शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

गणपुरक संख्या नपुग्दा मधेस प्रदेशसभा बैठक प्रभावित

शुक्रबार, २४ असार २०७९, १८ : ४३
शुक्रबार, २४ असार २०७९

गणपुरक संख्या नपुग्दा दुई दिनदेखि मधेस प्रदेशसभा बैठक प्रभावित हुँदै आएको छ । शुक्रबार बोलाइएको प्रदेशसभा बैठक गणपुरक संख्या नपुगेपछि आधा घण्टाका लागि स्थगित गरिएको थियो ।

सभामुख सरोजकुमार यादवले प्रदेशसभाको कार्य प्रारम्भ गर्दा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रमुख सचेतक परमेश्वर साहले गणपुरक संख्या उपस्थित नरहेकाले बैठक स्थगित गर्न आग्रह गरेका थिए । बैठकमा २१ जना सांसदमात्र उपस्थित थिए । लगत्तै सभामुख यादवले बैठक आधा घण्टाका लागि स्थगित गरे ।

प्रदेश सरकारले असार १ गते बजेट ल्याएपछि स्थगित भएको प्रदेशसभा बैठक २० गतेदेखि सुरु भएको हो । प्रदेशसभा बैठकमा बजेटमाथि छलफल चलिरहँदा सांसदहरु उपस्थित नभएपछि बैठक अवरुद्ध हुँदै आएको छ । प्रदेशसभामा हाल १०१ जना सांसद रहेकोमा त्यसको एक चौथाई अर्थात् कम्तीमा २६ जना सांसदको उपस्थितिमा मात्र बैठकको कारवाही सञ्चालन हुन सक्छ । बैठकको कोरम नै नपुगेपछि दुई दिनदेखि बैठक प्रभावित हुँदै आएको छ ।

यसअघि बिहीबार बसेको प्रदेशसभा बैठक करिब डेढ घण्टा चलेर स्थगित भएको थियो । प्रदेशसभा बैठक करिब डेढ घण्टासम्म चलिसकेपछि लोसपा नेपालका प्रदेश सांसद उपेन्द्र महतोले गणपूरक संख्या नभएको भन्दै बैठक स्थगित गर्न आग्रह गरेका थिए । त्यसपछि सभामुख यादवले बैठक स्थगित गरेका थिए । अधिकांश प्रदेशसभा सदस्यहरु प्रदेशको संसदीय कोषबाट पाउने गरेको रकमको खर्च भुक्तानीका लागि विकास निर्माणको कार्यमा व्यस्त रहेका कारण बैठकमा अनुपस्थित हुने गरेको एक सांसदको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप