शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमबीए सकेर बारमा लोभिएका ‘मिक्सोलोजिस्ट’ सौरभ !

शनिबार, २५ असार २०७९, १६ : ३५
शनिबार, २५ असार २०७९

विद्यार्थी जीवनबाटै रेस्टुरेन्ट धाउन रुचि राख्थे सौरभ कार्की । प्लस टू पछिको अध्ययनका लागि भारतको दिल्ली पुगेका कार्कीले त्यहाँ पनि आफ्नो रहर परिवर्तन गर्न चाहेनन्  । रेस्टुरेन्ट जाने बस्ने, त्यहीको वातावरणमा रमाउने उनको दैनिकी थियो ।

सौरभ विषयगत रूपमा एमबीए गर्दै थिए । तर, रहर र रुचि रेस्टुरेन्टको वातावरणसँग निकट हुँदै थियो । अझ, बार र बारका मिक्सोलोजिस्टहरूले पस्कने थरी–थरीका ककटेलको स्वादले उनलाई रेस्टुरेन्टसँग निकट बनाउँदै लग्यो । नेपाली बार/ककटेल/ड्रिङ्क कल्चर र इन्डियन कल्चरका बारेमा उनले बुझ्ने मौका पाउँदै गए । अध्ययनको विषय एकातिर भए पनि दिल्लीका रेस्टुरेन्टमा पस्किएका अनेकन् स्वादका ककटेलले सौरभलाई पनि तान्यो । 

‘बीबीए र एमबीए सकेर म नेपाल फर्किएँ । पढाइ एकातिर भए पनि भारतमा स्थापित भइसकेको ककटेल कल्चरलाई नेपालमा पनि स्थापित गर्छु भन्ने भाव बोकेरै म नेपाल फर्किएको थिएँ’ सौरभ भन्छन्, ‘त्यो समयमा नेपालमा ककटेल कल्चर उति स्थापित भइसकेको थिएन जति अहिले छ। त्यसैले म आफैँ अनलाइन, युट्युब लगायत माध्यमबाट पढ्न थालेँ, सिक्न थालेँ।’

भिन्न–भिन्न पेय पदार्थको मिसावट बाट तयार भिन्न–भिन्न स्वादमा ककटेलको स्वाद चाखिसकेकाले आफूलाई मिक्सोलोजी बारेमा स्व अध्ययनमा कठिनाइ नभएको सौरभ बताउँछन् । थुप्रै लिक्वेयरको टेस्ट लिइसके पनि उनीसँग पेसागत सीपको भने अभाव थियो । त्यसैले नेपालमा मिक्सोलोजिस्टका रूपमा चिनिएका व्यक्ति किकी भुटियासँग उनले औपचारिक सिकाइ सुरु गरे । प्रशिक्षकसँगको व्यवहारिक सिकाइसँगै सौरभ स्वयं एक मिक्सोलोजिस्ट बने । 

भन्छन् ‘स्वअध्ययनसँगै किकी दाइको प्रशिक्षणले मलाइ यो फिल्डमा काम गर्न योग्य बनायो, स्थापित हुन सहज गरायो । सँगै म आफैले पनि थुप्रै कुराहरूको खोज, अनुसन्धान र प्रयोग गरेर नयाँ नयाँ ककटेल बनाउन अभ्यास गरेर र सक्षम भएको छु।’

​दिल्लीबाट फर्किए पछिको केही वर्ष उनले केही कम्पनीसँग आबद्ध रहेर मार्केटिङको जागिर खाए । तर, रेस्टुरेन्ट तथा बारसँगको सामीप्य र त्यस क्षेत्रमा उनले देखेको सम्भावनाहरूले उनलाई झकझक्याइ रह्यो ।  सुनाउँछन्, ‘खासै जागिरमा मन गएन र अब पनि जाँदैन होला । अध्ययन जे भए पनि मैले बारको काम सिकेँ र यही क्षेत्रमा सम्भावना देखेँ।’ 

सौरभसहितको ५ जनाको टिमले जार अर्थात् ‘जस्ट अनोदर रेस्टुरेन्ट’ नामको आफ्नै रेस्टुरेन्ट सुरु गरेका छन् । काठमाडौँको पुरानो बानेश्वरमा रहेको रेस्टुरेन्ट जहाँ सौरभ स्वयं पाहुनालाई भिन्न भिन्न पेय र ककटेलको स्वाद पस्किरहेका हुन्छन् । 

‘मलाई यो काम निकै मज्जा लाग्छ, भिन्न भिन्न पेय पदार्थको ककटेल र  टेस्ट पस्कन जाँगर लाग्छ। सँगै नेपालमा पनि बार/ककटेल कल्चरलाई अझ स्थापित गर्न, निर्धक्क भएर बारमा काम गर्छु भनेर थप जनशक्तिलाई आकर्षित गर्न पनि उतिकै रहर छ,’ उत्साहित हुँदै सौरभ थप्छन्,‘ मैले यो काम गरेको देखेर मेरी आमासमेत यत्रो पढेर के रक्सी मिसाउने काम गर्छस् भनेर भन्नुहुन्थ्यो तर, मिक्सोलोजी र बारका बारेमा बुझाएर उहाँलाई कन्भिन्स गराएँ । त्यसैले नेपाली समाजमा यो कामको महत्त्व बुझाउन केही कठिन पक्कै छ, तर सम्भावना पनि म उतिकै देख्छु।’ 

सौरभ यस क्षेत्रमा करियर बनाउन चाहने नयाँ पुस्तालाई पनि साथ र सहयोग गर्न आफू तयार रहेको बताउँछन्। 

कुराकानीकै क्रममा सौरभ आफ्नै रेस्टुरेन्टमा ‘एक्प्रेसो मार्टिनी’ र ‘टेनएसी गार्डेन’ नामका दुई ककटेल आइटम तयार गर्छन् । त्यसको स्वाद पनि चखाउँछन् । र, नयाँ नयाँ पाहुनालाई निम्ता दिँदै भन्छन्, ‘हामी मिक्सोलोजिस्ट ग्लासमा पेय पदार्थमात्र मिक्स गर्दैनौं, हाम्रो मिहिनत, खोज, प्रयोग, प्यासन अनि मायाँ पनि मिसाइ रहेका हुन्छौँ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप