मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय जनमोर्चा: सत्तामा गठबन्धनतिर, खानेपानी संस्थाको निर्वाचनमा एमालेतिर

शनिबार, २५ असार २०७९, १६ : १५
शनिबार, २५ असार २०७९

घोराही खानेपानी तथा सरसफाइ संस्थाको निर्वाचनमा सत्ता गठबन्धन र संयुक्त प्यानल निर्वाचनमा होमिएका छन् । सत्ता गठबन्धन तर्फ नेपाली काँग्रेसका देवीबहादुर डिसी र संयुक्त प्यानल तर्फ नेकपा एमाले नारायणप्रसाद भुसाल अध्यक्ष पदका लागि निर्वाचनमा होमिएका हुन् । 

दुईमध्ये एक समूह जिताउन शनिवार बिहानैदेखि उपभोक्ताहरू लाइन लागि मतदान गरिरहेका छन् । समर्थकहरू दल र उपभोक्ताहरू आफ्ना उम्मेदवार जिताउन उपभोक्ताहरूसँग भोट मागिरहेका छन् । तर पाँच दलीय गठबन्धनभित्र रहेको राष्ट्रिय जनमोर्चा नेपालका नेता तथा कार्यकर्ताहरू गठबन्धनका उम्मेदवार जिताउन नभई संयुक्त प्यानल नेकपा एमालेका अध्यक्ष जिताउन उपभोक्ताहरूसँग भोट मागिरहेका छन् । 

घोराही खानेपानी तथा सरसफाइ संस्थाको निर्वाचनमा राष्ट्रिय जनमोर्चा नेपालले सत्ता साझेदार पाँच दलीय गठबन्धनलाई नभई नेकपा एमाले समर्थन गरी निर्वाचनमा होमिएको छ । खानेपानी संस्थाको निर्वाचनमा गठबन्धन दल नेपाली काँग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी केन्द्र, राष्ट्रिय जनमोर्चा समन्वय समिति रहेका छन् भने सत्ता गठबन्धनभित्र रहेको राष्ट्रिय जनमोर्चा नेपाल संयुक्त प्यानल समर्थन गर्दै  नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मिसिएको छ । 

गठबन्धन दलले गठबन्धनभित्रै दललाई सम्मानजनक अवसर नदिई एकलौटी निर्णय गरेकाले सत्ता प्रतिपक्षलाई समर्थन गर्दै खानेपानी निर्वाचनमा गठबन्धनबाट जनमोर्चा बाहिरिएको हो । गठबन्धनभित्रको ठुलो दल नेपाली काँग्रेसको एकलौटी निर्णय र सानो दल प्रतिको हेपाइका कारण सत्ता गठबन्धनभित्रको दल प्रतिपक्ष दलहरू समर्थन गर्दै निर्वाचनमा होमिनु परेको  राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले भनाई छ । संयुक्त प्यानलले जनमोर्चालाई दुई सदस्य दिएर आफूतिर तानेको हो । जसले  गठबन्धनभित्र जनमोर्चा दाङमा ठूलै हलचल मच्चाएको छ । 

जनमोर्चा सत्तामा गठबन्धनसँग खानेपानीको निर्वाचनमा एमालेसँग रहँदा जनमोर्चाले गठबन्धनको मूल्य मान्यता तोडेको आरोप गठबन्धन दलहरूको छ । आचार्यले भने–‘ गठबन्धन भित्र सानो ठुलो भन्ने सोच हुन्छ र ? गठबन्धन हरेक हिसाबकिताबले बराबर गर्नुपर्छ । एउटा सदस्य नदिएर पनि गठबन्धन हुन्छ ?’ गठबन्धनभित्रको ठुलो दल नेपाली काँग्रेसले एकलौटी निर्णय गर्दै आफू हेप्न खोजेकाले गठबन्धनबाट बाहिरिएको उनको भनाई छ । गठबन्धनभित्रका ठुला दलहरूको हेपाहा प्रवृत्तिको कारण गठबन्धनबाट बाहिरिनुपरेको आचार्यले बताए । 

‘गठबन्धनभित्रका कुरा गठबन्धनसँग मिलाउन हामीले खोजेको हो । तर गठबन्धनभित्र केही दलहरूको केही व्यक्तिगत कुराहरू हुन सक्छन् । त्यो कुरा मिल्न नसक्दा वा पदमा चित्त नबुझ्दा जनमोर्चा नेपाल एमालेको समर्थनमा पुगेको हो,’ नेपाली काँग्रेस दाङका उपसभापति कमानसिंह भारतीले भने, ‘ यता कुरा मिलेन गठबन्धनको दल लुसुक्क एमालेतिर गयो । ’ 

गठबन्धनभित्र दल एमालेलाई समर्थन गरी निर्वाचनमा होमिएकाले खानेपानी निर्वाचनको प्रभाव प्रदेश र संघको निर्वाचनमा कस्तो पर्ला भन्ने आँकलनसमेत सुरु भएको छ । घोराही दाङ क्षेत्र नं.२ अन्तर्गत पर्ने दाङकै ठुलो बजार क्षेत्र हो । घोराही खानेपानी तथा सरसफाइ संस्थामा करिब साढे ७ हजार उपभोक्ताहरू रहेका छन् ।

यता नेकपा माओवादी केन्द्रका नेता विश्वराज आचार्यले जनमोर्चा नेपाल सत्ता गठबन्धनभित्रको दल रहेकाले गठबन्धनभित्रै रहेको बताएका छन् । उनले गठबन्धनमा भित्र केही कुरा नमिलेर खानेपानी निर्वाचन समाहित हुन नसके पनि सत्ता गठबन्धनभित्रको दल रहेकाले आगामी निर्वाचन वा सत्ताको सवालमा त्यति ठुलो गम्भीर गरी सोच्नुपर्ने आवश्यक नरहेको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप