शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कसरी बन्यो केपी र माधव निकट वकिलहरूको बलियो गठबन्धन ? (भिडियो)

शनिबार, २५ असार २०७९, १८ : ०७
शनिबार, २५ असार २०७९

नेपालमा रहेका कम्युनिष्ट पार्टीहरूबीच एक आपसमा दुश्मनी हुनु कुनै नौलो कुरा हैन । हिजोसम्म एउटै पार्टीमा बसेर एउटै थालमा खाएका नेताहरु भोलिपल्ट पार्टी फुटेपछि एक अर्कालाई सत्तोसराप गर्नु सामान्य भइसकेको छ । पछिल्लो समय एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी र एमालेबीच हालसम्म पनि पानी बराबरको सम्बन्ध छ । एमाले एकीकृत समाजवादीलाई कुनै राजनीतिक दलको मान्यता दिन समेत हिच्किचाउँछ भने समाजवादी एमालेको मुख्य नेतृत्वको नाम लिन समेत चाहँदैन । 

गत स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीका कारण केही स्थानीय तहमा एमालेले हार समेत बेहोर्यो । मूल पार्टीमा पानी बाराबारको अवस्था रहेका बेला उच्च अदालत बार एशोसियसन पाटन कार्यसमितिको निर्वाचनमा भने यी दुवै पार्टी निकट कानुन व्यवसायीहरुको भातृ संगठनबीच चुनावी तालमेल भएको छ । 

नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह कानुन र एकीकृत समाजवादी दल निकट समाजवादी कानुन व्यवसायी संगठनबीच चुनावी गठबन्धन भएको हो । यो गठबन्धनको प्रतिस्पर्धीका रुपमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी निकट कानुन व्यवसायीहरुको प्यानल रहेको छ ।  

एमाले निकट कानुन व्यवसायी संगठनका अध्यक्षका उम्मेदवार शान्तिराम खतिवडाले राजनीतिक पार्टीको सम्बन्धका बारेमा जे भएपनि व्यावसायिक र बौद्धिक संस्था भएकोले एउटै समूहको रुपमा उम्मेदवारी दिएको रातोपाटीलाई बताए । न्यायालयको शुद्धीकरणको सवालमा र कानुन व्यवसायीहरुको हक हितको सवालमा एउटै उद्देश्य भएकोले  सँगै लाग्नुपर्छ भन्ने मान्यताका साथ गठबन्धन बनाएर चुनावमा होमिएको उनको भनाई छ । 

उनले भने– ‘यो पार्टीको सिधै भातृ संगठन नभई व्यवसायिक संगठन भएकोले विभिन्न नाम छन् तर भूमिका एउटै छ । गठबन्धन बनाउने वा नबनाउने सबै कुरा पार्टीलाई सोध्ने कुरा पनि हुँदैन । ठ्याक्कै पार्टीको हस्तक्षेप हुने संस्था हैन यो । व्यवसायिक संस्थाको हक हितका लागि हामीले काम गर्ने भएकोले एकीकृत समाजवादी निकट कानुन व्यवसायीहरुको संगठन र हाम्रो संगठनको केन्द्रीय तहमा छलफल भएपछि एउटै समूह बनाएर जाने निर्देशन भयो त्यो अनुसार हामीले उम्मेदवारी तय गर्यौं । अहिले हामीलाई को उम्मेदवार कुन तिरको हो भन्ने भान नै छैन ।’

एकीकृत समाजवादी कानुन व्यवसायी संगठनबाट सदस्यका उम्मेदवार रहेका रामकुमार खतिवडाले प्रगतिशील समूहले विगतदेखि नै चुनाव जित्दै आएको र छुट्टाछुट्टै चुनाव लड्दा एमाले निकट र समाजवादी निकट कानुन व्यवसायी संगठनको हार हुने भएकोले गठबन्धन बनाइएको बताए । 

एमाले निकट प्रगतिशील कानुन व्यवसायी संगठनबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष र समाजवादी कानुन व्यवसायी संगठनबाट उपाध्यक्ष र सहसचिव रहेको प्यानल बनाइएको हो । यस्तै १८ जना सदस्यमध्ये १५ जना एमाले निकट र ३ जना एकीकृत समाजवादीबाट प्यानलमा रहेका छन् । 

नेपाली काँग्रेस निकट डेमोक्रेटिक लर्यस एशोसिएशन ​मा रहेका माओवादी र जसपा निकट कानुन व्यवसायीको प्यानलसँग उनीहरुको प्रतिस्पर्धा भएको हो । शनिवार ललितपुरस्थित उच्च अदालत परिसरमा रहेको उच्च अदालत बार एशोसिएशन पाटनमा मतदान भएको हो । सो निर्वाचनका लागि २८ सय २८ मतदाता रहेका थिए । 

हेर्नुहोस भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप