शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकार सञ्जयको राजनीति पाटो : किन लड्दैछन् चुनाव ?

शुक्रबार, २४ असार २०७९, १२ : २६
शुक्रबार, २४ असार २०७९

राजनीतिप्रति मेरो रुचि पहिलेदेखिकै हो । अहिले फेरि उम्मेदवार बन्ने घोषणा गरेको छु । मेरो घोषणापछि कतिपयले एकाएक राजनीतिमा किन भनी सोध्न थालेका छन् । जबकि म एकाएक राजनीतिमा आएको होइन । २०७० मा तत्कालीन राप्रपा नेपालबाट संसदीय निर्वाचनको उम्मेदवार बनेको थिएँ, त्यो समय पराजित भएँ । अहिले पनि म उम्मेदवार बन्नुपर्ने नै भयो । अन्य भन्दा अगाडिदेखि तयारी गरौँ भनेर घोषणा पहिल्यै गरेको हो ।

उम्मेदवारी घोषणापछि सबैबाट सकारात्मक प्रतिक्रिया र साथ मिलिरहेको छ । पहिले र अहिलेमा समय धेरै बदलिएको छ । पहिले म प्रति र मेरो एजेन्डाको विपक्षमा रहेका समेत अहिले मसँग सहमति जनाउन थालेका छन् । एजेन्डा ठिक र राम्रा भन्न थालेका छन् । ९ वर्षपछि मेरो एजेन्डा सबैलाई राम्रो र उचित लाग्नु मेरो राजनीतिका लागि सकारात्मक पक्ष हो ।

म सामाजिक व्यक्तित्व भएकोले पनि अहिले आफ्नो अगाडि भएका गलत राजनीतिक माहोलबारे चिन्तन नगरी बस्न सक्दिन । म गायक, कलाकार हो । मैले यस बिषयमा बोल्नु हँुदैन, बोल्यो भने यो पार्टीले कसो भन्ला, उ पार्टीले कसो भन्ला भन्ने चिन्ता पनि छैन । मैले देशका लागि सोचेर उम्मेदवारी दिने निर्णय गरेको हो ।

प्रतिनिधि सभा नै किन ?

प्रतिनिधि सभा सदस्य उठ्ने घोषणालाई धेरैले स्थानीय निर्वाचनमा उम्मेदवार नभएर संसदीयमा किन ? भनेर प्रश्न गरेका छन् । परिर्वतनका लागि केन्द्रीय स्तरमा पुग्नुपर्छ र त्यहाँबाट मात्र सम्भव छ भन्ने बुझाई हो । त्यही भएर स्थानीय निर्वाचनमा मेरो रुचि भएन ।

संसदीय निर्वाचनमा मैले उम्मेदवारका लागि काठमाडौं क्षेत्र नम्बर ६ रोजेको छु । यो क्षेत्रमा अन्य राजनीतिक दलका बलिया उम्मेदवारले पनि अवश्य प्रतिस्पर्धा गर्नेछन् । त्यसैले निर्वाचनमा विजय प्राप्त गर्नु त्यति सहज छैन, त्यो मलाई राम्ररी थाहा छ । तर बक्सिङ रिङ्गमा उत्रिएपछि को बलियो छ भनेर कहिल्यै हेरिँदैन । कसरी जित्ने भन्नेतिर ध्यान दिनुपर्छ । प्रतिद्वन्द्वी जो होस्, जित्ने गरेर अगाडि बढ्नुपर्छ ।

२०७० मा मेरो प्रतिस्पर्धा एमालेबाट योगेश भट्टराई, काँग्रेसबाट भीमसेनदास प्रधान, माओवादीबाट हिमाल शर्मा र अन्य पार्टीबाट केशव स्थापितलगायत थिए । त्यो समय म चौथो पोजिसनमा आए । अहिले सबैलाई पछि पार्दै जित्छु भन्ने मेरो विश्वास हो । ममा जित्ने आत्मविश्वास छ । आत्मविश्वास बलियो भएका मानिसले जहिले पनि जित्छ ।

राप्रपाको राम्रो क्रेज

पछिल्लो समय राप्रपाको क्रेज राम्रो छ । यो समय जित्ने अवस्था देखेर सञ्जय श्रेष्ठ अगाडि आएको भन्नेहरु पनि छन् । म पहिलेदेखि नै राप्रपा हुँ, राप्रपाको अहिले क्रेज भएको कारण भित्रिएको होइन । राप्रपामा देखिएको नेतृत्व परिवर्तनले पनि जनतामा पार्टीप्रति विश्वास बढेको छ । त्यसले नेपाली राजनीतिमा एउटा लहर पैदा गरेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको छवि पनि राम्रो छ । उहाँ अहिले राप्रपाको ब्राण्ड हो । म अहिले चुनावमा लड्नुको बलियो आधार पनि उहाँ हो । म प्रति जनताको विश्वास पनि छ । मेरो जित्ने आधार यही हो । त्यसमा मेरो सांगीतिक छवि र सामाजिक कार्यले अझ मद्दत गर्छ । कतिपय ठुला राजनीतिक पार्टीको नजरमा पर्न पनि उम्मेदवारी घोषणा गर्दछन् । मेरो हकमा त्यो होइन । ठूला दलबाट अफर आयो भनेपनि म राप्रपा छाडेर यताउति चहार्दिन ।

म राजनीति सफा गर्छु

प्रायःले राजनीति फोहोरी खेल भन्ने गरेका छन्, त्यो होइन । यसलाई केही व्यक्तिले फोहोरी बनाएका हुन् । फोहोरी भएपनि त्यो सफा गर्ने हाम्रो दायित्व पनि हो । जसरी ढल सफा गर्न फोहोरभित्र पस्नुपर्छ, त्यस्तै म राजनीति सफा गर्न यसभित्र छिर्न लागेको हो । राजनीति फोहोरी खेल हो भनेर सबै बाहिरबाट कराएर बस्ने हो भने सफलता कहिल्यै हासिल हँुदैन । त्यो भित्रको खराब सफा गर्न हामी जस्ता ब्यक्ति छिर्नुपर्छ ।

हामी जस्ता कलाकार राजनीतिमा आएपछि मानिसको अपेक्षा धेरै हुन्छ । त्यो हिसावले सबै मानिस हामी जस्ताको पक्षमा हुनुपर्छ भन्ने पक्षमा म छैन । मेरो बिषयमा नकारात्मक टीका टिप्पणी पनि होला, त्यता तिर म ध्यान दिन्न । म केही गरेर देखाउन राजनीतिमा लागेको हो ।

कतिपयले उम्मेदवारी चर्चाका लागि भनेका छन् । चर्चाका लागि मैले यस्ता कार्य गर्नै पर्दैन । उम्मेदवारको घोषणाभन्दा त कन्सर्ट र देशविदेशको कार्यक्रमबाट नै ठूलो चर्चा मिल्छ ।

आफ्नो क्षेत्रमा भेटघाट

राजनीतिमा होमिने भएपछि बिना तयारी लाग्ने त कुरो भएन । त्यसैले अहिले मैले आफ्नो क्षेत्रका सबै ब्यक्ति, समुदायसँग भेटघाट बढाएको छु । जो मेरो एजेन्डामा असहमत हुनुहुन्छ, उहाँसँग पनि भेटेर सहमतिको वातावरण बनाउँदैछु ।

आफ्नो क्षेत्रका समस्या के के छन्, विकासका योजना के के आवश्यक छन् । ती सबैको अध्ययन गरिरहेको छु । यी बाहेक शिक्षा, स्वास्थ्य, स्थानीय स्तरमा रोजगारी र विकास त मेरो नारा नै छ ।

प्रतिनिधि सभा देशका लागि कानुन बनाउने ठाउँ हो । देशको हितका लागि भ्रष्टाचारी, हत्यारा र बलात्कारी लगायत अपराधीका लागि उन्मुक्ति नमिल्ने खालको कानुन आवश्यक छ । त्यो बिषयमा मेरो जोड रहनेछ । खराब व्यक्तिले अवसरको पुनः फाइदा उठाएर समाजमा अपराध घटाउन सक्छ । अहिले दैनिक समाचारमा हत्या र बलात्कारको घटना सुन्न सकिन्छ । त्यो किनभने दुई चार वर्ष जेल बसेपछि निस्किन पाइन्छ भनेर हो । आफ्नो जीवन सकिने डर हुन्छ भने अपराध कसैले गर्दैन ।

हत्यारा, बलात्कारीलगायत अपराधीलाई राज्यको पैसाले २० बर्षसम्म जेलमा पाल्ने किन ? । त्यस्ता देशका लागि हानिकारक व्यक्तिलाई राज्यले खुवाएर पाल्नु भन्दा उनीहरु खराब हो भन्ने प्रमाणित भएपछि मृत्युदण्ड दिनुपर्ने कानुनी ब्यवस्था गर्नुपर्छ भन्ने मेरो जिकिर छ ।

एकमात्र लक्ष्य जित

मानिसहरु जे जस्तो कामको थालनी गर्दछन्, त्यसमा सफल हुन्छु भन्ने हुन्छ । म पनि संसदीय चुनाव जित्छु भन्ने आत्मविश्वासका साथ अगाडि आएको हो । गीत संगीतमा जति माया पाएको छु । राजनीतिमा पनि त्यो भन्दा धेरै माया पाउँछु भन्ने विश्वास छ । गीत संगीतबाट गर्न नसकिएको सेवा राजनीतिबाट गरौं भनेर चुनावमा उम्मेदवार बन्न लागेको हो ।

हुन त म एक्लैले परिवर्तन सम्भव छैन । मेरो पार्टीबाट म जस्तै अन्य उम्मेदवार समेत जित्नेछन् । आवाज उठाउन एक जनाको ‘भ्वाइस’ पनि काफी हुन्छ । कुनै हलमा ताली बजाउँदा पहिले एउटाले सुरु गर्छ, त्यसपछि सबैले ताली बजाउँदा हल गुञ्जायमान हुने हो । मेरो एउटा आवाज सयौँको आवाज जोडिन्छ भन्ने मेरो विश्वास हो । राम्रा कुरामा अन्य दलका ब्यक्ति पनि असहमत हुनै सक्दैनन् ।

हुन त सांसद्पछि मन्त्री बन्ने सोच पनि आउला । यो समयले देखाउने कुरो हो । अगाडि बढ्दै जाँदा के भइन्छ, त्यो अहिले भन्न सकिन्न । अहिलेको समय भनेको मेरो उदेश्य, लक्ष्य प्रतिनिधिसभा चुनाव जित्नु हो ।

गायन छोड्दिन

गायन मेरो पेसा हो, प्रेम हो । म अहिले जे छु, त्यो गायनको देन हो । गायनले मलाई देश, विदेशसम्म चिनाएको छ । राजनीतिमा जुन पोजिसनमा भएपनि गायन भने मेरो निरन्तर जारी रहन्छ । राजनीति समाजसेवा र गायन पेसाकै रुपमा अगाडि बढ्छ । त्यही सोच र उद्देश्यले म राजनीतिमा होमिएको हो ।

मेरो उम्मेदवार घोषणा समयदेखि सबैबाट जुन माया पाएको छु, आगामी चुनावमा पनि त्यही माया प्रेमको अपेक्षा गरेको छु । म आफ्ना लागि चुनावमा भोट दिनु भन्नु पर्दा पनि कसलाई भोट दिँदैछु भनेर दश चोटी सोच्नुहोला भन्छु । हामी अझै पनि भेंडा हुने कि अगाडि जाने विचार गर्नुहोला । कार्यकर्ता, आफन्त भन्दा पनि देश ठूलो हो भन्ने सोचेर चेतनाका साथ भोट दिनुहोला भन्ने सबैमा अनुरोध छ ।

गायक श्रेष्ठसँग कुबेर गिरीले गरेको कुराकानीमा आधारित

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप