शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका बन्यो

शुक्रबार, २४ असार २०७९, २२ : ४५
शुक्रबार, २४ असार २०७९

गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ को मुल आयोजक समितिको पहिलो औपचारिक बैठकले प्रतियोगिताको सञ्चालन निर्देशिका जारी गरेको छ । काठमाडौंमा शुक्रबार बसेको मुल आयोजक समितिको औपचारिक बैठकले प्रतियोगिताको सञ्चालनका लागि निर्देशिका जारी गरेको हो ।

प्रतियोगिता पोखरामा असोज २८ देखि कार्तिक ३ सम्म आयोजना गर्ने तालिका छ । त्यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले लोगो र मस्कट पनि सार्वजनिक गरिसकेको छ । नवौंको मुल आयोजक समितिको अध्यक्षमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र सदस्यमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई तोकिएको छ भने मुल आयोजक समितिमा २७ सदस्य र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव नै समितिको सदस्यसचिवको रुपमा रहने निर्देशिकामा उल्लेख गरिएको छ । 

पहिलो बैठकमा विभिन्न खेल संघका पदाधिकारी र तीन विभागीय टोलीको प्रमुखहरुको पनि उपस्थिती रहेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुदको आवश्यक तयारी अघि बढाउन मुल आयोजक कमिटीको बैठक आह्वानसमेत गरे । कार्यक्रमलाई सम्बोधन गर्दै  मन्त्री गहतराले नवौं राष्ट्रिय खेलकुदका लागि बजेट निकासा भएको र कुनै पनि हालतमा प्रतियोगिता सञ्चालन हुने बताए । 

यसअघि जेठमा हुने भनिएपनि विभिन्न समस्याका कारण प्रतियोगिताको मिति सारिएको थियो । प्रतियोगितामा ३६ खेलमा प्रतिष्पर्धा हुनेछ भने २ वटा खेल प्रदर्शनीको रुपमा आयोजना हुनेछ । बैठकमा मन्त्री गहतराज, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, सातै प्रदेशका खेलकुद सदस्यसचिव, विभागीय टोली, खेल संघका प्रतिनिधिहरुको उपस्थिति रहेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७७ सालमै आयोजना गर्नुपर्ने थियो । तर कोभिडका कारण धकेलिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप