शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

जङ्गी नेताको राष्ट्रवाद

शनिबार, २५ असार २०७९, ११ : ४७
शनिबार, २५ असार २०७९

अहोरात्र राष्ट्रवादको खाँडो जगाइ नथाक्ने जङ्गी नेताको भान्साघरमा देखेँ, त्यहाँ बङ्गलादेशको गबी खेतमा फलेको बासमती चामलको भात मग्मगाएको छ । हाजीपुरमा फलेको भण्टाको तरुवा तयार छ । मधुवनीको पोखरीमा हुर्किएका सिल्भर माछा तारिएको छ । मुङ्गेरको महँगो मुङको दाल गलाइएको छ । सहर्साको हरियो साग ओल्स्याइएको छ । ऊ सीतामढीमा फलेको लाम्चे खोर्सानी टोक्छ, सुपौलको सुप चपाउँछ । वेगुसरायबाट आएको मीठा–पानले मुख रसिलो बनाउँछ । आङमा शेखपुराको सेन्ट छर्किन्छ । रुघाखोकी लाग्दा दरभङ्गाको दवाई सेवन गर्छ । पटनामा तयार भएको कपडाको पतलुन भिर्छ, बक्सरमा बुनिएको बर्काे ओढ्छ ।

उसको भान्सामा आफ्नो माटोको उत्पादन एकदमै कम पाक्छ । अर्कै मुलुकको उत्पादन बढी भन्दा बढी पाकिरहेको हुन्छ । उसको आङको पहिरनमा पनि दोस्रो राष्ट्रकै उत्पादन हाबी रहेको हुन्छ । तरपनि ऊ जङ्गी राष्ट्रवादको गीत गाएर कहिल्यै थाक्तैन । उत्पादन र उपभोगमा ऊ कहिल्यै राष्ट्रवादी हुने चेष्टा गर्दैन । नारामा राष्ट्रवाद उछाल्छ । भाषणमा चर्काे राष्ट्रवाद ओकल्छ । अनि दोस्रो मुलुकले पैठारी गरेका वस्तुको सुताहा उपभोक्ता भएर राष्ट्रवादको महिमा गान गाउनमा मजा मान्छ । जङ्गी नेता हाम्रो देशीय राजनीतिको एक प्रतिनिधि पात्र मात्र हो । सकल पार्टीका सकल नेतागणले मुुलुकलाई आत्मनिर्भर अर्थतन्त्र बनाउने कुरामा सही ढंगले दिशानिर्देश गर्न नसकेको कुरा आजको यथार्थ हो ।

चर्काे नारामा सीमित राष्ट्रवादले हामीलाई स्वावलम्वी हुने बाटो पनि देखाएन । कुरा चलाउनु भन्दा कोदाली चलाउनु राम्रो हो भन्ने कुरा पनि सिकाएन । आज आफ्नो बारीमा वनमारा झार फुलेको छ । हलो जोत्ने तन्नेरी हातहरु अरबको खाडीमा पुगेर भुपट्ट मरुभूमिमा मरुद्यान झुलाउँदैछन्, अनेकन रंगीन सपना फुलाउँदैछन् । यता भारत, बङ्गलादेश र चीनको चामल कँसुडीमा छड्किँदैछ । जङ्गी नेता भने घोक्रो फुलाइ फुलाइ राष्ट्रवादको भाषण पिलाइरहेछ । 

आज हामीलाई झण्डा बोक्नमात्र सिकाउने राष्ट्रवाद चाहिएको छैन । ज्वानो उमार्न सिकाउने राष्ट्रवाद चाहिएको छ । भित्तामा पर्खालमा जिन्दावाद मूर्दावादका नारा कोर्नमात्र सिकाउने राष्ट्रवाद चाहिएको छैन । आलु उमार्ने राष्ट्रवाद चाहिएको छ । भण्टा फलाउने राष्ट्रवाद चाहिएको छ । राष्ट्रवादका उल्लू नाराले हामीलाई पनि दिन परदिन उल्लू बनाउँदैछ । विकम्मा सिल्ली बनाउँदैछ । परालम्वी पाखण्डी राष्ट्रवादले हामीलाई काम नलाग्ने झल्लू बनाउँदैछ ।

हामीलाई आज फूल रोप्न सिकाउने राष्ट्रवाद चाहिएको छ । किनभने करोडौँ मूल्यको माला विदेशबाट किनेर हामी तिहार मान्छाँै । हामीलाई जनै बाट्न सिकाउने राष्ट्रवाद चाहिएको छ । करोड मूल्यको जनै बनारसबाट तिब्बतबाट ल्याएर जनैपूर्णिमा मान्छाँै । मानौँ हामीसित केही हात धागो बाटेर गाँठो बाँध्ने सीपसमेत छैन । हामीलाई दाँत कोट्याउने सिन्का चिर्ने राष्ट्रवाद चाहिएको छ । नाथे त्यो सिन्काधरी करोडौँ मूल्यको विदेशबाटै आयात गर्छौँ । 

हामीलाई मेवा रोप्न सिकाउने राष्ट्रवाद चाहिएको छ । प्याजको दल उमार्न सिकाउने राष्ट्रवाद चाहिएको छ । हामीलाई कुचो बाट्न सिकाउने राष्ट्रवाद चाहिएको छ । नाप्ने झाडु र कुचोमा समेत हामी आत्मनिर्भर हुन सकेका छैनौँ । अनि के ठूला कुराको फुटानी लाउनू ? बारीका कान्ला÷खरवन र पाखापखेरामा बाबियो र अम्लिसो सुकेर गएको छ । त्यसलाई काटेर कुचो बाट्ने कला छैन, त्यो सीप र जाँगर छैन । अर्कै देशबाट कुचो खरेटो ल्याएर आँगन बढार्छाै, दलान बढार्छौँ । अनि राष्ट्रवादका ठूल्ठूला गफ दिन्छौँ । हाम्रै साबे, बाबियो र अम्लिसो लगेर पराइ मुलुकले कुचा बनाइ पठाउँछ । त्यही कुचा किनेर हामी ठूला मान्छे पल्टिन्छौँ ।

  नुन र सुन हाम्रो मुलुकमा उत्पादन हुन सक्तैन । यो सत्य हो । ती चिज हामीले आयात गरेरै काम चलाउनु पर्छ । तर ऊन र चूनमा त हामी आत्मनिर्भर हुनसक्छौ नि । त्यस दिशामा पनि अभिमुख हुन सकेका छैनौँँ । 

आज खेतीयोग्य जमिन जर्कट बाँझो पल्टिएको छ । देशको उर्वर उनाउ जनशक्ति, श्रमशक्ति विदेशमा छन् । महिनाको  दुई तीन अरबको चामल मात्र बाहिरबाट भित्रिन्छ । चामलै यत्रो मूल्यको भित्रिन्छ भने अन्य चिज कतिको भित्रिएला, त्यसको हिसाबै नगरौँ । दुई दुई बाली धान फल्ने गाउँका खोला खेत दुबो पलाएर चौरी भएका छन् । हामी पूर्णरुपेण परनिर्भर बन्दै गएका छौँ, परालम्वी बन्दै गएका छौँ । हाम्रो जङ्गी नेता भने विना उत्पादनको अन्धराजनीति सिकाइरहेको छ । हामी उत्पादनमा आत्मनिर्भर बन्न  सक्तामात्र हाम्रो राष्ट्रवादको हुङ्कारले काम गर्न सक्तछ । हामी आफ्नै खुट्टामा उभिएर कसैलाई चुनौती दिँदा, कसैलाई लल्कार्दा त्यसले अर्थ राख्तछ । आफू कामचोर सुताहा बनेर खोक्रो नारा फलाकी राख्नुमा कुनै सार छैन ।

जङ्गी नेतालाई खुल्ला मनले भन्न चाहन्छुः आज तिम्रो राष्ट्रवादले जनजनमा दाल छर्न सिकाउनु पर्छ । बोडी रोप्न सिकाउनु पर्छ । मशाल बाल्न धेरै सिकायौ । बाली झुलाउन सिकाउनु पर्छ । गुइँठा तयार पार्न सिकाउनुपर्छ । रिठ्ठा टिप्न सिकाउनुपर्छ । आयातित जीरा कति हाल्नु तरकारीमा, घु¥यानमा अदुवा रोप्न सिकाउनुपर्छ । लसुन उमार्न सिकाउनु पर्छ । सीमापारीको बजारबाट आयातित मुङको महँगो दाल भान्सामा पकाउने होइन, आफ्नै बारीमा उब्जिने गहत र गुन्द्रुक उमाल्न सिकाउनुपर्छ ।

दुई पैसा महँगै होस् आफ्नै बारीमा फलेको जुम्ली स्याउ किन लगाऊ । मुस्ताङ्गी स्याउ काट्न सिकाऊ । लद्दाक र जम्मुको स्याउ काट्न रोक लगाऊ । अनि पो नेपाली स्याउ किसानले डोकाका डोका स्याउ कुहाएर मलखाडीमा फाल्नु पर्दैन । मान्छेले खाने स्याउ भैँसीको खोलेमा हाल्नुपर्दैन ।

कोठेवारीमा साग नरोप्ने तर सूर्ती रोप्ने, गोठमा बोका नपाल्ने तर बाँदर पाल्ने, कुखुरा नपाल्ने, कुकुर पाल्ने, परेवा नपाल्ने तर सुगा र मैना पाल्ने राष्ट्रवादले हामीलाई हरिकङ्गाल बनाएको हो ।  हामीलाई विपन्न हालतमा राख्ने यस्ता वृत्ति प्रवृत्तिलाई छिमल्दै जङ्गी नेता अघि सर्नुपर्दछ  । हामीलाई विपन्न स्थितिमा गिराउने हर कर्महरुबाट आत्मनिर्भरतामुखी सुकर्ममा डो¥याउने बाटो देखाउनु पर्दछ । 

छिमेकी देशका एकादुई मिडियाले हाम्रा जङ्गी नेतालाई कुरीकुरी गरेको देखेँ, पत्रकार हाक्काहाक्की कुर्लिरहेको थियो– हाम्रो उत्पादन खाने अनि हाम्रै विरुद्धमा राष्ट्रवादको खाँडो जगाउने ? ऊ हामी उपर धारे हात उझ्याएर प्रश्न गरिरहेको थियो । उसका कुराले मेरो मन खिस्रिक्क भयो । हो नि त उसले भन्ने ठाउँ भेट्यो । अर्काको देशको उत्पादन खाएर राष्ट्रवादको चर्काे कुरा गर्दा हामीलाई हमेशा छिमेकीहरुले कुरीकुरी गर्दै आएका छन् । आफ्नो मुलुकमा उत्पादन सम्भव नभएका बस्तु त हामीले आयात गर्नैपर्छ । तर जुन चिज हामी आफ्नै देशमा फलाउन फुलाउन सक्छौँ । त्यतिमा पनि हामी आत्मनिर्भर र स्वावलम्वी हुन सकेनाँै । यो चैँ विडम्बनाको विषय हो ।

हाम्रो कपाल काट्दिन, दाह्री बनाइ दिन, नङ काटीदिन छिमेकी देशको लौवा आउँछ र लौवाले मात्र करोडाँै रेमिट्यान्स अर्काे मुलुक भित्र्याउँछ । कपाल खौरिने सीप सिके हुन्थ्यो नि हामीले । कपाल छाट्न र दाह्री काट्न जाने हुन्थ्यो नि । थुतुनु चलाउन आयो तर कैँची चलाउन आएन । कुरा कथुर्ने सीप छ, तर छुरा चलाउने सीप छैन । सिलिढुङ्गामा राखेर छुरा उद्याउने सीप छैन । कुरा उद्याउने सीपमात्र छ हामीसित ।

नेता र पार्टीहरुले आफ्ना कार्यकर्तालाई झोला बोक्न सिकाए, पछुवा पुच्छर बन्न सिकाए । तर उपभोग्य पदार्थ हामी आफैँले उत्पादन गर्नुपर्छ भन्ने कुरा सिकाएनन् । आज देशमा बीस लाख हेक्टर जमिन बाँझो पल्टिएको छु । खनजोत गर्न सिकाएनन् । हुँदाहुँदा सराद गर्न चाहिने जौ, तिल पनि बाहिरैबाट ल्याउन सिकाए । जौ, तिल उमार्ने उर्वर जमिन त हामीसितै छ नि । तर अर्काे देशबाट जौ, तिल ल्याएर पितृ तार्छाैँ । त्यस्ता विकम्मा तारणहार भएका छौँ हामी ।

देशका साठी लाख युवायुवतीलाई यहीँ काम र माम दिने राष्ट्रवाद चाहिएको छ । उनीहरुलाई हातमा रोजगारी र गोजीमा आयआर्जन दिने राष्ट्रवाद चाहिएको छ । देशको उर्वर उत्पादनशील जनशक्ति बाहिर पठाएर उनीहरुको कमाइले अहिले देशको धुकधकी चलिरहेको छ । अर्थात् उनीहरुले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र चलेको छ । उनीहरुको सीप र पसिना अर्कै देश सिँगार्न प्रयोग भैरहेको छ । नेपाली जनका अनमोल पसिना कौडीका दाममा बेच्नु परेको छ ।

आज गाउँमा मान्छे मर्दा घाट पु¥याउने मलामीको अभावमा मुलक तड्पिएको छ । लाश बोक्न पर्याप्त मलामी छैनन् वस्तीमा । छन् त बूढाबूढी असहाय नानीहरु बाँकी छन् । कयौँ गाउँमा लाशहरु बारीका पाटामा गाड्न थालिएको छ, बोक्ने मलामीको अभावमा । बुढेसकालमा बृद्धबृद्धाहरु सन्तानले पठाएको रेमिट्यान्सले चाउचाउ उमालेर छाक टारिरहेछन् । साँझ विहान तातो भात दिने मान्छे छैनन् । कसले धान रोपिदेओस् । कसले खेत जोतिदेओस् । कसले वारीको बाँझो फोरिदेओस् । कसले धान कुटेर चामल निफनी देओस् । कसले मकै पिँधेर सामल छिन्की देओस् । यसरी गाउँका बूढाबूढी तातो भातबाट विमुख बन्दैछन् ।

गाउँ रित्तो हुँदैछ । घर रित्ता बन्दैछन् । गोडा लागेका उनाउ तरुणी तन्नेरीहरु चरी जस्तो भुरुरु उडेर दूरदेश ताकिरहेछन् । यो सबै कुराको कुनै ख्याल छैन जङ्गी नेतालाई । ऊ अहर्निस खोक्रो राष्ट्रवादको गीत गाइरहेको छ । तन्नेरीहरुलाई देशमै टिकाउन, बिकाउन र सीप सिकाउन के गर्नुपर्छ, त्यसको थाहा पत्तो छैन ।

घरघरमा छाता टाल्नपनि उतैको मान्छे आउँछ । ग्यास र कुकरको बिर्काे कस्न पनि उतैको मान्छे आउँछ । ढाकीमा सर्प नचाउने पनि उतैको मान्छे आउँछ । रुवा फड्कार्ने धुनियापनि उतैबाट आउँछ । बुनियाको पाक कला बेच्नपनि उतैको मान्छे आउँछ ।

ओहो ! दिनदिनै अनगिन्ति सीप बोकेका मनुवाहरु सीमाना छिचोलेर  मेरो आँगनमा नृत्य गर्न आउँछन् । हाम्रा गोजीकन्तुरका आना–सुकी दाम झारपोथार पारेर सिमाना पारी नै पु¥याउँछन् । चिच्याएर भन्न मन छ मलाई,– ए ! खड्जङगी नेता महोदयहरु हो ! नाथे छाताको करङ सोझाउने सीप सिकाए हुँदैन आफ्ना कार्यकर्ताहरुलाई । नाथे जेरी पुरी पकाउने कला सिकाए हुँदैन  आफ्ना अनुचरहरुलाई ! साइकलको टायर टाल्न र कुकरको बिर्काे कस्न सिकाए हुँदैन, यहीँका वेकार युवाहरुलाई !

झण्डामात्र बोक्न सिकाउने, खोक्रा नारामात्र सिकाउने, भित्तो कोर्नमात्र सिकाउने, पाखण्डी राष्ट्रवादको अव कुनै काम छैन । आफ्नै उत्पादनको जगमा उभिएको स्वनिर्भर राष्ट्रवाद चाहिएको हामीलाई । अरुको मुङको दालमा उभिएको राष्ट्रवाद होइन, आफ्नै गुन्दु्रकको झोलमा उभिएको राष्ट्रवाद चाहिएको छ हामीलाई । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुण्य कार्की
पुण्य कार्की
लेखकबाट थप