शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा ‘नैरोबी फ्लाई’ ! के भन्छन् छालारोग विशेषज्ञ ?

शुक्रबार, २४ असार २०७९, २१ : १३
शुक्रबार, २४ असार २०७९

भारतसँग सीमा जोडिएका झापा लगायत तराईका जिल्लामा केही दिन यता छालासम्बन्धी रोगका बिरामीको संख्या बढ्न थालेको छ । झापास्थित दमक अस्पतालमा दुई दिन यता दैनिक ३०÷३५ जना छालासम्बन्धी समस्या लिएर पुग्ने गरेका छन् ।

कतिपयले ‘नैरोबी फ्लाई’ रोग भनेर चर्चा गरिरहे पनि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसबारे अध्ययन भइरहेको जनाएको छ ।

झापा, इलाम र तराईका केही जिल्लामा छाला सम्बन्धी समस्या लिएर अस्पताल आउने बिरामीको संख्या बढेपछि त्यसबारे अध्ययन सुरु गरिएको इडीसीडी अन्तर्गतको किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहाल बताउँछन् ।

बिर्तामोडकी सम्झना न्यौपानेको घाँटी र हातमा घाउ देखिएको छ । उनले कुनै पनि किराले टोकेको थाहा पाइनन् । राति उनलाई चिलाउने, पोल्ने भयो । बिहान उठ्दा घाउ भएको उनले थाहा पाइन् । शरीरका विभिन्न भागमा घाउ देखिएको भन्दै कयौंले सामाजिक सञ्जालमा पोष्ट गर्न थालेका छन् ।

उता, नेपालसँग सीमाना जोडिएका भारतीय क्षेत्रमा ‘नैरोबी फ्लाई’ले सताएको छ । सिक्किमको मणिपाल इन्स्टिच्युट अफ टेक्नोलोजी कलेजमा १०० जनाभन्दा धेरै विद्यार्थीमा ‘नैरोबी’ नामक किराका कारण छालामा समस्या देखिएको बताइएको छ ।

छालामा घाउ देखिएर अस्पताल पुग्नेहरूको जाँच गर्दा बर्खामा देखिने छाला सम्बन्धी समस्या भएको भन्दै जिल्लाबाट रिपोर्टिङ आएको डा. दाहालले बताए । उनले भने, ‘नैरोबी फ्लाई कै कारण वा अन्य कुनै किराको टोकाइले छाला चिलाउने, पोल्ने, घाउ आउने समस्या आएका भन्नेबारे थाहा पाउन अध्ययन गर्नुपर्छ । तत्काल यही हो भनेर भन्ने अवस्था छैन ।’ 

यस्तै, इडीसीडीका निर्देशक डा. चुमनलाल दासले छालारोग विशेषज्ञहरुबाट परामर्श र छलफल गरेर अगाडि बढ्ने बताए । ‘हिजो इडीसीडीमा किराका कारण छालामा विभिन्न समस्या देखियो भनेर रिपोर्टिङ भएकाले हामी अब छाला रोग विशेषज्ञहरूसँग छलफल र परामर्श गरेर अगाडि बढ्छौँ ।’  

‘नैरोबी फ्लाई’का कारणले छालामा समस्या भए–नभएकोबारे बुझ्न स्थानीयस्तरमा पुगिने डा. दाहालको भनाइ छ । ‘अध्ययन गर्दा जहाँको व्यक्तिले किराका कारण छालामा समस्या आएको बताउनु भएको छ, उहाँहरु बस्ने गाउँमा पुगेर छालामा देखिएको समस्या नैरोबी फ्लाईले हो वा अन्य कारण हो भन्नेबारे हामी अध्ययन गरी जानकारी दिन्छौँ ।’

नैरोबी फ्लाईले टोक्छ ?

वरिष्ठ छाला तथा सौन्दर्य विशेषज्ञ प्रोफेसर डा. धर्मेन्द्र कर्णले नैरोबी फ्लाई अर्थात् किराको टोकाइले छाला चिलाउने, पोल्ने, रातो हुने र घाउ नहुने बताउँछन् । नैरोबी फ्लाई नामक किरा शरीरमा बस्ने बित्तिकै केही पनि नहुने उनको भनाइ छ ।

‘यो एक विषालु एसिड भएको किरा हो,’ उनी भन्छन्, ‘नैरोबी फ्लाईले आफू बसेको ठाउँमा एसिड पनि छाड्दैन तर, घर्षण हुँदा वा देख्ने बित्तिकै समात्न खोज्दा घर्षण भइ विषालु एसिड छाड्छ, जसले गर्दा छालाको माथिल्लो भागमा रातो हुन्छ । यस्तै, कसैलाई चिलाउने, पोल्ने, बिमिरा देखिने गर्छ ।’

प्रायः सबै किराहरु साँझमा र अँध्यारो भएपछि क्रियाशील हुने उल्लेख गर्दै डा. कर्ण भन्छन्, ‘जहाँ बत्ती हुन्छ, त्यहीँ किराहरु झुम्मिन्छन् । जब बत्ती बन्द हुन्छ, त्यसपछि किरा मानिस भएतिर जान्छन् ।’

भारतमा जङ्गल नजिकका बस्तीमा यो रोगको संक्रमण देखिएको उनको भनाइ छ ।

सतर्कता अपनाउन आग्रह

छाला रोग विशेषज्ञ डा कर्णका अनुसार बर्खामा जहाँ हरियो घाँस हुन्छ, त्यहाँ विभिन्न थरीका किरा देखिने गर्छन् । त्यसैले हरियो घाँस भएकोतिर जाँदा सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ ।

नैरोबी फ्लाईले टोक्यो भन्दै विगतका वर्षहरुमा पनि छालाका समस्या लिएर उपचारका लागि बिरामीहरु अस्पताल आउने गरेको उनले सुनाए । उनी भन्छन्, ‘अहिलेमात्रै होइन, नैरोबी फ्लाईका कारण समस्या भयो भन्दै अघिल्ला वर्ष पनि उपचारका लागि आउने गर्थे ।’

किट्जन्य शाखा प्रमुख डा.दाहालले अन्य किट्जन्य सरुवा रोगजस्तो यो नभएको भन्दै नआत्तिन आग्रह गरे । किटजन्य रोगहरु नफैलने उनको अनुमान छ ।  किराका कारण समस्या देखिए पनि क्रमशः आफै निको हुने उनले बताए ।

कसै कसैमा फोका देखिने, रातो हुने, चिलाउने भएमा सामान्य प्रकृतिको देखिएमा एन्टी एलर्जी औषधि, लोसनहरु लगाउन उनको सुझाव छ ।   यसबाट जोगिनका लागि झुल टाँगेर सुत्न, शरीरलाई पुरै ढाक्ने कपडा लगाउन, किराहरु शरीरमा बसिहालेमा हातले नसमातेर रुमालले समातेर फल्न उनले सुझाव दिए ।

यस्तै, किराले एसिड छाडेको भागलाई साबुन पानीले राम्रोसँग सफा गर्न उनको आग्रह छ । धेरै पोल्ने, चिलाउने, घाउ भएमा छाला रोग विशेषज्ञलाई देखाउन पनि उनले सल्लाह दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप