सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

माओवादीले अन्तर्घात गर्नेको रिपोर्ट १५ दिनभित्र तयार गरी कारवाही गर्ने

शुक्रबार, २४ असार २०७९, ११ : ५४
शुक्रबार, २४ असार २०७९

नेकपा माओवादी केन्द्रले स्थानीय तह चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गर्न कमिटी गठन गर्ने भएको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकबाट अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा समिति बनाएर अन्तर्घात गर्नेलाई कारवाही गर्ने तयारी गरेको हो ।

गत वैशाख ३० गते भएको स्थानीय चुनावमा अन्तर्घात गरेर पार्टीका उम्मेदवारलाई हराउन नेतालाई कारवाही गर्न कमिटी बनाएको स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए ।  ‘स्थानीय चुनावमा माओवादीमा धेरै उम्मेदवारमाथि अन्तर्घात भएको सूचना आएको छ । त्यसैले छानविन गर्न टंकजीको नेतृत्वमा ५ सदस्य कमिटी बनाउनेछौ त्यसमा स्थायी समिति सदस्यबाटै पर्नुहुन्छ’ रातोपाटीसँग कुरा गर्दै पोखरेलले भने, ‘कमिटीले १५ दिन लगाएर छानविन गरेर रिपोर्ट बुझाउने छ । यदि पार्टीका उम्मेदवार हराउन कुनै नेताको संलग्नता भएको पुष्टी भएमा कारवाही हुन्छ ।’ पार्टीका उम्मेदवार हराउने नेताको पुष्टि भए पार्टीबाट समेत निष्कासन गरिने पोखरेलले बताए ।

‘पार्टीको टिकट पाउनुभन्दा अघि विरोध गर्ने असहमति राख्ने स्वभाविकै हो । त्यतिबेलासम्म अन्तसंघर्ष हुने ठुलो कुरा भएन’ पोखरेलले भने, ‘तर, पार्टीले टिकट दिई आधिकारिक उम्मेदवार उठाएमा त्यसमा सम्पूर्ण पार्टी पंक्ति नेता एकतावद्ध भई प्रचारमा जानुपर्छ । त्यसमा कुनै नेता दायाँबायाँ गर्न मिल्दैन । पार्टीको उम्मेदवार हराउन पाइँदैन यदि त्यस्ता व्यक्तिले अन्तर्घात गरेको पुष्टी भए कारवाही हुन्छ ।’ पार्टीका उम्मेदवार हराउने पार्टी विरोधी प्रवृत्ति भएकाले त्यसका विरुद्ध निर्मम रुपमा कारवाही हुनुपर्ने पोखरेलले बताए ।

तर, अर्का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले स्थानीय चुनावमा कस्तो कस्तो प्रकृतिको अन्तर्घात गरेकालाई कारवाही सिफारिस गर्ने भन्ने बैठक बसेर मापदण्ड बनाइने बताए । ‘चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गर्न कमिटी बनेको छ । कमिटीमा को को नेताहरु बस्ने टुंगो लगाउँछौ’ पोखरेलले भने, ‘कस्तो कस्तो प्रकृतिको अन्तर्घात गरेकालाई कारवाहीको सिफारिस गर्ने भन्ने विषयमा मापदण्ड बनाउँछौ । त्यसपछि त्यो रिपोर्ट पार्टीलाई बुझाइन्छ ।’ 

अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा पेश भएको प्रतिवेदनमा कतिपय स्थानीय तहमा  पार्टीभित्रको गुटबन्दी, असहयोग एव अन्तर्घातसम्मका गम्भीर कमजोरी र घटनाहरू देखा परेको औंल्याएको छ । पार्टीमा हुने गुटबन्दी, असहयोग र अन्तर्घात जस्ता पार्टी विरोधी गतिविधिहरूको गम्भीर छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । उम्मेदवार हराउने पार्टीमा ठुलो रोग भएको भन्दै प्रचण्डले त्यसका विरुद्ध कठोर हुने बैठकमै प्रतिवद्धता जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप