शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कोइराला समूहको बैठक : सरकारको काम कारवाहीबारे गम्भीर समीक्षा गर्नुपर्ने निष्कर्ष

आइतबार, २६ असार २०७९, १७ : १०
आइतबार, २६ असार २०७९

सत्तारुढ नेपाली काँग्रेसको शेखर कोइराला पक्षले भोलि (सोमबार) बाट सुरु हुने पार्टी केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भिर समीक्षा गर्ने एजेन्डा तय गरेको छ ।  आइतबार काठमाडौंको विशालनगरमा बसेको नेता कोइराला पक्षको बैठकले भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको सरकारको काम कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो । पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले सरकारको काम कारबाहीबारे गम्भिर समिक्षा केन्द्रीय समिति बैठक गर्ने विषयमा छलफल गरिएको नेता चन्द्र भण्डारीले जानकारी दिए । कोइराला पक्षले सरकारले ल्याएको बजेटबारे पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ ।

त्यसैगरी पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई विधिवत रुपमा अघि बढाउन नसकेको भन्दै कोइराला पक्षको आक्रोश छ । स्थानीय तह निर्वाचनको समेत समिक्षा गरी आगामी प्रदेश सभा र संघीय संसदको निर्वाचनमा पार्टीलाई अझ फाईदा हुने गरी गठबन्धनलाई वृहत  बनाउने विषयमा पनि छलफल हुने नेता भण्डारीले बताए ।

उनले भने, ‘भोलिदेखि केन्द्रिय समिति बैठक हुँदैछ । त्यो बैठकमा समिक्षा, चाहे स्थानीय तह निर्वाचनको होस् वा सरकारको समिक्षा होस् । यसले ल्याएको बजेटले पारेको असरको बारेमा होस् । पार्टीलाई विधिवत तरिकाले चलाउने कुराहरुमा पनि केन्द्रीय समिति बैठकमा छलफल गर्ने, काँग्रेसलाई कसरी मजबुत बनाउने, आगामी चुनावमा काँग्रेस कसरी जाने ? र, गठबन्धनका बारेमा पनि अझ बृहत्तर रुपमा पार्टीलाई फाइदा पुग्ने तरिकाले छलफल गर्ने भन्ने विषयमा कुरा भयो । पार्टीको भातृ संस्थाहरूदेखि विभागसम्मको गठनको कामलाई समयमै गर्नुपर्छ भन्ने विषयमा पनि छलफल हुन्छ ।’

बैठकमा कोइराला पक्षले पार्टीको भातृ संस्थाहरु सबैको पुनर्गठन गर्न र विभागहरूलाई समयमै पूर्णता दिन पनि पार्टी सभापति देउवालाई दवाव दिने निर्णय गरेको छ । पार्टीको भातृ संस्था र विभागहरूलाई विधिवत रुपमा अघि बढाउन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराउने विषयमा पनि आफूहरूबीच छलफल भएको नेता भण्डारीले बताए ।

बैठकका पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता डा.रामशरण महत लगायतको सहभागिता रहेको थियो । नेपाली काँग्रेसको संस्थापन पक्षले पार्टीलाई एकलौटी रुपमा अघि बढाएको नेता कोइराला पक्षको आरोप छ । पार्टीको विधान अनुसार विभागहरु समेत गठन गर्न नसकेको भन्दै सो पक्षले सभापति देउवाको सार्वजनिक रुपमै आलोचना गर्दै आएको छ । नेपाली काँग्रेस केन्द्रिय समितिको बैठक भोली दिउँसो १ बजे बस्ने गरी पार्टी केन्द्रिय कार्यालय सानेपामा बोलाइएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप