सिन्जो आबे : जापानी ‘जनताका राजकुमार’

जापानका लोकप्रिय नेता सिन्जे आबेको शुक्रबार गोली प्रहारबाट निधन भएको छ । जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबे आम नागरिकका बीचमा निकै लोकप्रिय नेता हुन् ।
दुःखमा जनतालाई नजिकबाट साथ दिने नेताको छवि बनाएका आबेले आफ्नो कार्यकाल बाँकी रहँदै राजीनामा दिएका थिए । आफ्नो अस्वस्थताका कारण पर्याप्त काम गर्न नसकेको भन्दै उनले आफ्नो जिम्मेवारीप्रति इमान्दार हुँदै राजीनामा दिएका थिए । राजनीतिमा प्रत्यक्ष भूमिकामा नदेखिने निर्णय गरेका लिवरल डेमोक्रेटिक पार्टीका नेता आबेले आफ्नो पार्टीलाई विजयी गराउन चुनावी सभामा सम्बोधन गरिरहेका बेला जिन्दगीबाटै विदा लिनु परेको छ ।
आगामी आइतबार हुने माथिल्लो सदनको निर्वाचनका लागि देशको पश्चिमी क्षेत्रमा पर्ने नारा सहरमा चुनावी सभालाई सम्बोधन गरिरहेका बेला अज्ञात व्यक्तिको गोली प्रहारबाट उनको निधन भएको हो । सन् १९५४ मा जन्मेका आबेको ६७ वर्षको उमेरमा निधन भएको हो । उनले सेइकेइ विश्वविद्यालयबाट सन् १९७७ मा स्नातक गरेका थिए । त्यसपछि उनले सन् १९७९ मा जापानकै नेतृत्वदायी स्टील उद्योग ‘कोबे स्टील’मा काम गरेका थिए ।
राजनीतिमा भने उनी सन् १९८२ मा तत्कालिन विदेश मन्त्रीको सहयोगी भएर प्रवेश गरेका थिए । उनी सन् १९९३ देखि निरन्तर नौ पटक सांसद भएका थिए। उनले पार्टीमा सामाजिक मामिला विभागको निर्देशक र महासचिवको जिम्मेवारी निर्वाह गरेका थियो भने सरकारी भूमिकामा मन्त्रिपरिषद्को उप प्रमुख सचिव र प्रमुख सचिव भएर काम गरेका थिए । मन्त्रिपरिषद्मा भने २००५ मा उनले पहिलो पटक सहभागी हुने मौका पाएका थिए ।
उनी पहिलो पटक सन् २००६ मा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । त्यतिबेला उनी जापानकै सबैभन्दा कम उमेरका प्रधानमन्त्री बनेका थिए । अस्वस्थताका कारण त्यो कार्यकाल उनको २००७ सम्म मात्रै रह्यो । आन्द्राको समस्या देखिएपछि उनले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । त्यसपछि निको भएर फेरि राजनीतिमा फर्किएका आबे आफ्नो पार्टीलाई अत्यधिक मतका साथ विजयी गराएपछि सन् २०१२ देखि २०२० सम्म निरन्तर जापानको प्रधानमन्त्री बने । उनले पछिल्लो पटक पनि कार्यकाल बाँकी रहेकै बेला अस्वस्थताका कारण सन् २०२० को अगस्ट २४ मा प्रधानमन्त्री पद स्वेच्छाले त्यागेका थिए । आबेले आफ्ना विश्वास पात्र तथा निकटतम सहयोगी योशिहिदे सुगालाई आफ्नो उत्तराधिकारी बनाएका थिए ।
आफ्नो मौलिक आर्थिक रणनीति र कट्टर राष्ट्रवादी नीतिका कारण उनको छुट्टै पहिचान बनेको थियो । उनको राष्ट्रवादी धारका कारण उनी चीन र दक्षिण कोरियासँग सुमधुर सम्बन्ध कायम गर्न सकेका थिए ।
राजनीतिक विरासत बोकेको परिवारका सदस्य भई जनताका बीचमा लोकप्रिय रहेकाले उनलाई ‘जनताका राजकुमार’को उपमा पनि दिइएको थियो । उनका बुवा शिनतारो आबे जापानको विदेश मन्त्री बनेका थिए भने हजुरबुवा नोबुशुके किशी प्रधानमन्त्री थिए । (विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले गाजाको अस्पतालमा आक्रमण गरेको हमासको दाबी
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनलाइन टिकट सुरु, रिपोर्ट घरबाटै हेर्न सकिने
-
प्रधानमन्त्रीबाट गौरादह नगर अस्पतालको शिलान्यास
-
स्मार्टफोन र कम्प्युटरमा लगाइएको करबाट पछि हटे ट्रम्प
-
प्रभावकारी बन्दै कर्णाली प्रदेश सभाः हिउँदे अधिवेशमै ७ ऐन निर्माण
-
आन्दोलनबारे पुनर्विचार गर्न शिक्षकहरुलाई संसदीय समितिको आग्रह