मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमण : राजनीतिक कि रणनीतिक ?

विश्लेषक र कुटनीतिज्ञका फरक फरक बुझाइ
आइतबार, २६ असार २०७९, १६ : ०४
आइतबार, २६ असार २०७९

साताअघि चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालका प्रमुख राजनीतिक दलका नेताहरुसँग भर्चुअल सम्वाद गरे । उनको संवाद नेपाल भ्रमणको तयारीस्वरुप थियो ।  उनै जियानचाओ आइतबार चार दिने भ्रमणका सिलसिलामा आइतबार नेपाल आइपुगेका छन् । 

चिनियाँ उच्च अधिकारीको यो भम्रणलाई राजीतिकरुपमा अर्थपूर्ण रुपमा हेरिएको छ । यद्यपि विश्लेषक र कूटनीतिज्ञले भ्रमणलाई फरक फरक दृष्टिले हेरेका छन् । नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्रीदेखि प्रमुख दलका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ । 

नेताहरुसँगको भेटवार्ताका क्रममा लिउले नेपालको पछिल्लो राजनीतिक अवस्था, दुई देशबीचको सम्बन्ध, नेपालमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनको अवस्था र अमेरिकासँग भएको मिलेनियम च्यालेन्च कर्पोरेशन (एमसीसी) कार्यान्वयनका सवालमा चासो राख्ने बुझिएको छ ।

कूटनीतिक क्षेत्रका जानकारहरुका अनुसार नेपालले प्रतिनिधि सभाबाट एमसीसी व्याख्यात्मक घोषणा गरेसँगै बीआरआई परियोजनालाई लिएर चीन चिन्तित छ । नेपालले बीआरआई परियोजना अगाडि बढाउने प्रतिवद्धता जनाएपनि व्यवहारमा अघि बढाउन सकेको छैन ।

भारत र अमेरिकाकै बाटोमा चीनः बराल

कतिपयले नेपालमा बीआरआई परियोजना लागू हुन नदिन एमसीसी भित्र्याएको विश्लेषण गरिरहेका बेला चिनियाँ पक्षको नेपालप्रति बढेको चासोले नेपाल शक्ति राष्ट्रको खेल मैदान हुन सक्नेतर्फ सचेत हुनुपर्ने बताएका छन् ।

राजनीतिक विश्लेषक प्राडा. लोकराज बराल चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेता नेपाल भ्रमणमा आउनु र सम्बन्ध विस्तार गर्न खोज्नुलाई स्वभाविक रुपमा लिनुपर्ने बताउँछन् । साथै उनी नेपालका पार्टीहरूको झगडा मिलाउने र अरु देशसँगको नेपाल सम्बन्धका सवालमा अनावश्यक चासो देखाउन नहुनेतर्फ स्वयम् नेपाल पक्ष सजग हुनुपर्ने बताउँछन् ।

‘पहिला पनि नेपालका कम्युनिस्ट पार्टीहरूबीच एकता गराउन र विभाजनका बेला रोक्न पनि चीनले प्रयास गरेको हो, अहिले पनि उसको उदेश्य त्यो भन्दा फरक नहोला भन्न सकिन्न’, बराल भन्छन्, ‘यसले भारत र अमेरिकाजस्तै नेपालको आन्तरिक राजनीतिमा चीन पनि सामेल भएको त होइन भनेर प्रश्न गर्न सकिन्छ । यदि त्यो हो भने शोभनीय मानिँदैन ।’ उनले विदेशी शक्ति राष्ट्रहरुले त्यसरी आन्तरिक मामिलामा चासो देखाउँदै जाने हो भने नेपाल अन्तराष्ट्रिय राजनीतिको खेलमैदान बन्न सक्नेतर्फ नेपाल र नेपाली जनता सजग हुनुपर्ने बताए ।

‘हुन त हामीले नै उनीहरुलाई मौका दिएका हौ, उनीहरुलाई दोष दिनुभन्दा पनि हामी आफै सजग हुनुपर्छ’, बरालको भनाइ छ ।

आन्तरिक मामिलामा हस्तक्षेप हो कि होइन?: विजयकान्त कर्ण

त्यस्तै बेल्जियमका लागि नेपालका पूर्व राजदूत विजयकान्त कर्णले राजनीतिक एजेण्डा बोकेर उनी नेपाल आएको तर्क गरे । नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकता वा मोर्चा बनाउने एजेण्डा लिएर उनी नेपाल आएको कर्णको तर्क छ । उनले तीन पार्टी एकता गर्न चिनियाँ नेता नेपाल आएको भन्ने कुरामा कुनैपनि नेताले खण्डन नगरेकोमा आपत्ति समेत जनाए ।

कर्णले आइतबार सामाजिक सञ्जाल फेसबुकमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेता भीम रावल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसहित सवै कम्युनिस्ट पार्टीका नेताहरुलाई मेन्सन गर्दै चारवटा प्रश्न गरेका छन्–
१.यो नेपालको आन्तरिक मामलामा हस्तक्षेप हो कि होइन ?
२. यसले कम्युनिष्ट पार्टीहरू चीनबाट सञ्चालित भएको हो कि होइन?
३. यदि यस्तै एजेन्डा लिएर भारत र अमेरिका वा अन्य कुनै देशको नेता वा मन्त्री आयो भने तपाईँहरू सडकमा जुलुस प्रदर्शन र संसदमा उत्पात गर्नु हुन्थ्यौ कि नाई ?
४. यसले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप हो कि होइन ?

श्रेष्ठको प्रश्न : चिनियाँ आउँदा मात्रै हस्तक्षेप हुन्छ ?
तर रुसका लागि नेपालका पूर्व राजदूत हिरण्यलाल श्रेष्ठ अमेरिकी र भारतीय नेताहरु लगातार नेपाल आउँदा हस्तक्षेप नठान्नेहरुले चिनियाँ नेता आउँदा हस्तक्षेप ठान्ने गरेको बताउँछन् ।
‘अमेरिकी र भारतीयहरु एकपछि अर्को आउँदा हस्तक्षेप नहुने ? चाइनिज आएपछि मात्रै हस्तक्षेप हुन्छ र ?’, पूर्वराजदूत श्रेष्ठको प्रश्न छ ।

उनले एउटा आएपछि अर्को आउने क्रम भइरहने पनि बताए । ‘एउटा आएपछि अर्को आउँछ, अर्को आएपछि अर्को आउँछ, त्यसैले सबैसँग सम्बन्ध बढाउने तर कसैको पक्षमा नलाग्ने’, श्रेष्ठले रातोपाटीसँग भने, ‘दुई पक्षीय सम्बन्ध विकास गर्ने, बहुपक्षीय गठबन्धनमा नजाने हाम्रो नीति यो हुनुपर्छ ।’

उनले यस्तो सीमा रेखाभित्र नेपाल र नेपालका नेताहरु बसे भने जुनसुकै देशका जोसुकै आएपनि केही प्रभाव पार्न नसक्ने दावी गरे ।

उनले नेपालको छिमेकीकाविरुद्ध कुनै देशपनि आउन नपाउने भन्दै त्यसमा हामी आफै सतर्क हुनुपर्ने पनि बताए । ‘हाम्रो छिमेकीकाविरुद्ध हामीलाई प्रयोग गर्न कोही नआओस्, हामी चीन विरोधी गतिविधि पनि गर्न दिन्नौँ, भारतविरोधी गतिविधि पनि गर्न दिन्नौँ’, श्रेष्ठले यसो गर्न नेपालको भूराजनीतिले नदिने बताए । उनले असल छिमेकीको रुपमा कुनैपनि देशका प्रतिनिधि मित्रता बढाउन, व्यापार बढाउन आउन पाउने भएपनि कुनै एक देशका विरुद्ध नेपालबाट अर्को देशले गतिविधि गर्न पाउने छुट नभएको बताए ।

उनले नेपालका कम्युनिस्टहरूलाई एकता गराउन चीनले चासो देखाएको हो ? भन्ने प्रश्नमा फुटाउनेहरु आएपछि मिलाउनेहरू आउनु अनौठो नभएको प्रतिक्रिया दिए । ‘फुटाउनेहरू आएपछि मिलाउन पनि आउने रहेछ भनेर बुझ्नु पर्छ’, श्रेष्ठको टिप्पणी छ । उनले चिनियाँ कम्युनिस्ट पार्टीलाई मात्र दोष दिन नमिल्ने भन्दै यो विषय नेपाल र नेपालका राजनीतिक पार्टीको आन्तरिक भएकाले आफैले बुझ्नुपर्ने बताए ।

नेपाल आएसँगै उच्चस्तरीय भेटवार्तामा जुटेका लिउले पहिलो राजनीतिक भेटवार्ता परराष्ट्रमन्त्री डा. नारायण खड्काबाट सुरु गरेर बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेर बिट मार्दैछन् । 

लिउले आइतबार प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग तथा सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रचण्ड, नेपाल र खनालपछि उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मंगलबार भेटवार्ता गर्नेछन् । ‘मंगलबार १० बजे अध्यक्षसँग भेटवार्ताका लागि समय तय भएको छ’, एमाले विदेश विभाग प्रमुख समेत रहेका राजन भट्टराईले भने, ‘चिनियाँ टोलीले अध्यक्ष निवास बालकोटमै भेटवार्ता गर्ने छ ।’

भ्रमणको अन्तिम दिन बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेर लिउ सोही दिन स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप