बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फिनल्यान्ड, स्विडेन र नर्वेमा नेपाली दूतावासको घुम्ती सेवा

शनिबार, २५ असार २०७९, १९ : ३९
शनिबार, २५ असार २०७९

नेपाली दूतावास डेनमार्कले फिनल्यान्ड, नर्वे र स्विडेनमा बसोबासरत नेपालीहरूका लागि ७ दिने घुम्ती शिविर सञ्चालन गरेको छ । जुलाई २ तारिख शनिबारदेखी सुरु भएको शिविर स्विडेनमा २ दिन र फिनल्यान्डमा ३ दिन सञ्चालन भइसकेको छ भने नर्वेमा २ दिन सञ्चालन हुनेछ । 

 जुलाई ४ देिख ६ सम्म फिनल्यान्डको राजधानी हेल्सिन्कीमा सम्पन्न शिविरमा करिब २०० जनाले राहदानी आवेदन दिएको नेपाली दूतावास डेनमार्कले जानकारी दिएको छ ।  नेपाली दूतावासको कार्यक्षेत्रका मुलुकमा गई त्यहाँ रहेका नेपालीहरूलाई राहदानी लगायतका सेवा प्रदान गर्ने योजना अनुरूप घुम्ती सेवा उपलब्ध गराइएको दूतावासका कार्यवाहक राजदूत तीर्थराज अर्यालले बताए । शिविरमा दूतावासले नयाँ आवेदन प्रत्यक्ष दर्ता, नवीकरण, पुरानो आवेदन मार्फत तयारी राहदानी वितरण, वारेस नामा, भिसा जारी तथा परामर्श सेवा प्रदान गरेको अर्यालले जानकारी दिए । 

 "विद्युतीय राहदानी (ई-पासपोर्ट) आवेदनको लागि तयार पारिएको मोबाइल किटमार्फत् सेवा सञ्चालन गरेका छौँ", अर्यालले भने, " सेवाग्राही उच्च चापको बावजुद पनि सबैलाई सेवा प्रवाह गर्न सफल भयौँ ।" नेपालमा विद्युतीय राहदानीका लागि आवेदन दिनका लागि सम्भवतः पहिलो पटक सञ्चालित घुम्ती सेवामा छिटपुट रूपमा सामान्य समस्या आए पनि नेपालस्थित राहदानी विभागको समन्वयमा तथा प्राविधिक सहयोगमा समस्या समाधान गर्दे सेवा सञ्चालन गरिएको थियो ।

दूतावासले आफूहरू भएकै ठाउँमा आएर सेवा दिएकोमा सेवाग्राहीहरू पनि खुसी देखिन्थे । घुम्ती सेवाले यहाँका नेपालीलाई धेरै सहज बनाएको र स्थानीय रूपमा दूतावाससँग समन्वय गरेर सेवा प्रदान गर्ने कार्यमा जोडिन पाउँदा आफूहरूलाई पनि खुसी लागेको फिन्निश-नेपाली समाजका अध्यक्ष नवीन भट्टराईले जानकारी दिए । शिविरमा कार्यवाहक राजदूत अर्याल उपस्थित भएर सेवा प्रदान गरेका थिए भने फिनल्यान्डमा स्थानीय रूपमा फिन्निश-नेपाली समाज र एनआरएन फिनल्यान्डले समन्वय गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप