि गरेका हुन् ।

‘मौद्रिक नीतिले लिने नीतिबाट राज्यको कर संकलन लक्ष्य पनि प्रभावित बन्नसक्छ,’  गभर्नर अधिकारीले भने, ‘यसबाट व्यवसायी, उद्योगी र बैंकर पनि प्रभावित हुन सक्छन् । सहन तयार रहनुपर्छ ।’ उनले आन्तरिक र बाह्य कारणले समस्यामा परेको अर्थतन्त्रलाई सही दिशामा ल्याउने समय आएको बताए ।

‘समग्र अर्थतन्त्र र विश्व अर्थतन्त्र कसरी गइरहेको छ र कोभिडको असरलाई कसरी रेस्पोन्स गरिरहेको छ ?,’  उनले थपे, ‘कोभिड महामारीसँगै अरु असर आए । त्यसको फलस्वरूप विश्व अर्थतन्त्रमा तनावको अवस्था हामीले देखिरहेका छौं । त्यसको असर हाम्रोमा पनि परिरहेको छ ।’ यतिबेला देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताउँदै उनले आन्तरिक कारणले तरलताको अभाव झेलिरहेको समेत बताए ।

यतिबेला देशको अर्थतन्त्र आन्तरिक र बाह्य कारणले समस्यामा परेको बताउँदै उनले भने महँगी र मूल्यवृद्धि बाह्य कारणबाट सृजित समस्या भएको उल्लेख गरे । यस्तै, तरलताको अभाव भने आन्तरिक कारणबाट उत्पन्न भएको समस्या रहेको समेत उनले बताए । सोहीकारण अर्थतन्त्रको प्रणालीलाई ठिक ठाउँमा राख्नुपर्ने उनको भनाइ छ । 

‘अर्थतन्त्र स्टेबल भएमा मात्रै हामी सबै ठाउँमा अटाउँछौँ र काम गर्न पाउँछौँ,’ उनले भने, ‘अस्थिरता भयो भने त्यसभित्र काम गर्दा नयाँ खालका समस्या सृजना हुन सक्छन् ।’ नीति बनाइरहँदा समग्र अर्थतन्त्र स्थिर बनाउन र समस्यामा पर्नबाट जोगाउने सक्ने विषयलाई समेट्नुपर्ने अधिकारीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप