सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

श्रीलंका :‘गोटा गो होम’ को नारा लगाउँदै राष्ट्रपति भवन पसे प्रदर्शनकारी

शनिबार, २५ असार २०७९, १७ : ३७
शनिबार, २५ असार २०७९

श्रीलंकाको राजधानी कोलम्बोमा प्रदर्शनकारीहरू शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा प्रवेश गरेका छन् ।  निवास प्रवेश गर्ने क्रममा प्रदर्शनकारीले ‘गोटो गो होम’को नारा लगाएका थिए । समाचार अनुसार प्रदर्शनकारी आवासीय निवासमा प्रवेश गर्नुअघि राष्ट्रपति राजापाक्षे सुरक्षित स्थानमा सरिसकेका छन् । यद्यपि उनी कहाँ गएका छन् भन्ने केही बताइएको छैन । कोलम्बोमा अहिले स्थिति तनावपूर्ण छ । 

प्रदर्शनकारीले राष्ट्रपति गोटोबाया राजापाक्षे वर्तमान संकटको लागि जिम्मेबार भन्दै उनको राजीनामा माग गरिरहेका छन् । यसअघि प्रधानमन्त्री पदमा आसिन गोटाबायाका दाई महिन्दा राजापाक्षले विरोधपछि राजीनामा दिएका थिए । 

शनिबार बृहत प्रदर्शन आह्वान गरिएको थियो । सडकमा उत्रिएका आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर गरेको समाचार एजेन्सीले लेखेका छन् ।  यसबाट केही घाइते भएपनि भिडलाई त्यसले खासै प्रभाव पार्न सकेको छैन । 

यसबीच, देशका प्रधानमन्त्री रनिल विक्रमबहादुरले विभिन्न पार्टी नेताहरु सम्मिलित आकस्मिक बैठक बोलाएका छन् । श्रीलंकामा लामो समयदेखि मूल्यवृद्धि र अत्यावश्यक वस्तुको अभावको विरोधमा प्रदर्शन भइरहेको छ । शनिबारको प्रदर्शनमा सहभागी हुन देशका विभिन्न भागबाट मानिसहरु कोलम्बो पुगेका छन् ।

श्रीलंका अहिले स्वतन्त्रता यताकै सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको छ । देशमा पेट्रोल, खाद्यवस्तु र औषधिको चरम अभाव छ । दिउँसो एक बजेतिर आन्दोलनकारी राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गर्न थालेका थिए । केही प्रदर्शनकारी मुख्य गेटमा चढेर निवासभित्र प्रवेश गरेका थिए । प्रदर्शनस्थलमा सेना पनि तैनाथ गरिएको छ ।

भीड राष्ट्रपति भवन प्रवेश गर्नुअघि प्रहरीले अश्रु ग्यास तथा हवाई फायर गरेको थियो । भिडियो फुटेजहरुमा अश्रुग्यास प्रहारबाट घाइते मानिसहरू अस्पताल लाँदै गरेको देखिएका छन्  । 

प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक

यसैबीच, श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले नयाँ परिस्थितिबारे छलफल गर्न सर्वदलीय आकस्मिक बैठक बोलाएका छन् ।  उनले संसदको अधिवेशन बोलाउन सभामुखलाई आग्रह समेत गरेका छन् ।

शनिबारको प्रदर्शनलाई विपक्षी दल, ट्रेड युनियन, विद्यार्थी र किसान संगठनले पनि समर्थन गरेका छन् । राजधानी कोलम्बो र आसपासका क्षेत्रमा हुन लागेको यो  र्‍यालीअघि सरकारले शुक्रबार राति ९ बजेदेखि कर्फ्यू लगाएको थियो ।

शुक्रबार राति ९ बजेदेखि अर्को आदेश नभएसम्मका लागि यो कर्फ्यु लगाइएको अधिकारीहरूले बताएका छन् ।  प्रशासनले सर्वसाधारणलाई घरभित्रै बस्न र बाहिर ननिस्कन आग्रह गरेको छ । विरोध र्‍यालीमा हिंसा हुन नदिन प्रशासनले हजारौं सेना र प्रहरी परिचालन गरेको छ ।

समस्याको कारण

श्रीलंकामा विदेशी मुद्रा सञ्चितिको तीव्र  र्हासका कारण देशमा आर्थिक संकट उत्पन्न भएको हो ।  सरकारको आर्थिक कुव्यवस्थापन र कोरोना महामारीको प्रभावका कारण यस्तो अवस्था आएको धेरैले आरोप लगाएका छन् ।

वैदेशिक विनिमय सञ्चितिको अभावका कारण श्रीलंकाले तेल, खाद्यवस्तु र औषधिलगायत अत्यावश्यक वस्तु आयात गर्न नसकेपछि यस वर्षको मे महिनामा इतिहासमै पहिलोपटक ऋणको किस्ता तिर्न असफल भएको हो । 

श्रीलंकाले हाल अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट करिब ३.५ अर्ब डलरको अनुदान रकम खोजिरहेको छ । जसको लागि कोष र श्रीलंकाली सरकारबीच वार्ता चलिरहेको छ ।  श्रीलंका सरकारले यसवर्ष आईएमएफ लगायत अन्तर्राष्ट्रिय समुदायबाट ५ अर्ब डलरको सहायता आवश्यक रहेको बताएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप