बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लन्डनका दुई पत्रकारलाई एफएनजे यूके पत्रकारिता पुरस्कार

शनिबार, २५ असार २०७९, १९ : १८
शनिबार, २५ असार २०७९

नेपाल पत्रकार महासंघ बेलायत शाखाद्वारा प्रदान गरिने पत्रकारिता पुरस्कार यस वर्ष कान्तिपुरका बेलायत संवाददाता नवीन पोखरेल र अर्का पत्रकार खेमराज रानाभाटलाई दिइने भएको छ ।

पुरस्कार छनोटका लागि शाखाद्वारा गठित स्वतन्त्र समितिको सिफारिसका आधारमा दुई पत्रकारलाई संयुक्त रुपमा दोस्रो एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२२ प्रदान गरिने शाखाले जनाएको छ । पुरस्कार राशि ५०२ पाउण्ड छ ।

पोखरेलको कान्तिपुरमा प्रकाशित बेलायतका विमानस्थलबाट फर्काइँदै नेपाली विद्यार्थी शीर्षक र रानाभाटको हिमालखबरमा प्रकाशित बेलायती गोर्खा सैनिक अब आफ्नो कथा, आफ्नै कलम शीर्षकको स्टोरीका लागि पुरस्कार सिफारिस गरिएको हो । 

आइतबार लन्डनमा आयोजना हुने शाखाको दशौं वार्षिकोत्सव तथा स्थापना दिवस समारोहमा पुरस्कार वितरण गरिने महासचिव नरेन्द्र बस्नेतले जानकारी दिए । 

पुरस्कारका लागि छनोट हुने पोखरेल विगत डेढ दशकदेखि बेलायतका लागि कान्तिपुर संवाददाताका रुपमा सक्रिय छन् । बेलायतबाट सञ्चालित नेपाली लिंकका प्रधानसम्पादक रहेका उनी पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष समेत हुन् । पोखरेल यसअघि एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार, साहित्य विकास परिषद पत्रकारिता पुरस्कारलगायतबाट पनि सम्मानित भइसकेका छन् ।

त्यसैगरि, पुरस्कारका लागि सिफारिस हुने रानाभाट पत्रकार महासंघ बेलायत शाखाका वर्तमान सचिव हुन् । पछिल्लो समय हिमालखबरका लागि बेलायतबाट रिपोर्टिङ गर्दै आएका उनी युरोपबाट सञ्चालित नेपाली वेभका सम्पादक पनि हुन् । एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२२ छनोटका लागि शाखाका सल्लाहकार भगीरथ योगी, प्राध्यापक डा तेजेन्द्र फेराली, डा. ओम गौतम, संगीता मरहट्ठा र डा. सुमाया राई सम्मिलित पुरस्कार छनोट समिति गठन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप