शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ को नामबारे सर्वदलीय बैठकमा जुटेन सहमति

शुक्रबार, २४ असार २०७९, १९ : ४६
शुक्रबार, २४ असार २०७९

प्रदेशको नामकरणमा सहमति जुटाउन भन्दै शुक्रबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न सकेन । अर्को बैठकमा छलफल गर्ने भन्दै शुक्रबारको बैठक टुङ्गिएको छ । विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमा प्रदेशको नाम टुङ्गो लगाउन भन्दै नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी, राप्रपा, संघीय लिम्बुवान राष्ट्रिय मञ्चको संयुक्त बैठक बसेको थियो ।

एमाले संसदीय दलका नेता भीम आचार्यका अनुसार प्रदेशसभाको यही अधिवेशनबाट नामको टुङ्गो लगाउने सहमति भएको छ । यद्यपि नामका बारेमा भने दलहरुबीच विवाद कायम रहेको उनले बताए । यसका लागि फेरि बैठक बस्ने उनको भनाइ छ । संविधानमा पहिचान र सामर्थ्यका आधारमा नामको विषय टुङ्गो लगाउने भनेको उल्लेख गर्दै उनले पहिचानको ५ आधार भनेको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक र जातीय पहिचान हुनसक्ने बताए । त्यसमध्ये एमालेले जातीय पहिचान झल्कने खालको नाम हुन नहुनेमा जोड दिएको उनको भनाइ छ ।

‘हामीले जातीय पहिचानमा होइन, साझा पहिचान झल्कने गरी जानुपर्छ भन्ने कुरा राख्यौं,’ बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आचार्यले भने, ‘साझा पहिचान एमालेको मूल एजेण्डा हो । सबैको साझा के हुन्छ, त्यो तपाईहरुले विश्लेषण गर्ने कुरा हो ।’ उनले साझा पहिचान भनेको कोशी पनि हुनसक्ने संकेत गरे । ‘साझा पहिचान भनेको कोशी हुन्छ कि अरु कुनै निस्कन्छ, त्यतातिर जान सक्छ,’ उनले भने ।

यता, प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जसपा संसदीय दलका नेता जयराम यादवले सबै विकल्पमा छलफलमा जान दलहरु सहमत भएको बताए । ‘आजको बैठक प्रारम्भिक हो,’ यादवले भने, ‘ठोस ढङ्गले कुनै पनि राजनीतिक दलले यही नाम भनेर एउटा नाम ल्याएका छैनन्, अहिले त्यसरी ल्याउँदा सहमति पनि हुँदैन, त्यसकारण सबैको साझा हुने गरी टुङ्ग्याउने सहमति भएको छ ।’ नेकपा एमालेले प्रदेशको नाम ‘कोशी’ राख्न जोड गरिरहेको छ । अनौपचारिक छलफलमा पनि एमालेले कोशीको विकल्प सोच्न नसकिने बताउँदै आएको छ । आजको बैठकमा सत्ता पक्षका माओवादी र नेकपा एकीकृत समाजवादीले भने पहिचानको विषय जोडेर कोशी–किराँतमा जानुपर्ने धारणा राखेका थिए ।

बैठकमा मुख्यमन्त्री राजेन्द्रकुमार राई, नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइराला र प्रमुख सचेतक सूयर्माराज राई, नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री भीम आचार्य र हिक्मत कार्की, नेकपा माओवादी केन्द्र दलका नेता ईन्द्रबहादुर आङ्बो, जसपा संसदीय दलका नेता जयराम यादव, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णुमाया तुम्बाहाम्फे सहभागी थिए । प्रदेशको नामबारे कोशी, सगरमाथा, किराँत, विराट, विजयपुर, कञ्चनजङ्घा लगायतमाथि चर्चा भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप