आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

लेन अनुशासनमा ट्राफिकको कडाइ

शुक्रबार, २४ असार २०७९, ०९ : ००
शुक्रबार, २४ असार २०७९

काठमाडौं राजधानीका सडकमा सवारी चलाउँदा लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले कडाइ गर्न थालेको छ । दुर्घटना नियन्त्रण र ट्राफिक चाप व्यवस्थापनको लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि लेन अनुशासन पालना नगर्ने चालकमाथि कडा निगरानीसँगै कारबाही अघि बढाएको हो । 

ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जिव शर्मा दासले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारवाही गरेको जानकारी दिए । ट्राफिक प्रहरीले लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई पहिलोपटक ५००, दोस्रो पटक   एक हजार र तेस्रो पटकपछि  एक हजार ५०० जरिवाना र एक घण्टा जनचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ । 

चालु आर्थिक वर्षमा १२ हजार ८६८ चालकलाई लेन अनुशासनमा कारवाही गरी जनचेतनामूलक कक्षा दिइसकेको जनाइएको छ । ट्राफिक प्रहरीले सिसीटिभी, ग्रोप्रो क्यामरासमेतबाट लेन अनुशासनको अनुगमन गरी कारवाही गर्दै आएको छ । सिसीटिभीबाट पनि लेन अनुशासन कायम नगरेको भेटिएमा सवारी साधनको नम्बर टिपेर चालकलाई फोन गरी बोलाउने तथा चालककै घरमा चिठी पठाएर जरिवानासमेत गर्ने गरेको छ । लेन अनुशासन पालना नगरी तीव्रगतिमा गुड्ने सवारी साधनका कारण सडक दुर्घटना हुने भएकोले लेनको सही प्रयोग गरेर सवारी साधन सञ्चालन गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप