सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

फुटपाथको व्यापार रोक्ने कि व्यवस्थित बनाउने ?

आइतबार, २६ असार २०७९, १४ : ५३
आइतबार, २६ असार २०७९

हालै काठमाडौं महानगरपालिकाका नगर प्रहरीले सडक छेउमा ठेला गाडामा मकै पोलेर बेचिरहेका एक दम्पत्तिको मकैसहित ठेला गाडा खोस्यो । विगतमा समेत विभिन्न ठाउँमा सडक व्यापारीको सामान जपथ गरेको, सडक भरी यत्रतत्र फालिदिएका थुप्रै घटना भएका छन् । तर मकै पोलेर बेच्ने दम्पत्तिको समाचार भिडियोसहित आएकाले निकै भाइरल भयो । 

त्यसो त विभिन्न स्थानीय तहको प्रचलित कानुन हेर्दा फुटपाथमा व्यापार गर्नु र गराउनु दुबै कानुन विपरीत नै देखिन्छ । तर न्यून आय भएका परिवारले, कम लगानीमै कर नतिरी या त न्यून कर तिरी, बिना सटर, कम लगानीमै व्यापार गरी आफ्नो गुजारा चलाउन सक्छन् ।

प्रायः विकासोन्मुख राष्ट्र, दक्षिण एसियाली राष्ट्रलगायत सबैजसो राष्ट्रका विभिन्न सहरमा सडक व्यापार हुन्छ । हेर्दा यस्तो व्यापार गर्न पाउनु निम्न आय भएका परिवारका लागि अत्यन्त आवश्यक कुरा हो । र, गरि खाने सबै वर्गका व्यक्तिले पाउनुपर्ने मौलिक अधिकार पनि हो । तर मानिसको आवत जावतका निम्ति बनाइएका फुटपाथमा व्यापार गर्दा पैदल यात्रीलाई हिँड्न समेत बाधा पुगेको देखिन्छ । यसले ट्राफिक व्यवस्थापनमा समेत बाधा पुगेको र सडक दुर्घटना समेत बढेको हामीले स्पष्ट देख्ने र सुन्ने गरेका छौँ ।

कानुनको कार्यान्वयन गर्न धेरै समय पहिलेदेखि नै सडक व्यवस्थापन गर्नका निम्ति फुटपाथ बिक्रेतालाई भनिएको र बारम्बार भन्दा पनि प्राथमिकता नदिएको हुनाले महानगर प्रहरीले बल प्रयोग गरेर नियन्त्रण गर्न बाध्य हुनु परेको कुरा बताउँछन् ।

  त्यस्तै सडक विस्तारको नाममा वर्षौदेखि कतिका घर, खेतबारी आदि भत्काइयो । बल प्रयोग गरेर गरिब जनताको घरबास नै खोसिदिने तर सरकारले उनीहरूलाई उपलब्ध गराउनु पर्ने मुआब्जा उपलब्ध  नगराउने जस्ता कार्य पनि भैरहेका छन् । बिस्तार गरिएको सडकको मुआब्जा पनि नपाउने, त्यही फुटपाथमा अरुले व्यापार गर्ने भएपछि स्थानीयको विरोध हुनु पनि स्वभाविक हो । 

हो, सबैको हितका निम्ति सडक चाहिन्छ । र, समयसँगै बाटो फराकिलो बनाउनु पर्छ । तर सडक बिस्तारको निहुँमा कसैको घरबास नै समाप्त हुने गरी कुनै कार्य गर्नु गराउनु पनि हुँदैन । यदि गर्नै परे पहिले जनतालाई गाँस, बासको व्यवस्था गरिदिएपछि मात्र निर्माण कार्य अगाडि बढाइनुपर्छ । 

ठूल्ठूला होटल, हस्पिटल, सिनेमा हल निजी व्यक्तिको लगानी भएको ठाउँमा फुटपाथ ओगटेर आफ्नो कार्य अगाडि बढाउँदा बेवास्ता गर्छ महानगर । तर बिहानदेखि साँझसम्म टन्टलापर घाम, पानी, आँधी हुरी सहेर आफ्नो दैनिकी गुजारा गर्ने सोझा, गरिब दुःखी जनतामाथि समय समयमा आफ्नो शक्ति प्रदर्शन गर्छ । यहाँ ठूलालाई जे गरे पनि छुट र सोझालाई इमानदारीताका साथ काम गर्दा पनि कुट (कुटपिट गर्ने) भएको छ ।
 वास्तवमा फुटपाथ अव्यवस्थित हुनुका कारण धेरै छ । जसमा अव्यवस्थित सवारी पार्किङ, यत्रतत्र निर्माण सामग्री थुपारिनु, सटरदेखि लिएर पेटीसम्म व्यापारीले सामान राख्नु, सडक भत्काउने र यसै छोड्ने सरकारी अड्डाको चलिआएको प्रवृत्ति लगायत हो ।

के हो त समाधान ?
सडक व्यवस्थापनमा अन्य समस्याको समाधान पहिले गरेर मात्र फुटपाथका व्यापारको व्यवस्थापन तिर लाग्न जरुरी छ । सरकारले आफ्ना अन्य त्रुटि नसच्याउने तर फुटपाथ ब्यापारीको गुजारा नै समाप्त गराउने कुरालाई महत्व दिने गलत प्रवृतिको अन्त्य गर्नु पर्दछ । फुटपाथ व्यापार गर्नेलाई अन्य स्थान उपलब्ध गराएर व्यवस्थापन र बजार दिने कामलाई मुख्य प्राथमिकता दिनु पर्छ ।

थाइल्याण्ड जस्ता मुलुकमा कार्यालय समयपछि निश्चित समय छुट्याएर सडक विक्रेतालाई व्यापार गर्न पाउने व्यवस्था छ र यस्ता व्यवसायलाई करको दायरामा समेत ल्याइएको छ । करको दायरामै नल्याए पनि ललितपुर उपमहानगरपालिकाले पनि यसको सिको गरे जस्तो लाग्छ । त्यस्तै हामीले पनि सडक व्यापारीहरुसँग समन्वय गरेर थोरै कर उठाएर भए पनि कुनै स्थान भाडा लिएर पनि टिकाउ व्यवस्थापन गरेर अगाडि बढ्न सके मात्र समस्याको समाधान हुनेछ । साथै, गरिबले समेत सकेको लगानी गरेर आफै गरेर खाने वातावरण सिर्जना हुनेछ । व्यवस्थापन यस्तो गरौं, आफू पनि बाँचौ, अरूलाई पनि खुसीले बाँच्न दिऊँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप