तीन महिनासम्म सडकमै बास, अनि यसरी जन्मियो ‘मामाघर’
‘मामाघर नेपाल’ मकवानपुरमा सडक बालकहरुको व्यवस्थापनमा सक्रिय रुपमा काम गरिरहको संस्था हो । स्थानीय २–४ जना युवाको सक्रियतामा सुरु भएको ‘मामाघर’ २०६८ कात्तिक २७ गतेबाट हेटौंडा–४, जीएस चोकमा ५ कोठाको घर भाडामा लिएर प्रारम्भ गरिएको थियो ।
मुख्यतः हेटौंडाको चुनौतीको रुपमा रहेको सडक बालक व्यवस्थापनमा यो संस्थाले महत्वपूर्ण काम गरेको छ । विधिवत् रुपमा २०७० सालमा दर्ता भएर सञ्चालनमा आएको सो संस्थाले हालसम्म सयौं सडक बालकलाई परिवारमा पुनःस्थापना गर्ने काम गरिसकेको छ भने अनाथ बालकहरुको उज्ज्वल भविष्य निर्माणको काम गरिसकेको छ ।
२०६८ कात्तिक २७ गते पहिलो दिन एक जना ‘भान्जा’ अर्थात् सडक बालकलाई आश्रय दिएर मामाघर नेपालको सुरुवात गरिएको थियो । स्थापनाको दोस्रो दिन भने सो संस्थामा १४ जना ‘भान्जा’ आइपुगे । उनीहरुलाई हेटौंडाका विभिन्न स्थानबाट खोजी गर्दै आश्रय दिने काम सुरु गरिएको थियो ।
संस्था सुरु गरेको एक वर्षमा सडक बालबालिकाको संख्या बढ्दै गएपछि भाडाको घर साँघुरो हुन पुग्यो । त्यसपछि मामाघर हेटौंडा–४ कान्तिलोक पथमा १५ कोठा भएको सिङ्गै घर भाडामा लिएर सञ्चालन गरियो । मामाघर नेपालले हालसम्म २०१ जनाभन्दा बढी सडक बालकको उद्धार गरिसकेको छ भने १४० जनाको पारिवारिक पुनर्मिलन गराइसकेको छ । हाल मामाघर नेपालमा २३ जना ‘भान्जा’ आश्रित छन् । जसमध्ये ४ जना उच्च शिक्षा अध्ययनको क्रममा छन् । अन्य भने विद्यालयमा अध्ययनरत छन् ।
मामाघर नेपालमा आश्रित ३० जना बालकले उमेर पूरागरी घरजमसमेत गरिसके । केही व्यवसाय गरेर बसेका छन् । मामाघर नेपालका ‘भान्जा’हरुमध्ये ३ जना हक्कीका राष्ट्रिय खेलाडी छन् ।
सबैका ‘मामा’ अर्पण पराजुलीको कथा
मामाघर नेपालका संस्थापक तथा अभिभावकत्व यस्तै दयनीय अवस्थाबीच हेटौंडाका अर्पण पराजुली ‘मामा’ले लिएका छन् । उनकै सोच अनुसार सुरु भएको संस्था हो मामाघर नेपाल । मकवानपुरको बकैया गाउँपालिका–४ जुरेलीका स्थायी बासिन्दा पराजुली हेटौंडामा ‘मामा’ उपनामले परिचित छन् ।
उनी सडक बालकको मात्र होइन, हेटौंडामा चिन्नेजान्ने सबैले उनलाई ‘मामा’ भन्ने गर्छन् । गाउँबाट अध्ययन गर्न सहर झरेका पराजुली अध्ययनसँगै अध्ययापन कर्ममा पनि सक्रिय छन् । अध्ययनकै क्रममा मास्टर्स डिग्री सकेर उनी पीएचडीको तयारीमा थिए । उनी पीएचडीका लागि काठमाडौं जाने सोच बनाएर झोलामा भिरेर हेटौंडा बसपार्कमा पुगे ।
बसपार्कमा बसको पखाईमा बसेका पराजुलीको नजिकै ठेलामा बेच्दै गरेको मःमः, त्यहाँ खानेहरूको भिड र सँगै सडक बालकहरूको हर्कतमा उनको ध्यान पुग्यो । उनी अरुले आएर फालेको टपरी चाट्दै गरेका बालकहरुको क्रियाकलाप नियाल्दै थिए । सडक बालकमध्ये कोही बटुवाहरुलाई मःमः किनिदिन भनिरहेका थिए, कोही चुरोट तान्दै अपशब्द बोल्दै थिए । कोही दुधका प्याकेटमा डेन्टड्राइन्ट (सुपर ग्लु) हालेर सुँघ्दै थिए । केही सडक बालक डस्टबिनमा फालिएका हड्डीका टुक्रा चुस्दै थिए । काठमाडौं हिँडेका उनी राति अबेरसम्म त्यही दृश्य हेरर फर्किए ।
उनी रातभर निदाउन सकेनन् । उनको बिहानीको प्रतीक्षामै उनको रात बित्यो । बिहान सबेरै उनी बसपार्क पुगे, जहाँ सडक बालकहरु बसेका थिए । उनले सडक पेटीमा रात बिताइरहेका बालकहरुलाई बोलाए तर, कोही आएनन् । उनले बोलाउँदा सडक बालकहरु उनलाई अनौठो प्रकारले हेर्थे ।
उनले मःमः खान आउन अनुरोध गरे । तर, मःमः खान पनि कोही नआएपछि पराजुलीले एक प्लेट मःमः लिएर बाँड्न थाले । त्यपछि भने उनको आसपास सडक बालकहरुले घेरा हाले । उनले थप मःमः मगाएर बालकलाई दिए । भोलि पनि मःमः खुवाउन आउने भनेर उनी घर फर्के ।
उनले केही दिन लगातार सडक बालकहरुलाई मःमः खुवाउन गए । जसले गर्दा सडक बालकहरु उनीसँग नजिकिन पुगे । सडक बालकहरु उनी आउने आशा गर्दै बाटो कुर्न थाले । उनको दिनचर्या मःमः खुवाउनमै सीमित भएको थियो । कोहीसँग गफ हुन पाएको थिएन ।
एकदिन उनले गफ गर्ने निधो गरेर सबै बालकलाई बसपार्क नजिकैको पार्कमा लगेर गोलो घेरा बनाउन लगाएर आफ्नो परिचय दिए । उनले आफू मःमः खुवाउन आएकोसम्म भन्न भ्याए । सडक बालकमध्येका एक प्रशान्त ढकालले उनलाई ‘मामा’ भने । त्यसपछि अन्य सडक बालक हाँस्न थाले ।
सडक बालकहरुको नाइके थिए ढकाल । उनकै कारण अरुले पनि पराजुलीलाई ‘मामा’ भन्न थाले । यसरी पराजुली सबै सडक बालकको मामा बने ।
सडक बालकका ‘ग्याङ’ र डन शैली
कुनै समय हेटौंडामा हुने गरेको अपराध कर्ममा सबैभन्दा बढी सडक बालकको संलग्नता हुने गर्थ्यो । २०७० सालभन्दा अगाडि जिल्ला प्रहरी कार्यालय मकवानपुरको अपराध कर्मको सूचीमा सडक बालकहरुकै नाम उच्च स्थानमा थियो ।
साँझबिहान हेटौंडाका चोक र गल्लीहरुमा हिँड्न असुरक्षितजस्तै थियो । एकाध मान्छेबाहेक कोही रातिको समयमा हेटौंडाको सडकमा निस्किँदैन थिए । तत्कालीन समयमा हेटौंडामा सडक बालककै आक्रमणबाट केही व्यक्तिले ज्यानसमेत गुमाउनु परेको थियो ।
२०६७ सालतिरको कुरा हो, केही सडक बालबालिकाले पैसा लुटनका लागि एक व्यक्तिलाई ढुंगाले किचेर हत्या गरे । त्यसपछि सडक बालकको व्यवस्थापन हेटौंडाको एउटा समस्या नै बनेको थियो । मुख्यतः हेटौंडामा सडक बालकका ३ वटा ‘ग्याङ’ सक्रिय थियो । हेटौंडामा सडक बालकहरुको कोब्रा, भ्यान्टे र बिच्छु ‘ग्याङ’ सक्रिय थियो । हरेक वर्ष ३ वटा ग्याङका सदस्यबीच हुने फाइटबाट डन चयन हुने गथ्र्यो । ‘ग्याङ’ को नियम अनुसार ३ वटामध्ये जसले धेरै मान्छे पिट्न सक्यो, त्यसले त्यो वर्ष हेटौंडाको सडक बालकहरुको नेतृत्व गर्न पाउँथ्यो ।
डनले निर्धारण गरेको सीमा क्षेत्रभित्र ती ‘ग्याङ’ रहनुपर्ने नियम बनाइएको थियो । एउटाले अर्को ग्याङको क्षेत्रमा माग्न, चोर्न, कवाडी टिप्न वा केही गर्न पाउँदैनथ्यो । २०६९÷०७० सालतिर हेटौंडामा बिच्छु ग्याङबाट डन छानिएका थिए ।
बिच्छुको भागमा स्कूल रोड क्षेत्र, भ्यान्टे ग्याङको भागमा बसपार्क क्षेत्र, कोब्रा ग्याङलाई पल्पसा हल क्षेत्र सीमाङ्कन गरिएको थियो । जाडो महिनामा चाहिँ सुत्नलाई एकै ठाउँमा भेला हुने गर्थे । जहाँ ‘मामा’ पराजुलीले उनीहरुसँग भेट्ने अवसर पाएका थिए ।
सडक बालककै विषयमा पीएचडी, ३ महिना सडकमै बास
सडक बालकहरुसँग सम्बन्ध बनाएका पराजुलीलाई सबैले ‘मामा’ भनेर सम्बोधन गर्थे । उनी सडक बालकहरुका माझ आत्मीय बनिसकेका थिए । सडक बालकहरुप्रतिको आत्मीयताले उनलाई केही गर्ने प्रेरणा प्राप्त भएको थियो । उनले आफ्नो पीएचडी सोही विषयमा गर्ने निर्णय गरे । उनले आफ्नो पीएचडीका लागि केही सन्दर्भ सामग्री तयार पारे ।
सडक बालकसँग घुलमिल भइसकेका उनी सो विषयमा अध्ययन गर्न सडकमा जान तयार भए । त्यसका लागि तत्कालीन हेटौंडा नगरपालिकाको कार्यालयसँग उनले मौखिक अनुमति माग गरे । त्यसपछि उनले जिल्ला प्रशासन कार्यालय मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुर र महिला तथा बालबालिका कार्यालय मकवानपुरमा सम्पर्क गरे ।
उनी पुरानो कपडा लगाएर प्रश्न पत्र र थोरै पैसा बोकेर हेटौंडाको सडकमा पुगे । उनी ३ महिना सडक बालक बनेर बसे । ५२ दिन हेटौंडाको सडकपेटी र अरु दिन देशका विभिन्न ठाउँमा सडक बालकसँग बिताएका उनले यस क्रममा सडक बालकहरुलाई रमाइलो वातावरण तयार गर्न विभिन्न खेल खेलाए, कथा सुनाए, गीत गाए, गाउन लगाए ।
उनले सडक बालकसँग जुम्रा गन्ने प्रतियोगितासमेत गरे । सो प्रतियोगिता सबैभन्दा रोचक थियो । सबैले कपडा बिछ्याएर एक मिनेटसम्म कपाल हल्लाउनुपर्ने र जसको बढी जुम्रा झर्छ, उही विजेता हुने सो प्रतियोगिताको नियम थियो । सो प्रतियोगितामा एक जनाले ९६ वटा जुम्रा झारेर विजेता बने ।
अनि जन्मियो मामाघर नेपाल
३ महिना सडकमा बिताएर उनी पुनः आफ्नो वास्तविक जीवनशैलीमा फर्किए । उनले सडक बालकहरुका बारेमा अध्ययन गरेको विषयलाई थप अध्ययन गरेर २३ पेजको रिपोर्ट तयार गरे । उनले सडक बालकहरुको अवस्था, उनीहरुको बाध्यता, समाजको चुनौती लगायतका विषय समेटेर तयार गरेको रिपोर्ट हेटौंडा नगरपलिकालाई बुझाए । उनले तत्कालीन हेटौंडा नगरपालिकाका प्रशासकीय प्रमुख टेकनाथ निरौला, मकवानपुरका तत्कालीन सीडीओ दिनेश भट्टराई र जिल्ला प्रहरी कार्यालय, महिला विकास कार्यालयमा सो रिपोर्ट पेस गरे ।
उनले ‘मकवानपुरमा सडक बालबालिकाको वास्तविक अवस्था’ रिसर्च रिपोर्ट विभिन्न सरकारी, गैरसरकारी संस्था लगायतलाई राखेर प्रस्तुतीकरण गरे । उनको प्रस्तुतीकरणपछि नगरपालिकाले सडक बालकहरुको व्यवस्थापनमा लाग्न आग्रह ग¥यो । उनलाई सडक बालकको व्यवस्थापनमा नगरपालिकाले थोरै रकम दिने भयो । प्रशासन कार्यालयबाट पनि सहयोगको बचन आयो र ‘मामाघर’ परियोजना सुरु भयो ।
नगरपालिका र प्रशासन कार्यालयकै प्रस्तावमा परियोजनाको नाम मामाघर राखिएको थियो ।
आफ्नै भवनमा बस्छन् ‘भान्जा’हरु
मामाघर नेपाल अहिले हेटौंडा–११ डाङ्डुङेमा आफ्नै भवन निर्माण गरेर सञ्चालन भइरहेको छ । सोही भवनमा सडक बालकहरु आश्रित छन् । मामाघर नेपालको भवन निर्माणका लागि हेटौंडा–११ का स्थानीय समाजसेवी सिद्धिलाल श्रेष्ठले दानमा २ कठ्ठा १४ धुर जग्गा उपलब्ध गराएका थिए । श्रेष्ठले दिएको जग्गामा भवन बनाउन पराजुलीले १ व्यक्ति १ इँटा अभियान सञ्चालन गरे ।
केही संस्थागत सहयोग पनि प्राप्त भयो । जसले मामाघर नेपालको आफ्नै बालमैत्री भवन निर्माणमा सहयोग पुग्यो । बालकहरुका लागि खुला मैदानसहितको सुविधासम्पन्न भवनको व्यवस्था गरिएको छ ।
मामाघर नेपालका कारण सडक बालकलाई हेर्ने र गर्ने व्यवहारमा परिर्वतन आएको छ । उनीहरुको दैनिकीमा समेत निकै फेरबदल देखिएको छ । उनीहरुको अध्यापनको लागि हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा निःशुल्क व्यवस्था गरिएको छ । हेटौंडाकै एक निजी क्लिनिकले निःशुल्क स्वास्थ्य उपचार तथा औषधिको व्यवस्था गरिदिएको छ ।