विराटनगर महानगरको पूर्व उपप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाको पूर्व उपप्रमुखसहित ९ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । विराटनगर महानगरपालिका– १५ स्थित रानी हेल्थपोष्ट नजिकैको पोखरीमा पार्क (सिँढी) निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धानपछि आयोगले भ्रष्टाचार ठहर गर्दै मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार विराटनगर महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, सहरी विकास महाशाखा प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन्जिनियर पुष्पक प्रधान र सव–इन्जिनियर मो. इफतेखार आलमले पोखरीमा पार्क निर्माण कार्यमा उपभोक्ता समितिबाट वास्तविक रुपमा भए गरेको कार्यभन्दा बढी विवरण नापी किताबमा चढाई अनियमितता गरेको पाइएको हो ।
उनीहरुले उपभोक्ता समितिसँगको सम्झौता अनुसारका निर्धारित सर्त तथा मापदण्ड विपरीत ज्यामीद्वारा गर्नुपर्ने माटो फिलिङ्गको कार्य रोलर मेसिनद्वारा गराई उक्त कार्यलाई ज्यामीद्वारा गरेको भनी गैरकानूनी लाभ प्राप्त गर्ने बदनियतले कार्य सम्पन्न प्रतिवेदन तयार गरी महानगरपालिकामा पेस गरेको, झुट्टा डोरहाजिर, गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी सो कागजातहरु स्वीकृत गरी भुक्तानीसमेत दिएको पाइएको आयोगको भनाइ छ । आयोगले एकदेव अधिकारी, गोपाल पोखरेल, पुष्पक प्रधान र मो. इफतेखार आलमलाई १० लाख ५५ हजार ९७९ रुपैयाँ ४८ पैसा बिगो कायम गरी बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपरको मागदाबी सहित आरोपपत्र दायर गरेको हो ।
पोखरीमा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बलदेव साहु सुडी, सचिव दिनानाथ आचार्य र कोषाध्यक्ष कल्पना घिमिरेले वास्तविक भएको कार्यभन्दा बढी कार्यलाई समेत भए गरेको भनी ज्यामीद्वारा काम गराउने गरी तयार भएको लागत अनुमान अनुसार महानगरपालिकसँग गरेको सम्झौता विपरीत रोलर मेसिनको प्रयोग गरी माटो फिलिङ्गको कार्य सम्पन्न गरेको तर उक्त मेसिनले गरेको कार्यलाई ज्यामीद्वारा गरेको भनी गैरकानूनी लाभ प्राप्त गर्ने बदनियतले झुट्टा डोरहाजिर, झुट्टा नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरेको पाइएको आयोगले जनाएको छ । उनीहरुले ती कागजातहरू नगर कार्यपालिकाको कार्यालयमा पेस गरी भुक्तानीसमेत लिई १० लाख ५५ हजार ९७९ रुपैयाँ ४८ पैसा हानीनोक्सानी गरेको भन्दै आयोगले सो रकमलाई बिगो कायम गरी बिगो बमोजिम जरिवाना र बिगोसमेत जफत हुने मागदाबी गरेको छ ।
यस्तै, विराटनगर महानगरपालिकाका तत्कालीन उपप्रमुख इन्दीरा कार्की र विराटनगर महानगरपालिका– १५ का तत्कालीन वडा अध्यक्ष असलम आलमले माटो फिलिङ्ग गर्ने कार्य ज्यामीद्वारा गर्नुपर्ने गरी लागत अनुमान तयार भई उपभोक्ता समितिसँग सम्झौता भएको कुरामा जानकार रहेको तथा ज्यामीद्वारा गर्नुपर्ने सो कार्य रोलर मेसिन उपलब्ध गराई रोलर मेसिनद्वारा गरेको कुरामा समेत जानकार भएता पनि अनुगमन प्रतिवेदनमा सो कुरा उल्लेख नगरी मेसिनद्वारा गरेको माटो फिलिङ्गको कार्यलाई ज्यामीद्वारा गरेको भनी तयार गरिएको गलत मूल्याङ्‍कनको आधारमा मूल्याङ्कन जाँचपास तथा फरफारखको लागि योजना अनुगमन समितिको बैठक बसी निर्णयसमेत गरेको आयोगले जनाएको छ । उनीहरुले पाँच लाख आठ हजार ६६९ रुपैयाँ ८८ पैसा हानीनोक्सानी गरेको भन्दै आयोगले सोही रकमलाई बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुलउपरको मागदाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण