शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतीय प्रधानमन्त्री मोदीले दलाई लामालाई जन्मदिनको शुभकामना दिएकोमा चीन असन्तुष्ट

शुक्रबार, २४ असार २०७९, २२ : २४
शुक्रबार, २४ असार २०७९

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार तिब्बती निर्वासित धर्मगुरु दलाई लामालाई जन्मदिनको शुभकामना दिँदै ट्वीट गरे । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमा लेखेका छन् : ‘आज फोनमा परम पुज्य दलाई लामालाई उहाँको ८७ औं जन्मदिनको शुभकामना दिएँ । हामी उहाँको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दछौं ।’ भारतका प्रधानमन्त्रीले दलाई लामासँग फोन वार्ता गरेको कुरा सार्बजनिक भएपछि चीनले असन्तुष्टि जनाएको छ ।
चीनले भारतलाई के भन्यो ?
भारतीय प्रधानमन्त्री तथा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले दलाई लामालाई दिएको बधाईबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने -‘भारतले १४औं दलाई लामाको चीनविरोधी पृथकतावादी प्रवृत्तिलाई पूर्ण रूपमा स्वीकार गर्नुपर्छ र तिब्बतसँग सम्बन्धित मामिलामा चीनसँग गरिएका प्रतिबद्धताहरू पालना गर्नुपर्छ । ’

उनले अगाडि पनि यस विषयमा बोल्ने क्रममा भने –‘तिब्बतसँग सम्बन्धित मुद्दाहरू प्रयोग गरेर भारतले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु हुँदैन । साथै उसले यस विषयमा सचेत भएर बोल्नुपर्छ र त्यसरी नै कदम चाल्नुपर्छ ।’

चीनको यो टिप्पणीप्रति भारतले पनि प्रतिक्रिया दिएको छ । भारतले आफ्नो जवाफमा दलाई लामालाई भारतमा सम्मानित अतिथिको हैसियत रहेको र उनी भारतमा ठूलो संख्यामा अनुयायी भएका सम्मानित धार्मिक नेता भएको भनेको छ ।

भारतले अरु के भन्यो
भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले यस विवादमा स्पष्टिकरण दिदै भने ,‘ परमपूज्य दलाई लामालाई आफ्नो धार्मिक र आध्यात्मिक गतिविधिको लागि पूर्ण स्वतन्त्रता छ । भारत र विश्वभरका धेरै अनुयायीहरूले दलाई लामाको जन्मदिन मनाउँछन् । प्रधानमन्त्रीले ८७ औं जन्मदिनको अवसरमा दिनुभएको शुभकामनालाई यसै सन्दर्भमा हेर्नुपर्छ ।’

दलाई लामा सन् १९५९ मा तिब्बतबाट भागेर भारत पुगेका थिए । उनी भारत आएदेखि नै हिमाचल प्रदेशको धर्मशालामा रहेको बौद्ध विहारमा बस्दै आएका छन् । 
चीनले दलाई लामालाई पृथकतावादी नेता मान्छ ।

भारतमा दलाई लामाको गतिविधिलाई चीनले निरन्तर अनुगमन गर्ने गर्छ र चीनको विदेश मन्त्रालयले विगतमा पनि दलाई लामासँग जोडिएको विषयमा टिप्पणी गर्दै आएको छ ।
भारत र चीनबीच तनाव नभएको भए दलाई लामाबारे चीनले गरेको टिप्पणीलाई सामान्य मान्ने सकिने विश्लेषकहरु बताउँछन् ।

क्यानडाको युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाका भिजिटिङ प्रोफेसर तथा चीन मामिलाका विज्ञ स्वर्ण सिंह भन्छन् ,‘ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले दिएको प्रतिक्रिया उनीहरुले सधैं भन्दै आएकै कुरा हो । तर वर्तमान समयमा भारत–चीनबीचको समन्वयमा खलल पुगेको छ र यही तनावका कारण भारतको ‘चीन नीति’मा परिवर्तन आएको छ । भारतको पछिल्लो टिप्पणी यसैको निरन्तरता हो ।’
दलाई लामासँग जोडिने विषय चीनका लागि निकै संवेदनशील रहेको छ । यसैले गर्दा चीनले दलाई लामालाई लिएर प्रतिक्रिया दिने गर्छ । 

“भारतले अहिले आफ्नो कूटनीतिमा चीनका संवेदनशील मुद्दाहरूलाई पनि प्रयोग गर्न सक्ने सन्देश दिएको छ । भारतले तिब्बतजस्ता मुद्दाहरू उठाउन नहिचकिचाउने स्पष्ट पारेको छ ,’ स्वर्ण सिंहले भने । 
बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप