सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नागरिकता विधेयक फिर्ता लिने सरकारको प्रस्तावमा एमालेको विरोध, संसदमा उठायो प्रश्न

शुक्रबार, २४ असार २०७९, १६ : ३१
शुक्रबार, २४ असार २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रतिनिधि सभामा रहेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ लाई फिर्ता लिने सरकारको प्रस्तावमा आपत्ति जनाएको छ । शुक्रवारको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव पेस गरेका हुन् ।  सो प्रस्तावको विरोध गर्दै नेकपा (एमाले) का सांसद कृष्णभक्त पोखरेलले विधेयक फिर्ता गरेर सरकारले संसदीय प्रणालीलाई नै चुनौती दिएको बताए । उनले विधेयक हुन्छ कि हुँदैन भनेर हात उठाउँदा पारित हुने अवस्थामा रहेको उल्लेख गर्दै अर्को विधेयक शुन्य अवस्थाबाट शुरु गर्दा पारित हुने सुनिश्चितता नरहेको बताए । उनले सरकार जनताको अधिकार सुनिश्चित गर्नमा गम्भिर नभएको बताए । 

उनले भने, ‘केपी ओली सरकारले संसदमा २०७५ साल श्रावण २२ गते जसरी अरु मौलिक हकको कार्यान्वयनको विधेयकहरु ल्यायो त्यसरी नै यसलाई महत्व दिएर विधेयक दर्ता ग¥यो । तर क–कसका कारणले त्यो विधेयक दुई वर्षसम्म समितिमा रह्यो ? आज जनताले त्यो प्रश्न खोजिरहेका छन् । ३४ वटा औपचारिक बैठक, अनेकौँ अनौपचारिक बैठक बसेर भएपनि समितिले मिहेनतपूर्वक संसदमा दर्ता गरेर अबचाहीँ चहर्‍याइरहेको घाउमा मल्हम लाग्छ होला, अब चाहीँ जन्मसिद्धका सन्तानले पनि नागरिकता प्राप्त गर्छ होला, आमाको नामको आधारमा मैले ढुक्कसँग नागरिकता प्राप्त गर्छु होला भनेको बेला यो संसदमा हुन्छ कि हुन्न भनेर पास गरेर जनताको अधिकार सुनिश्चित गर्ने बेलामा अर्को संसदीय प्रणालीमाथि नै चुनौती दिनेगरी संसदले गरेको त्यत्रो मिहिनेतलाई कुनै वास्ता नगरिकन, अहिले फेरि विधेयक ल्याइँदैछ अर्थात् जिरो पोइन्टबाट शुरु गरेपछि यही संसदबाट यो पास हुन्छ भन्ने कुराको कुनै सुनिश्चितता छ ? अर्थात् यो सरकार जनताको अधिकार सुनिश्चितता गर्ने दिशामा कुनै गम्भिर छैन । अहिले यहाँ हुन्छ कि हुन्न ? भनेर हात उठाएर पास भएर भोलिदेखि लागू हुने विधेयक पनि रोक्ने जुन षड्यन्त्र छ, त्यसको हाम्रो पार्टी नेकपा(एमाले) गम्भिर ढंगले आपत्ति जनाउँछ, बिरोध गर्छ । भत्र्सना गर्दछ ।’

उनले नमिलेको विषयलाई यही संसदमा छलफल गर्नुपर्ने बताए । त्यसैगरी नेकपा (एमाले) का सांसद भीम रावलले वर्तमान सरकार काम चलाउ रहेको भन्दै विधेयक फिर्ता लिने प्रस्ताव संवैधानिक, कानूनी, लोकतान्त्रिक प्रक्रिया र संसदीय अभ्यासको प्रतिकुल रहेको बताए । उनले प्रस्ताव फिर्ता लिन गृहमन्त्री खाँणलाई आग्रह गरे ।  नागरिकतालाई राजनीतिक स्वार्थको हतियार नबनाउन पनि आग्रह गरे । 
नेकपा (एमाले) का सांसद शेरबहादुर तामाङले नागरिकता विधेयक संसदबाट फिर्ता लिने प्रस्ताव गर्नुले भ्रूण हत्या भएको टिप्पणी गरे । उनले विद्यमान विधेयकलाई नै पारित गर्नुपर्ने बताउनु भयो । उनले नयाँ नागरिकता विधेयक ल्याउँदा विधेयकको सबै प्रक्रिया पूरा गरी पारित गर्ने समय नै यो संसदसँग नरहने बताए । 
उनले विधेयक फिर्ता नलिन सरकारलाई आग्रह गरे ।  विधेयक फिर्ता लिएर सरकारले संविधानको धारा १० को उल्लंघन गरेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप