बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डले भनेजस्तै २/४ दिनमा टुंगो लाग्ला माओवादीको पदाधिकारी ?

शुक्रबार, २४ असार २०७९, १४ : १८
शुक्रबार, २४ असार २०७९

‘पदाधिकारी सबै टुंगो लगाइसकेको छु । महासचिव र उपमहासचिवको मोटामोटी प्रस्ताव तयार पारेको छु । म पढ्न सक्छु, प्लिज पढ्न नलगाउनुस् । २–४ दिन दिनुस्, सबैलाई खुसी बनाउने गरी टुंगो लगाउँछु ।’  बिहीबारको केन्द्रीय समिति बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले केन्द्रीय सदस्यलाई आस्वस्त पार्दै पदाधिकारी टुंगो लगाउने विश्वास यसरी दिलाए ।

पार्टी बैठकबाटै पदाधिकारी टुंगो लगाउन केन्द्रीय सदस्यहरुले प्रचण्डलाई दबाब दिएपछि २/४ दिनमै टुंगो लगाउने उनको भनाइ थियो । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको विकल्प नभएको प्रचण्डले प्रष्ट पारेका प्रचण्डले अरु पदाधिकारी टुंगो लगाउन २/४ दिनको समय मागे । यसअघि नै माओवादी केन्द्रको पूर्वस्थायी समितिको बैठकले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउन अध्यक्षलाई नै जिम्मेवारी दिएको थियो । सोहीअनुसार प्रचण्डले स्थायी कमिटी र पोलिटब्युरोमा रहने नेताहरुको टुंगो लगाएपनि पदाधिकारीका भने भाका सारेका हुन् । 

प्रचण्डले मागेको २/४ दिनको समयमा नतिजा आउँछ वा यो विषय थप लम्बिन्छ त्यो भने हर्न बाँकी नै छ । प्रचण्डले पदाधिकारी टुंगो लगाउन मागेको २ दिनको समयलाई आधार मान्दा आगामी आइतबार (२६ गते) सकिने छ । यस्तै चार दिनको भाका मंगलबार सकिन्छ । 

प्रचण्डले राखेको भाका थप केही दिन लम्बिने अवस्था रह्यो भने पनि असार मसान्तभित्र पदाधिकारी टुंग्याउनै पर्छ । तर, यो खाकामा पदाधिकारी टुंगिने विश्वास माओवादीकै नेताहरुलाई छैन । प्रदेश र संघको चुनाव अघि नै पदाधिकारी टुंगो लगाउने सम्भावना न्यून देखिएको सो पार्टीका एक प्रभावशाली नेता बताउँछन् ।   ‘अध्यक्ष कमरेड प्रदेश र संघको चुनाव अघि पदाधिकारी टुंगो लगाउने पक्षमा हुनुहुन्थेन । केन्द्रीय सदस्यहरुले तत्काल टुंगो लगाउनपर्छ भनेर हलबाट दबाब दिए । अध्यक्ष निक्कै प्रेसरमा परेपछि एक दिन बैठक स्थगित गरेर गृह कार्यमा जुट्नुभयो,’ ती नेताले भने,‘पार्टी नेताहरुले पदाधिकारी टुंगो लगाउनैपर्छ भनेपछि प्रेसरमा हुनुहुन्छ । महासचिवमा सहमतिमा मिल्ने अवस्था छैन । महासचिवका दाबेदार जनार्दन शर्मा र वर्षमान पुनले दाबी छोड्नु भएको छैन ।’ महासचिव एउटै हुने भएकाले शर्मा र पुनलाई प्रचण्डलाई मिलाउन समस्या भइरहेको ती नेताले बताए ।

प्रचण्डलाई शर्मा र पुन दुबैको चित्त बुझाएरै लैजानुपर्ने बाध्यता छ । संघ र प्रदेशको चुनाव आउँदै गरेकाले दुबैलाई नमिलाएर त्यसको असर पार्टीलाई पर्छ भन्ने बुझाइमा प्रचण्ड छन् । 
हाल प्रचण्ड शर्मा वा पुनमध्ये एक जनालाई उपमहासचिव वा उपाध्यक्षमा मनाएर एक जनालाई महासचिव बनाउन लागिपरेका छन् । उसो त प्रचण्डले बिहीबारको बैठकमा समेत महासचिव र उपमहासचिवमा व्यवस्थापन गर्न गाह्रो भएको बताएका थिए । 

नेताहरुका अनुसार चुनावबाटै समस्याको हल गर्नुपर्छ भन्नेपक्षमा प्रचण्ड छैनन् । पार्टीभित्र महासचिवमा सर्वसम्मत हुने अवस्था पनि छैन । यस्तो अवस्थामा प्रचण्डले पदाधिकारीको छिनोफानो प्रदेश र संघको चुनावपछि लगाउन सक्ने नेताहरुको आकलन छ ।

तर, पार्टी स्थायी समिति सदस्य गिरिराजमणि पोखरेल पदाधिकारी छिट्टै टुंगो लाग्ने दाबी गर्छन् । ‘अध्यक्ष कमरेडको प्रेसर दबाबलाई हेर्दा उहाँले प्रदेश र संघको चुनाव अघि पदाधिकारी टुंग्याउने अवस्था  देख्छु’ पोखरेलले भने,‘यस्तो अवस्थामा पदाधिकारी सहित सबै पार्टी कमिटीले पूर्णता पाउने सम्भावना छ । त्यसका लागि परिस्थिति बन्दै छ ।’ 

माओवादी विधानमा अध्यक्ष सहित १५ जना पदाधिकारी हुने व्यवस्था छ । जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ६ जना एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ । प्रचण्डले भनेजस्तै २–४ दिनमा माओवादीले पदाधिकारी टुंगो लगाएमा माथिल्ला तहका सबै कमिटीले पूर्णता पाउने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप