पवन कार्कीको बार्गेनिङ बाहेक अखिल क्रान्तिकारीमा कुनै विवाद छैन : उपाध्यक्ष रावल (भिडियो)
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी भित्र यतिबेला भाँडभैलो मच्चिरहेको छ । अध्यक्ष पञ्चा सिंहले संगठनमा विधान विपरित पदाधिकारी चयनदेखि केन्द्रीय समितिमा सदस्य थप लगायतका विषयमा लामो समयदेखि असन्तुष्ट पवन कार्की समूहले समानान्तर कमिटी नै गठन गरेपछि संगठन भित्रको विवाद झनै चुलिएको छ ।
यता विवादका बारेमा संस्थापन पक्षका उपाध्यक्ष केशव रावल भने संगठनभित्र विवाद भन्दापनि केहि अनुसाशनहिन, संगठनको हितविपरीत काम गरेका कामरेडहरूलाई कारवाही गरिएको मात्र दावी गर्छन् । रातोपाटीसँगको कुराकानीमा रावलले भने, ‘नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा समेत हाम्रो संगठन भित्र समस्या छन् कि भनेर छलफल गरेर विवादित विषय केहि पनि छैनन् भनेर निष्कर्ष निकालिसकेको हो ।’ उपाध्यक्ष रावलले पवन कार्की समूहले तयार गरेको समानान्तर कमिटी पनि वास्तविक समानान्तर कमिटी नभएको दावी गरेका छन् । उनले संगठनभित्र रहेको २१ जना भित्रको कार्यालय टिममा, ४१ जनाको पदाधिकारी टिममा र ५१ जनाको आयोगका प्रमुख र उपप्रमुख रहेको टिममा पनि पवन कार्की एक्लै रहेकाले पनि त्यो समानान्तर कमिटी हुन नसक्ने रावलको दावी छ ।
संगठनको विधान संशोधन प्रक्रियासम्म पवन कार्की स्वयं उपस्थित भएको तर, पछिल्लो समय महासचिवको पद प्राप्त नभएपछि पदाधिकारी बैठक आफ्नो लागि मान्य नभएको भन्दै बखेडा झिकेर विवाद निकालेको पनि रावलको आरोप छ । तर, असन्तुष्ट पवन कार्की समूहले भने अखिल क्रान्तिकारी भर्ती केन्द्र बनेको र विधि विधान र प्रक्रिया मिचेर नेतृत्वले बल प्रयोग गरेर एकलौटी काम गरेको आरोप लगाउँदै आएको छ ।
यस प्रसंगमा रावल भन्छन्, ‘हामीले पदाधिकारी निर्माण एउटा विधिमै रहेर बनाएका छौं, हामीले प्रदेशको तत्कालिन सहसंयोजक तहसम्म रहेर पदाधिकारी चयन गरेका हौं । यहाँ मेरो तेरो भन्ने कुरै छैन । कसैलाई राखेर कसैलाई झिकेको होइन, त्यसैले उहाँले यहाँ अन्याय भो भन्नु महासचिवका लागि बार्गेनिङ मात्र हो, त्यसकै लागि यो विवादको कार्ड फाल्नुभएको हो ।’
उपाध्यक्ष रावलले अब पवन कार्कीसहितका साथीहरूले आफ्नो गल्तीको आत्मालोचना गरेर फर्किएमा यो समस्या समाधान हुने अन्यथा संगठन यथावत बाटोमा अघि बढ्ने पनि प्रष्ट पारेका छन् । उनले कार्की सहितका कारवाही गरिएका साथीहरूले आत्मालोचना गरेर संगठनले कारवाही फुकुवा गरिदिने र नयाँ ढंगबाट प्रक्रियामा सामेल गराउने बताएका छन् । हाल संगठनमा रहेका पदाधिकारीमा कुनै किसिमको समस्या नभएको र केहि अनुशासनहीन व्यक्तिलाई कारवाही गरिएकाले त्यसलाई कुनै विवादको विषय भन्न नमिल्ने पनि रावलको दावी छ ।
भिडियो :