बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

कथा : भाइरस

शनिबार, २५ असार २०७९, १२ : १०
शनिबार, २५ असार २०७९

“हेल्लो मे आई कम इन ?’
एउटी सानी, गोरी केटीले ढोकाबाट चियाएर हँसिलो मुद्रामा भित्र आउने अनुमति मागी ।
“यस कम इन, प्लिज !” सहज रूपमा अनुमति दिएँ । 
२२–२४ वर्षकी जस्ती देखिने केटी भित्र पसी । 
खुट्टामा पातलो फ्ल्याट चप्पल थियो उसको । कालो पेन्ट र सेतो भेस्ट लगाएकी उसले कपाल बाँधेकी थिई । कानमा सानो लुर्के टप झुन्डिएको थियो । अनि घाँटीमा बुट्टे स्कार्फ । झट्ट हेर्दा राई, लिम्बुजस्तै लाग्थी । स्कुले केटीले किताब बोकेजस्तै गरेर डायरी र कलम राखेको क्लियर ब्याग च्यापेकी थिई ।
“प्लिज सिट डाउन” सामुन्नेको कुर्सीतर्फ बस्न इसारा गर्दै मैले भनेँ ।
“थ्याङ्क यु” भन्दै बसी ऊ ।
मैले उसको परिचय मागेँ । जुरुक्क उठेर ऊ मसँग हात मिलाउन आई । मैले पनि ऊतिर हात बढाएँ ।

 उसले आफ्नो परिचयपत्र देखाउँदै अङ्ग्रेजीमा भनी, “मेरो नाम लुइस हो । अहिले म अस्ट्रेलियामा एचआईभी एड्स विषयमा एमडी गर्दैछु । अन्तिम वर्षमा रिसर्चको प्रतिवेदन बुझाउनु पर्छ । त्यही भएर मचाहिँ नेपालको स्वास्थ्य त्यसमा पनि एचआईभी एड्सको बारेमा रिसर्च गर्न आएकी । मलाई अब यौनकर्मी महिलाको रिसर्च गर्नुपर्ने छ ।” उसले आफ्नो उद्देश्य फटाफट बताई । 

नेपालमा यौनकर्मी महिलाको अवस्था कस्तो छ ? उनीहरूमा स्वास्थप्रति चेतना छ कि छैन ? उनीहरूलाई डाक्टरले गर्ने स्वास्थ सेवा वा व्यवहारमा भेदभाव छ कि छैन ? उनीहरूमा कस्तो रोग र समस्या छ ? यस्तैमा अध्यन गर्नुपर्ने छ । क्यान यु हेल्प मि ? के तिमी उनीहरूसँग भेट्टाइ दिन सक्छ्यौ ?” उसले विनम्र भावमा मलाई अनुरोधको भावमा सोधी ।

 “अफ कोर्स । ह्वाई नट । तिमी ढुक्क भए हुन्छ । मेरो यो अफिस नै एचआईभी एड्सकै सेक्टरमा काम गर्छ । यदाकदा यौनकर्मी महिला–पुरुष सबैलाई तालिम पनि दिने गरेको छ ।” मैले आश्वासन दिएँ । उसले खुसीले झुकेर आभार प्रकट गरी । 

“तिमी एक्लै आएकी नेपाल ?” अनायास सोधेँ मैले । 
“हो त ! किन सोध्यौ ?” उसले आश्चर्य मानी ।
“नचिनेको ठाउँ, अपरिचित मान्छे अर्काको देश ! एक्लै डर लाग्दैन तिमीलाई ?” कौतुहल देखाएँ मैले ।
“लाग्दैन त । किन ? केको डर ? मान्छे त हुन् नि जुन देशमा गए पनि । मान्छे जुन देशका भए पनि के भयो र, भाषा र संस्कृति त हो नि फरक हुने भनेको । मानव शरीर र मानवीय भावना त एउटै हुन्छ होइन र ?” निर्धक्क भनी उसले । उसले सबै कुरा अङ्ग्रेजीमा बताई । नेपाली नजान्ने रैछे ऊ ।

उसको कुरा सुनेपछि छोरीलाई सुरक्षाका लागि भाइको निगरानी र साथ लाएर क्याम्पस पठाउने हाम्रा बाबुआमा र हाम्रो समाजको याद आयो मलाई । कति फरक छ हामी र उनीहरूको सोच । कति दृढ छ आत्मविश्वास उसमा । 
“शिक्षाले मानिसलाई ज्ञान मात्रै होइन, आत्मबल र शक्ति पनि दिँदो रहेछ ।” लुइसबाट बुझेँ मैले । 
ऊ पनि हामीजस्तै केटी त हो । तर कति निर्धक्क र आत्मविश्वासका साथ यति टाढा अपरिचित ठाउँमा ऊ एक्लै काम गरिरहेकी छे । 

मैले अफिसको कर्मचारी रामजीको सहयोग मागें । खास गरी उनी नै यो विभाग हेर्थे । यौनकर्मीको डाटा उनीसँग मात्रै थियो । गोप्य परिचय थियो उनीसँग । गोप्य रूपमा सीमित व्यक्ति भएर मात्रै उनीहरूलाई जनचेतनामूलक कार्यक्रमहरू गरिन्थे । त्यसैले मैले प्रत्यक्ष रूपमा देखेको पनि थिइन, त्यस्ता यौनकर्मीलाई । म पनि हेर्न चाहन्थेँ कस्ता हुँदा हुन् ती महिलाहरू, जसले घरमा राम्री स्वास्नी हुने लोग्नेमान्छेलाई पनि सजिलैसँग आकर्षित गर्छन् । किनिने र बेचिने वस्तु त तुलनात्मक रूपमै राम्रो नै हुनुपर्छ प्रतिस्पर्धी वस्तुभन्दा त ।

म यस्तै सोच्थेँ । धेरै उत्सुकता थियो मलाई त्यस्ता महिला भेट्न ।

रामजीको पछि लाग्यौँ लुइस र म । सुन्दर सहरको अधिकांश होटल लेखिएका सानोदेखि ठूल्ठूला होटलमा यौन व्यापार फस्टाएको रैछ । सुरुमा त विश्वास भएन, न त शङ्का नै थियो । तर देखाउने दाँत एउटा भए पनि चपाउने दाँत अर्कै रहेछन् । थाहा पाएर छक्क परेँ म ।
जुन स्तरको होटेल, त्यही स्तरको ग्राहक । त्यही स्तरका पेसाकर्मी हुँदा रहेछन् ।

पहिले हामी त्यस ठाउँको ठूलै खाले होटलमा गयौँ । काउन्टरमा एउटी महिला नै थिइन् । सम्भवतः ऊनी मालिक्नी हुन् होटलकी । पछिल्तिर भित्तामा सिसाको सोकेस । सोकेसमा थुप्रै विदेशी रक्सीको बोतल सजिएका । काउन्टरको अर्काे छेउमा ठूलो टीभीमा हिन्दी सिरियल हेरेर सामुन्नेको सोफामा तीन जना महिला बसिरहेका थिए । दुईजना युवती, अर्की एउटी चाहिँ अधबैँसे । सोफा अघिको सिसाको टेबुलमा राखिएको एस्ट्रेमा केही चुरोटको ठूटाहरू । महिलाहरू कुनै सभ्रान्त परिवारका जस्ता, शिक्षित र सुशील देखिन्थे । 

अधबैँसेका हातमा मोबाइल थियो । गलामा मोटो सुनको सिक्री । नाडीमा महँगो लाग्ने घडी, सिल्कको सारी । अरूको पहिरन पनि महँगो खालकै देखिन्थ्यो ।
“बजार घुमेर आएका र खाजा अर्डर गरेर बसेका होलान् ।” यस्तै सम्झिएँ मैले ।
रामजीले उनीहरूसँग खासखुस गरे । उनले पहिले नै चिनेका रहेछन् तिनीहरूलाई ।
उनले लुइसतिर देखाएर केही भने । अनि हामीलाई इसारा गरे आउनु र सोध्नु भनेर । 
छाँगाबाट खसेँझैँ भएँ म । मेरा नजरका ती सुशील महिला नै पो यौनकर्मी रहेछन् । ग्राहक पर्खेर बसेका ।

लुइसले आफ्ना धेरै प्रश्न (व्यक्तिगत हैन) उनीहरूलाई सोधी अङ्ग्रेजीमा । मैले दोभाषेको काम गरेँ । मैले भनेका कुरालाई उसले डायरीमा टिपिरही ।
मलाई पनि धेरै कुरा जान्ने उत्सुकता थियो उनीहरूको व्यक्तिगत जीवनको बारेमा । “यो पेसामा किन लागेको र लागिरहेको अझैसम्म ?” भनेर सोधौँ कि लाग्यो तर सोध्न सकिनँ ।

 अधबैँसेको सम्पर्क मोबाइलबाट नै हुँदोरहेछ । उच्च धनाढ्य व्यक्ति उसका ग्राहक रैछन् । रामजीले बाटोमा बताए हामीलाई ।

त्यसपछि हामी मध्यम खालको होटलमा गयौँ । काउन्टरमा एउटा अनुहार नपरेको मान्छे र एउटी अधबैँसे महिला बसिरहेका थिए । नजिकैको सिसा नभएको सोकेसमा सस्तै खालका रक्सी र फ्रुटी, केही फास्टफुड, चाउचाउ र खैनीका प्याकेट देखिन्थे । 

रामजीले काले पुरुषसँग केही कुरा गरे । अनि पुनः अघिजस्तै लुइसलाई देखाए । काउन्टरकी अधबैँसे महिला उठेर हामीलाई पछाडिपट्टिको ढोकाबाट भित्र लगी । 
बाटोमा अलिकति दूरी थियो । त्यसैबेला रामजीले हामीलाई बताए । पहिले ऊ पनि यौनकर्मी थिई रे । त्यो पुरुष उसको ग्राहक । पछि यिनीहरूले बिहे गरेछन् । अनि होटलजस्तो खोलेर व्यवसाय नै गरेर बसेका रहेछन् । 

हामी भित्र पस्यौँ । चोकजस्तो कोठा । तर कतै पनि न त कुनै टेबल कुर्सी सजाइएका, न त खानाको अर्डर लिस्ट । न त वेटर, न त कुक नै । भुइँभरि झिँगा भन्किरहेका । खासमा त्यो त होटलजस्तो नि थिएन । म छक्क परेँ देखेर । 

त्यही चोकजस्तो कोठाबाट जान मिल्ने तीनवटा कोठाहरू थिए । सबै कोठाको ढोकामा मैलो पर्दा झुन्डिएका थिए । सामुन्नेमा ढोका पनि खुल्लै र पर्दा पनि नझुन्ड्याएको भान्साकोठा थियोे । त्यही कोठाको एक छेउमा एउटा गोलो टेबल र तीनवटा खाली कुर्सी थिए । हामी त्यहीँ गएर बस्यौँ ।

कोठाका पर्दा उचाल्दै पालैपालो केही महिलाहरू हामीलाई चियाउँथे । कौतुहल बोकेर कोही बाहिर भित्र पनि गर्थे । जबर्जस्ती मुस्कुराउन खोज्थे । 

सबै आआफ्नै स्टाइलमा सजिएका थिए । जबर्जस्ती राम्रो पार्न लगाएका परिधान असुहाउँदो लाग्थ्यो । पहिरनबाट नै उनीहरूको स्तर मापन हुन्थ्यो । 
रामजीले आँखाको इसारा गरे– यी सबै यौनकर्मी हुन् भनेर । लुइस र मैले बुझिसकेका थियौँ उनको आँखाको भाका । 

पैसा तिरेर रात र साथ बिताउने यौनकर्मीहरू त साँच्चिकै परीजस्ता हुन्छन् होला भन्ने जुन सम्भाव्य अनुमान् र परिकल्पना ममा थियो, मेरो त्यो भ्रम चकनाचुर भयो । 

“हरे शिव ! यस्तैसँग रमाएर सन्तुष्ट हुन घरकी स्वास्नीलाई उपेक्षा गरेर आउँछन् है पुरुषहरू ? त्यो पनि पैसा तिरी तिरी । कठै ! यी महिला हैन, ती पुरुषहरूप्रति मलाई टिठ लाग्यो । 

अघि बाटो देखाउने अधबैँसे आइमाईले तीनवटीलाई नै लिएर हाम्रो सामुन्ने आई । ऊ बाहिर निस्केपछि लुइसले पालैपालो उनीहरूलाई आफ्नो कुरा सोधी । मैले उनीहरूले भनेका कुराहरू सुनाइरहेँ अङ्ग्रेजीमा । उसले साना खिरिला पेन्सिलजस्ता औँलाहरूमा च्यापेको डट्पेनले आफ्नो डायरीमा उतारिरही उनीहरूलाई शब्द चित्रमार्फत् ।

ती सबैका आँखामा बाध्यता र निरिहता छचल्किएको थियो । मुहारमा कुनै कान्ति र आभा थिएन । न त कुनै खुसी र तेज नै । ओइलिएको फूलमा पानी छम्केर जबर्जस्ती ताजा बनाउन खोजेजस्तो देखिन्थे उनीहरू सस्ता शृङ्गारले ।

मैले केही साहस बटुलेर एउटीलाई सोधेँ, “तपाईं किन यहाँ यस्तो काम गर्न आउनुभएको दिदी ?”

“रहरले त को नै आउला र यस्तो नरकमा बहिनी । बाध्यताले आउनु परेको हो मलाई त । एकछिन रोकिएर भनी, मेरो लोग्नेले जहिल्यै रक्सी खाएर आउँछ र कुट्छ मलाई । पैसा कमाएर ले भन्छ । घरमा भएका हाँडाभाँडा चिन्डा सबै बेचेर सकायो । छोराछोरी नभएको भए त यस्तो भँडुवालाई रुँगेर को पो बस्थ्यो होला र । तिनैले गर्दा यो काम गर्नुपरेको छ ।”

“अरू नै कतै कुनै इज्जतको काम गर्नु भएको भए पनि त हुने नि,” विकल्प देखाउन खोजेँ । 
“गरेको त । अब जागिर खान पढेलेखेको छैन । पहिले त जङ्गलबाट दाउरा काटेर बेचेर छोराछोरी पालेँ । बनिबुतो मजदुरी गरेर पनि गुजारा चलाएँ । तर पछि सामुदायिक वन भएपछि दाउरा काट्न पाइएन । बनिबुतो गर्ने खेतबारीमा पनि सिमेन्टको घर मात्रै फल्न थाले । अनि बाध्य भएर यहाँनेर वेटरको काम गर्छु ।” 
उसले पारदर्शी पर्दा लगाई । निरिहताको पराकाष्ठा मैले थाहा पाएपछि यहाँभन्दा अन्य सोध्न चाहिनँ । जति बेच्दा पनि नसकिने महिलाको त्यो मासुको ‘भाँडो’ सम्झेर हुरुक्क भयो मलाई । मुटुको कुना कुना चरचरी भयो ।

वातावरण उच्चाट्लाग्दो थियो । ती तिनैजनाको आँखामा एउटा अनिश्चित पर्खाइ थियो । भित्र अनेकौँ बाध्यताले पिलिए पनि ओठमा जबर्जस्तीको बनावटी मुस्कान देखेर नरमाइलो लाग्यो मलाई । 

भान्सा कोठा उदाङ्गो थियो । त्यहाँ एउटा मान्छे काँचो मासु काटिरहेको थियो । घरिघरि ती महिलाहरू पालैपालो गएर त्यो मासु काट्नेलाई हेर्दै केही भन्दै थिए जिस्क्याउँथे । 

मलाई लाग्यो, त्यो काँचो मासु र ती महिलाहरू एकअर्काका पर्यायवाची हुन् । दुवै कुनै अदृश्य र अनिश्चित पाहुनाको (ग्राहक) लागि तयारी पारिरहेका र परिरहेका छन् । फरक यत्ति मात्रै हो कि, त्यो मरेको काँचो मासु साँधिएर, भुटिएर, प्लेटमा सजिएर, कसैको मीठो स्वाद पूरा गर्ने सौभाग्य पाउँछ । यी जिउँदा सिङ्गो काँचो मासुहरू आफू सयौँ टुक्रामा विभाजन भइसक्दा पनि पुनः जस्ताको तस्तै सिङ्गै पस्कन्छन् आफैँलाई । र, पाहुनाको स्वाद पूरा गर्छन् । जति लुछे पनि कहिल्यै नसिद्दिने काँचो मासुको थुप्रो । 
मलाई वितृष्णा र घृणा लाग्यो त्यो मासु र हतियारदेखि । त्यो काँचो मासु तिनै महिला र त्यो काट्ने हतियार तिनीहरूकै ग्राहक बनेर आउने लोग्ने मान्छेहरू जस्तै लाग्यो । उफ् ! जताततै काँचो मासुको ऊष्ण गन्ध । म निसास्सिएँ । 

त्यो होटल त सम्पर्कस्थल मात्रै रहेछ । बाहिर बोर्ड मात्रै होटलको । बुढाबुढी होटल मालिक र मध्यस्थकर्ता । ग्राहकसँग कमिसन खाएर उनीहरूले ‘माल’ मिलाइ दिँदा रैछन् । मासु र रक्सी खाएर बार्गेनिङमा मोल मिलेपछि अन्य होटल र लजमा कोठा बुक गरेर मात्रै लिएर जाँदा रहेछन् ग्राहकले । कोहीले त्यहीँ भएका कोठा पनि उपयोग गर्दा रहेछन् ।

चिट्ठाजस्तो पर्दाे रहेछन् महिलाको भागमा ग्राहक पनि । कतिबेला को आउने हो र रोजाइमा को पर्ने हो थाहै नहुने । पछि रामजीले बताए यो सबै ।

 काँचो मासुको घिनलाग्दो व्यापार सुनेर झन् हुँडल्यो मेरो मन । लुइसले कसरी अनुभूत गरी थाहा भएन ।

त्यहाँबाट निस्केर बसपार्कको सस्तो होटलमा रिक्सा रोके रामजीले । केही बोतलहरू र्याकमा राखेको, टेबलमा अलिकति उसिनेको थुक्पा, गोडा चारेक अन्डा, केही पाउरोटीको पोका, बिस्कुट, चाउचाउ थिए । स्टोभमाथि उम्लिरहेको चियालाई छान्नेले नै चलाउँदै थिइन् एउटी ६०–६५ कि महिला । बाहिर बेन्चमा दुईजना मान्छे बसेका थिए ।
 
रामजी पसलवालीसँग कुरा गर्न थाले । हामीलाई भित्र जान इसारा गरे । मलाई लाग्यो चिया खान पसेका हुन् उनी । मलाई अलिकति रिस पनि उठ्यो । उनले के यस्तो होटलमा चिया खान ल्याएका होलान् । लुइसलाई राम्रै होटलमा लगेर खुवाइदिएको भए पनि त हुने । नेपालकै बेइज्जत गरे यिनले त भन्ने सोचेँ । 

लुइस र म भित्र पस्यौँ र एउटा टेबुलमा बस्यौँ । हामी पछिल्तिर बाँसको भाटामा लिऊन लगाएको बारेको कोठा थियो । ढोका थिएन, मैलो पर्दा झुन्ड्याएको थियो । क्याबिन बनाएको होला सायद । 

“चिया अडर गर्न निकैबेर लगाए त रामजीले,” सोच्दैथेँ म । रातो हाफ भेस्ट र चेक फ्रक लगाएकी १३–१४ वर्षकी जस्तो लाग्ने लुरी, गोरी, च्याउँसी परेकी एउटी फुच्ची केटीलाई लिएर एक्कासी भित्र पसे रामजी । 
“ल यिनलाई पनि सोध्नु,” उनले हामीलाई हेर्दै भने ।
म र लुइसले मुखामुख गर्यौँ । हाम्रो अविश्वासलाई आँखीभौँ उचाल्दै उसले भनी, “सी इज अल्सो ?”
मैले सकारात्मक रूपमा टाउको हल्लाउँदै भनेँ “मे बी ।” 

लुइस र म दुवैलाई पत्याउन गाह्रो भो । “यस्ती फुच्ची पनि देहकर्मी ? अनि यस्तो पसलमा पनि देह व्यापार ?”

चियावाली महिला पनि मध्यस्थकर्ता रहिछन् । कमिसन खाएर ग्राहक मिलाउने अनि कतै सस्तो होटलको कोठा या त आफ्नै पसलको भित्रपट्टि ठाउँ मिलाइदिने रैछिन् । खुसुक्क भने रामजीले मलाई ।

निकैबेर मैले फुच्ची केटीलाई क्वारक्वार्ती हेरिरहेँ । उसलाई देख्दा आफ्नै छोरीजस्तो लाग्यो, यथार्थमा म अविवाहित नै भए पनि । मैले उसलाई छोरीमा रूपान्तरण गर्दा किन किन जिउ ढक्क फुल्यो । ठूलो अपराध बोध भयो । मेरी छोरी त्यस्तो कार्य गर्छे भनेर सोच्दा । 

म त्यस्तो कहालीलाग्दो भवरमा फसेकी छैन भनेर उसलाई चोखी देखाउन चाहन्थेँ । त्यसैले स्पष्टीकरण दिन खोज्छु मनलाई । तर बिडम्बना ! म सत्यलाई झूटोमा परिणत गर्न सक्दिनथेँ । आखिर ऊ पनि अघिकै मासुजस्तै धेरैलाई धेरै टुक्रामा धेरै पटक भाग लागिसकेकी काँचो मासु नै त थिई । पकाउनका लागि खुकुरीले टुक्राटुक्रा पारेको मासुजस्तै धेरै लोग्नेमान्छेले पटकपटक लुछे पनि सिङ्गो देखिने मासुको थुप्रो थिई ऊ पनि ।

वर्ग, स्तर र उमेर अनुसारका यौनकर्मीहरूलाई सम्पर्क गराए रामजीले ।

लुइसले कसैको व्यक्तिगत जीवनका केही पनि प्रश्न नसोध्ने प्रतिबद्धता हामीलाई गरेकी थिई र अहिलेसम्म इमानदारीपूर्वक पूरा गरेकी थिई त्यो वचनलाई ।

अन्यलाई जस्तै फुच्ची केटीलाई पनि उस्तै प्रश्न सोधी उसले । तर फुच्ची देख्दा उसलाई पनि स्वीकार गर्न असहज भएको लाग्थ्यो, उसको अनुहारका भावहरूमा ।
अन्यलाई जस्तै उसलाई पनि डाक्टरी प्रश्न नै सोधी उसले– त्यसबाहेक उसले अरू पनि व्यक्तिगत कुरा सोधी अलिक हार्दिक भएर । 
“तिमीलाई पेट पनि दुख्छ कहिलेकाहीँ ?”
“दुख्छ नि । यहाँनेर कति दुख्छ ।” तल्लो पेट छाम्दै भनी फुच्चीले । 
“जचाँउन गएकी छ्यौ कहिल्यै ?”
“अहँ । कहाँ जचाँउनु थाहै छैन ।”
“अनि दुखेको बेला के गछ्र्याै त ? औषधि खान्छ्यौ ?”
“अहँ खान्न । कहिले नि खाको छैन केही । दुख्छ दुख्छ, अनि आफैँ निको हुन्छ ।”
“महिनावारी नियमित हुन्छ त ?”
“अहँ कहिलेकाहीँ त तीन चार महिना नै हुन्न । अनि साहुनीले केको झोल खुवाउनुहुन्छ अनि रगतको पोखरो जम्छ । पेट सबै झरेर जान्छ । कति दिनसम्म त उठ्न नै सक्दिनँ । कति पटक त बेहोस नै हुन्छु ।” कारुणिक भावमा भनी ।
“के भएर महिनावारी रोकिएको हो थाहा छ त ?”
मैले सोधेँ । 
“अहँ ! छैन । के भएर रोकिन्छ मिस ?” बाल सुलभता देखियो उसको प्रश्न र अनुहारमा ।
“कन्डम प्रयोग गर्छन् कि गर्दैनन् ग्राहकहरू ? 
केटीले नबुझेर ट्वाल्ल हेरिरही । 
केटी धेरै सोझी र सरल थिई । उसको ओठमा न त बनावटी मुस्कान थियो, न त अनुहारमा कृत्रिम शृङ्गार नै ।
अरू होटलको जस्तो उसले कसैको उपभोगको लागि आफूलाई तयार पारेर न त राखेकी नै थिई । ऊ जस्ती थिई, त्यस्तै थिई ।

मलाई उसँग बोलुँ बोलुँ लागिरहेको थियो । लुइसले आफ्ना कुरा लगभग सोधिसकेकी थिई ।
मैले उसलाई सोधेँ, “कति वर्षकी भयौ ?”
“१५ लागेँ ।” सहजै भनी ।
“कहिलेदेखि यहाँ यस्तो काम गछ्र्याै त ?”
“दुई वर्ष हुन लाग्यो ।”
“घर कहाँ हो ? घरमा को को छ ?”
“घर झुम्का हो । बाउ र आमा छन् घरमा ।”
“के काम गर्छन् ?”
“आमा अरूको घरमा भाँडा माझ्नुहुन्छ । बुबा त...!”
एकछिन रोकिएर भनी “खाली रक्सी खाएर आमालाई, मलाई कुटेर...।”
“अनि तिमीले चाहिँ किन यस्तो काम गरेकी त ?”
“मन त लाग्दैन नि गर्न । तर साहुनीले यस्तै काम गर्न लगाउँछिन्, मानेन भने कुट्छिन् । पैसा पनि दिन्नन् । पैसा लगेर बाउलाई दिएन भने फेरि बाउले कुट्छन् ।”
“तिमीलाई पहिलो पटक कसले सिकायो यस्तो काम गर्न ?”
“मेरै साहुले ।” एक दिन साहुनी नभएको बेला साहुले कोठामा बोलाए । अनि मलाई समाएर के के गरे । म कराएँ, चिच्याएँ । दुखेर छ्ट्पटिएँ । तर छोड्दै छोडेनन् । म त निसास्सिएर बेहोस भएछु । पछि होसमा आउँदा रगतको आहालमा निथ्रुक्क थिएँ । उठेर खुट्टा टेकेर हिँड्न सकिनँ । पाँच दिनसम्म थला परेर सुतिरहेँ । घरमा म बिरामी भएको खबर पठाएछन् । घुटुक्क थुक निल्दै भनी फुच्चीले ।
“अनि त्यसपछि ?”
“त्यसपछि पनि बेलाबेला साहुले त्यसै गर्थे । पछि पछि त बाहिरका अरू मान्छे पनि ल्याएर त्यसो गर्न लाउन थाले ।” 
केटीले आफूमाथि घटेको घटनाको अमानवीय कुकर्मको हृदयविदारक पीडा बिनासङ्कोच सहज रूपमा सुनाई । उसको कारुणिक कथाले मेरो मन बाउँडिएर आयो ।

फेरि मन नलागी नलागी सोधेँ, “कस्ता खालका मान्छे आउँछन् त त्यस्तो गर्न ?”
“गाडीका ड्राइभर, खलासी आउँछन् धेरैजसो त । यत्रा भुसतिघ्रे, फोहोरी, गन्हाउने हुन्छन् नि ।”
“मन पर्छ त यस्तो काम गर्न ?”
“पर्दैन नि मिस । घिन लाग्छ । दुख्छ । कसैले ममाथि दयामाया गर्दैनन् । कुकुरले काँचो मासुमा झम्टेजस्तो झम्टिन्छन् र जथाभावी लुच्छन् । सासै निस्केला, मुटु फुट्ला जस्तो हुन्छ नि । तर के गर्नु उनीहरूले जे गर भन्यो, त्यो गरेन भने कुट्छन्, भुत्ल्याउँछन् । कतिले त सर्वाङ्ग बनाएर रक्सी खाँदै हेरिरहन्छन् अनि मात्तिएपछि पशुले जस्तै गर्छन् ।” आँखा चिम्लेर उसले त्यो अमानवीय पीडालाई पिई घुटुक्क ।
उसले शब्दहरूद्वारा पुनः एकपटक मेरा सामु आफूलाई नङ्ग्याई सहज रूपमा । मानौँ मैले उसका ग्राहकले भन्दा बढी पैसा दिन्छु यसका लागि ।

लोग्नेमानिसमा कतिसम्म पशुत्व, कतिसम्म कामीपन र पतित हुँदोरहेछ कामवासनाका लागि भन्ने केटीका पीडादायी कारुणिक सत्यकथाले चिसो भएँ म । 
पुरुषहरू पनि मलाई एड्सका भन्दा खतरनाक भाइरस जस्तै लाग्यो ।

अनायास मुखबाट निस्कियो, “हे ईश्वर किन स्वास्नीमान्छेरूपी भाँडोको सृष्टि गरिस् तँैले ?”

वास्तवमा यौन के हो ? किन आवश्यक छ यस बारेमा बुझ्न सक्ने उमेर नै नभई यौनसम्बन्धी गरिने क्रियाकलाप भोगिसकेकी थिई केटीले । बिना जरुरी र चासो नै यौनको मामलामा परिपक्व हुन थालेकी थिई । 

मैले उसको हात सुम्सुम्याउँदै भनेँ, “तिमीलाई यो छोडेर अरू नै कुनै काम गर्न मन लाग्दैन ?”
“लाग्छ नि । तर पाए पो त । न छोड्न पाउनु, न अरू काम पाउनु । पैसा लगेन घरमा भने फेरि बाउले कुटिहाल्छन् ।

“भागेर अन्तै केही काम गर न बरु ।”
“भागेको त हो नि । एक पटक अस्ति एउटा ड्राइभरले बिहे गर्छु भनेर भगाएर लिएर गयो तर उसका त स्वास्नी र चार छोराछोरी पो रैछन् । सबै मिलेर कस्तरी कुटे । त्यहाँबाट भागेर काम खोजेँ तर काम गर्न माग्दा मेरो शरीर नै ताक्ने दाउ सबैको । अनि बाध्य भएर फर्केर यहीँ आएँ ।”
“तिमीलाई एड्स बारेमा थाहा छ ?” सोधेँ ।
“छैन ।” टाउको हल्लाई आवाजसँगै । 
“यस्तो काम गर्दा एड्स सर्छ भन्ने पनि था छैन उसो भए ?”
“छैन ।” उस्तै गरी बोली ऊ ।
मैले एड्सको बारेमा, सर्ने कारण, रोकथामका उपाय र कन्डमको प्रयोग सबै बताएँ । यो सबै सुनेपछि उसले सोधी, “मलाई पनि एड्स सर्न सक्छ त मिस ?”

“सक्छ र त । तर तिमीले आफूलाई सुरक्षित राख्नुपर्छ । यसका लागि तिमीले आफ्ना ग्राहकलाई अनिवार्य रूपमा कन्डम प्रयोग गर्न लाउनुपर्छ ।”
“कहाँ पाउनु नि त्यो मैले ?”
“उनीहरूलाई नै लिएर आऊ भन्ने नि । 
नत्र तिमी भोलि यो अफिसमा आऊ । म तिमीलाई कन्डम दिन्छु पनि र प्रयोग गर्ने तरिका पनि सिकाइदिन्छु,” अफिसको ठेगाना दिँदै भनेँ । 

समय झन्डै गोधुलीको हुँदै थियो । क्षितिज पहेँलो रङ्गमा रङ्गिदै थियो । चराका बथानहरू गुँड फर्किंदै देखिन्थे । हामी उसँग छुट्टियौँ । 

मलाई उसको माया लागिरह्यो । अनि डर पनि । आज उसलाई हामीले अल्मल्याएर राखिरह्यौँ । आज उसले पैसा कमाउन पाइनँ । साहुनीले पनि कुट्ने हो कि ? घरमा बाउले पनि बाँकी न राख्ला ।

रातभरि मैले उसको दिनैपिच्छे मर्ने जीवन सम्झिरहेँ ।

भोलिपल्ट व्यग्रताका साथ म उसको प्रतीक्षा गरिरहेथेँ । दिउँसो ऊ आई । मैले उसलाई एड्स, यौनरोग र कन्डमको बारे परामर्श दिएँ । केही पोस्टर, पर्चा र जानकारी पुस्तिका दिएर पठाएँ । एड्स र यौनरोगबाट सचेत हुने उपाय सिकाएँ । ऊ यति धेरै कुरा जानकारी पाएकोमा खुसी भई ।

लुइस अस्ट्रेलिया फर्की । उसले फुच्ची केटीलगायत अरू पनि धेरै महिलाहरूलाई पनि आफूसँगै आफ्नो डायरीमा लगी ।
फुच्चीप्रति मेरो सम्मोहन नै भइसकेको थियोे । ऊ मेरी छोरीमा रूपान्तरण भइसकेकी थिई । म छिटोभन्दा छिटो उसलाई त्यो पकाएको मासुको आडमा गरिने काँचो मासुको र आलो रगतको दलदलबाट निकाल्न चाहन्थेँ । व्यापारबाट मुक्त गर्न चाहन्थेँ । असाध्ये रोगबाट थलिएर अस्वाभाविक मृत्यु भएको सुन्न चाहन्नथेँ । उसलाई हरेक दिन घरपालुवा ब्वाँसाको लुछाइबाट जोगाउन चाहन्थेँ ।

साहुनीको दुहुनो गाई थिई ऊ । त्यसैले त्यहाँबाट छुटाउन निकै सङ्घर्ष गर्नुपर्यो मैले । त्यो नरकबाट निकालेर उसलाई मैले अफिसमा आफ्नै सहायक बनाएर राख्ने निर्णय गरेँ । ऊ त्यहाँबाट निस्केर आकाशमा स्वतन्त्र रूपमा उन्मुक्त चरीझैँ उड्ने कल्पनाले पुलकित भएँ म ।

खुसीहरू जुन रूपमा र जहिले पनि आउँदा रहेछन् ! खुसीको सीमा र कारण हुन्न रैछ ।
ऊ अत्यन्तै खुसी देखिई । घनघोर वर्षात्पछि बादल फाटेर उदात्त स्निग्ध क्षितिजजस्तै । उसको उदात्त खुसीमा आफूलाई पनि चुर्लुम्म भएको पाएँ मैले ।
ऊ आएको केही दिनपछि उसमा अप्रत्याशित परिवर्तन देखा पर्यो । मैले उसको रगत परीक्षण गरेँ । रिपोर्टमा पोजेटिभ आयो । म जड्वत भएँ । बनावटी मृत्युदेखि त बचाएर ल्याएँ तर अब शाश्वत मृत्युुले मबाट खोसेर लैजानेछ । म लाचार छु । म आफ्नो ज्यान दिएर पनि अब उसलाई बचाउन सक्दिनँ । केवल बाँचुन्जेल उसलाई माया, औषधि, रेखदेख र सहयोगबाहेक ।

उफ ! म ढिलो भएँछु अलिकति उसँग भेटिन । पोहोर नै किन न भेट्टिएकी होला ऊ । लुइस पनि पहिले नै आएकी भए पनि त हुनेथियो नि । 

आफूलाई अन्जानवश असाध्ये रोग लागेको सुनेर आफ्नो सम्भावित मृत्युमा रोई अघाउन्जेल ऊ । मैले उसलाई झुटो सान्त्वना दिइरहेँ । उसको आत्मबल बढाउन हर प्रयत्न गरेँ ।

माया जीवनको आधार हो । झन् अपाङ्ग, अशक्त र रोगी, दुःखी व्यक्तिहरूका लागि त सन्जीवनी हो ।

उसलाई माया र उत्प्रेरणाको खाँचो थियो । स्नेहले मैले उसलाई मेरै घरमा लगेर राखेँ आफैँसँग । उसको आत्मबल बढाउन हर प्रयत्न गरेँ । तर सबैले मेरो विरोध गरे उसलाई राखेकोमा । छरछिमेकी, साथीभाइसँग त बोलचाल आउजाउ नै बन्द पो भयो । मैले कसैको सुनिनँ । किनभने ऊनीहरूभन्दा धेरै बुझेको थिएँ मैले, एचआईभी एड्सको बारेमा ।

आफै पीडित भए पनि अन्य एचआईभी पीडितहरूको प्रेरणा बनी ऊ । एड्स  विरुद्धको अभियानमा जनचेतनामूलक कार्यक्रममा उसको हिम्मत देखेर अरूले पनि साथ दिए ।
ऊ मर्न चाहन्नथी । म पनि उसलाई कहिल्यै गुमाउन चाहन्नथेँ । उसले जीवन नै कति पो बाँचेकी थिई र ? पूरा जिन्दगीको करिब एक चौथाइ भाग मात्रै त हो । उसमा उन्मुक्त बाँच्ने जिजीविषा अथाह थियो । तर मृत्यु र जिजीविषा ठीक विपरीत हुन्छन् । कुनबेला एचआईभीका भाइरसले उसको जिजीविषालाई लोप्पा खुवाइदिने हो र उसको अधुरो जिन्दगीको अन्त्य हुने हो भन्ने त्रासमा थिएँ म सधैँ । लाग्थ्यो, ऊभित्रका सम्पूर्ण भाइरसलाई सोहोरेर एकै ठाउँमा थुपारौँ र पेट्रोल छर्केर दनदन बालिदिऊँ अनि भाइरसमुक्त दीर्घ जीवन बाँच्न दिऊँ उसलाई । तर म विवश थिएँ ।
करिब दस वर्षसम्म उसले सङ्घर्ष गरिरही । उसँगै एचआईभीका भाइरसले पनि सङ्घर्ष गरिरहे ऊभित्र । शरीरमा बिस्तारै एचआईभी भाइरसको साम्राज्य हुँदै गयो । उसको होइन, उसभित्रका भाइरसहरूको नै जित हुँदै थियो । अस्ताउन लागेको घाम जस्तै क्रमशः ऊ गल्दै गई र एक दिन उसले मलाई छोडेर झ्याप्प अस्ताई सधैँ सधैँका लागि । उसले आफूसँगै आफूभित्रका सबै भाइरस लिएर गई । कुनै अदृश्य ठाउँमा गई, जहाँबाट फर्काएर ल्याउन सक्दिनथेँ, होटलबाट ल्याएजस्तै ।

अन्ततः उसको अस्तित्व शून्यमा विलीन भयो । एड्सबाट मृत्यु हुने सङ्ख्यामा अर्काे एउटा थप अङ्क थप गरी उसले ।
उसको प्रतिनिधित्व गर्ने वस्तु अन्य केही रहेन, यस पृथ्वीमा । केवल यो एउटा कथाबाहेक ।

भोजपुर, हाल : काठमाडौं
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप