बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश : बैंक कर्जाको आधा हिस्सा रुपन्देहीमा मात्र

अधिकांश पहाडी जिल्लामा एक प्रतिशत पनि छैन
शनिबार, २५ असार २०७९, १५ : ५६
शनिबार, २५ असार २०७९

लुम्बिनी प्रदेशमा बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा धेरै लगानी गरेका छन् । तीमध्ये पनि गैरखाद्य उत्पादन गर्ने उद्योगमा लगानीको मात्रा धेरै छ । नेपाल राष्ट्र बैंकले गरेको पछिल्लो सर्वेक्षण अनुसार औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जामध्ये गैरखाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगमा ४०.६४ प्रतिशत छ ।

खानी सम्बन्धी उद्योगमा भने ०.७६ प्रतिशत कर्जा प्रवाह गरेको देखिन्छ । लुम्बिनी प्रदेशमा पछिल्लो समय चुनढुङ्गा खानीमा लगानी सुरु भएको छ । विद्युत, ग्याँस तथा पानी उद्योगमा पनि कम कर्जा प्रवाह भएको छ । यी उद्योगमा ०.८७ प्रतिशत कर्जा प्रवाह भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

कृषि, वन तथा पेय पदार्थ सम्बन्धी उद्योगमा २८.६७ प्रतिशत  कर्जा लगानी भएको छ । निर्माण सम्बन्धी उद्योगमा २२.८७ प्रतिशत, धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक सम्बन्धी उद्योगमा ६.१७ प्रतिशत कर्जा प्रवाह भएको छ ।

पहाडी जिल्लामा कर्जा प्रवाह न्यून

लुम्बिनी प्रदेशमा धेरै उद्योग रहेको जिल्ला रुपन्देही हो । त्यसैले रुपन्देहीमै बैंक तथा वित्तीय संस्थानले धेरै लगानी गरेको देखिन्छ । प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रुपन्देहीमा र सबैभन्दा कम रुकुम पूर्वमा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह  गरेको देखिन्छ ।

बैंक तथा वित्तीय क्षेत्रबाट लुम्बिनी प्रदेशमा १ खर्ब ३० अर्ब ३२ करोड ५६ लाख लगानी हुँदा रुपन्देही जिल्लाले कर्जाको ६२ प्रतिशत हिस्सा ओगटेको छ । कर्जा प्रवाहको दृष्टिमा दोस्रोमा बाँके जिल्ला पर्दछ । बाँकेमा १६.८९ प्रतिशत कर्जा प्रवाह भएको छ । दाङ जिल्लामा ६ प्रतिशत, कपिलवस्तुमा ६ र नवलपरासीमा ५ प्रतिशत कर्जा प्रवाह भएको राष्ट्र बैंकको प्रतिवेदनमा जनाइएको छ ।

पहाडी जिल्लाहरू रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँचीमा एक प्रतिशत पनि कर्जा प्रवाह भएको छैन । पहाडी जिल्लामध्ये पाल्पामा १ दशमलव ९ प्रतिशत कर्जा प्रवाह भएको छ । अन्य पहाडी जिल्ला कर्जा १ प्रतिशत पनि पुग्न सकेको छैन ।

तराईका जिल्लामा सबैभन्दा कम बर्दिया जिल्लामा १ दशमलव ४९ प्रतिशत कर्जा प्रवाह भएको छ ।

रुपन्देहीमा धेरै लगानी किन ?

रुपन्देही जिल्लामा बुटवल औद्योगिक क्षेत्र, लुम्बिनी कोरिडोर  सहित विभिन्न ठाउँमा झण्डै ४ सयभन्दा बढी उद्योग छन् । २०३२ सालमा बुटवल औद्योगिक क्षेत्रको स्थापनासँगै यो जिल्लामा मझौला उद्योग स्थापना गर्ने क्रम वृद्धि भयो । जिल्लामा साना तथा मझौला उद्योग सबैजसो क्षेत्रमा स्थापना भएका छन् ।

जिल्लामा स्टिल, मैदा, चामल, कार्पेट, डनलप, ह्विस्की, बियर, सफ्ट ड्रिङ्क, चाउचाउ, चामल, जुत्ता–चप्पल, ग्याँस, पेट्रोलियम पदार्थ, दाना, अटो, प्लास्टिक, पाइप, एंगलपत्ती ब्लक, कंक्रिट रिमिक्स, सिमेन्ट, पर्यटन, शैक्षिक, स्वास्थ्य सम्बन्धी सामान उत्पादन गर्ने उद्योग छन् । बैंक तथा वित्तीय संस्थाले ती उद्योगमा लगानीका लागि विशेष चासो राख्ने गर्दछन् ।

अर्कोतिर पूर्वपश्चिम राजमार्ग र भन्सार पनि नजिक भएका कारण बाहिरका उद्योगीहरू समेत रुपन्देहीका बैंकबाट कर्जा लिएर काम गर्न रुचाउने भएकाले यो जिल्लामा लगानी बढेको बैंकर राजीव गौतमले बताए ।

बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्वल कसजुले जहाँ लगानी उठ्न सक्छ, बैंकहरुले त्यहीँ कर्जा प्रवाह गर्ने बताउँछन् । रुपन्देहीमा आर्थिक सम्भावना धेरै भएकाले कर्जा प्रवाह पनि बढेको उनको भनाइ छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप