शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

दुबईमा बसेर मेनपावर सञ्चालन, दुबई पुलिसमा जागिर लगाइदिने भन्दै ठगीधन्दा

शुक्रबार, २४ असार २०७९, २२ : ३२
शुक्रबार, २४ असार २०७९

तनहुँका सूर्यबहादुर अधिकारी र मकवानपुरका राजकुमार मोक्तान जेठ २० गते भिजिट भिसामा दुबई जाँदै थिए । तर, उनीहरु दुवैजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्कनु प-यो किनभने उनीहरुको भिसा र टिकट नै नक्कली परेछ ।

सूर्यबहादुर र राजकुमारलाई यस्तो फन्दामा पार्ने व्यक्ति हुन्, बर्दियाका २६ वर्षीय योगेश परियार । 'योगेशले दुबई पुलिस, रोयल गार्ड, एडी पुलिस लगायतमा जागिर लगाइदिने र महिनाको लाखौं कमाउन सकिने भन्दै नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका भूतपूर्व  व्यक्तिहरुलाई ठग्दो रहेछ', भुक्तभोगी सूर्यबहादुरले रातोपाटीलाई बताए ।

सूर्यबहादुर र राजकुमार दुवै नेपाली सेनाका अवकाश प्राप्त सैनिक हुन् । 'योगेशले दुबई प्रहरीमा जागिर लगाई दिन्छु, मासिक ४ हजार दिनार तलब हुन्छ, त्यसका लागि ५ लाख रूपैयाँ खर्च लाग्छ भन्यो । हामी पनि लोभियौं', सुर्यबहादुरले भने 'साथी राजकुमार र मैले योगेशकी आमा ठगी दमिनीको खातामा ५/५ लाख रुपैयाँ जम्मा गरिदियौं।'

सुर्यबहादुर भन्छन्, ‘योगेशले आमाको खातामा पाँच लाख रुपैयाँ जम्मा गरिदिएपछि टिकट र भिसा आउँछ भन्यो । हामीले पैसा जम्मा गरिदियौँ । हाम्रो टिकट र भिसा पनि आयो, टिकट ३ जुन २०२२ को थियो । तर, भिसा र टिकट नै नक्कली रहेछ, एयरपोर्टबाटै फर्किनु प-यो ।'

योगेश, उनकी पत्नी र आमासमेत यो धन्दामा संलग्न रहेको सूर्यबहादुरको भनाइ छ । उनीहरुले यसरी कयौं नेपालीलाई फसाउँदै आएको तर राज्यले कारवाही गर्न नसकेको सूर्यबहादुरको गुनासो छ ।

उसो त, दुबईमा बसेर नेपालमा प्रतिनिधिमार्फत ठगी गर्ने योगेश परियार एक्ला होइनन् भने सूर्यबहादुर पनि पहिलोपल्ट ठगिएका होइनन् । सूर्यबहादुर 'दुबई प्रहरी'को जागिरको लोभमा पर्दा यसअघि पनि आफू ठगिएको सुनाउँछन् ।

दुबईमा बसेर नेपालमा प्रतिनिधिमार्फत ठगी गर्दै आएका अर्का व्यक्ति हुन्, स्याङ्गजाका सूर्यप्रकाश गिरी । नेपाली सेनामा १७ बर्ष जागिर खाएका सूर्यबहादुर  २०७४ सालमा अवकाश पाएपछि घरमै बसिरहेका थिए ।

गत वर्ष दुबईमा सेक्युरिटी गार्डको लागि उनलाई प्रस्ताव आयो । साथीभाइको सहयोगले उनी दुबईमा मेनपावर व्यवसाय सञ्चालन गर्दै आएका सूर्यप्रकाश गिरीको सम्पर्कमा पुगे । तलब राम्रो पाउने आश्वासनपछि उनी थप आकर्षित भए ।

दुबईमा रहेका गिरीले काठमाडौंमा रहेकी तबिता गुरूङको नाममा बैंकमा पैसा जम्मा गर्न लगाए । सूर्यबहादुरले डेढ लाख रूपैयाँ तबिताको नाममा जम्मा गरिदिए । उनीसँगै एक अर्का व्यक्तिले दुई लाख रुपैयाँ तबिताको नाममा पैसा जम्मा गरिदिए । तर, उनीहरू दुबई जानु त कता हो आफूले दिएको पैसासमेत फिर्ता पाएका छैनन् । पैसा फिर्ता माग्दा गिरीले धम्की दिने गरेको उनीहरुको भनाइ छ ।

सूर्यबहादुरका अनुसार गिरीले उनलाई धम्कीसहित भने, ‘म दुबईमा छु, मलाई कसले के गर्न सक्छ ? तेरो पैसा दिन त दिन्छु, तर अहिले होइन, पाँच वर्षपछि ।’ यतिमात्र नभएर उनले अनावश्यक गाली समेत दिने गरेको सूर्यबहादुरको भनाइ छ ।  उनीमात्र नभएर दिलमाया रानाभाटले पनि तबिता गुरूङको नाममा एक लाख ५० हजार पैसा जम्मा गरिन् । तर, उनी न दुबई जान पाएकी छन् न त उनको पैसा नै फिर्ता दिएको छ ।

भिजिट भिसामा दुबई बोलाएर काम लगाइदिने भन्दै गिरीद्वारा ठगिएकाहरु अहिले सूर्यबहादुरको सम्पर्कमा आएका छन् । उनीहरु सबै जनाले वैदेशिक रोजगार विभागमा गिरीविरुद्ध मुद्दा हाल्ने तयारी गरेका छन् ।​दिपकचन्द्र अधिकारी, गोपी सुनार, कमल कार्की, प्रेमराज सिग्देल, राजकुमार मुक्तान लगायतका १४ जनाबाट उनले यसरी नै लाखौं रुपैयाँ उठाएका थिए ।

कतिपय दुबईमै अलपत्र

गिरीले  भिजिट भिसामा लगेका कतिपय नेपालीलाई दुबईमै अलपत्र परेका छन् । तनहुँका ज्ञानेन्द्र खत्रीका अनुसार भिजिट भिसामा दुबई लगेका धेरै नेपालीलाई गिरीले उतै अलपत्र पारेका हुन् ।

‘उनीहरुलाई न काम दिएको छ, न नेपाल फर्काउँछ । दुबई पुगेकाहरुको बिजोग बनाएको छ,’ खत्रीले भने ।

दुबईमा बसेर गिरीसँगै संगिता भुजेल नाम गरेकी महिला समेत ठगी कार्यमा संलग्न रहेको खत्रीको भनाइ छ । ‘दुवै जना विगत लामो समयदेखि दुबईमा बसेर ठगी गर्दै आएका हुन् । नेपालमा तबिताको नाममा पैसा हाल्न लगाउने अनि भिजिट भिसामा लैजाने भनेर ठगी गरिरहेका छन्,’ खत्रीले भने ।

वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगीको धन्दा बढ्दो

वैदेशिक रोजगारीमा पठाउने बहानामा नेपालमै बसेर ठगी गरेका कतिपय घटना छन् । जुन दिनप्रतिदिन बढ्दो क्रममा छन् । तर, विदेशमा बसेर नेपालमा ठगी गर्नेको संख्या पनि उत्तिकै छ ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार जेठ मसान्तसम्ममा एक हजार १८१ ठगीका उजुरी दर्ता भएका छन् । जसमा ५८ करोड ८३ लाख ३९ हजार ५४८ रुपैयाँ दाबी गरिएको छ । ३०९ उजुरीमा मिलापत्र गरिएको छ भने ७२ मुद्दा अदालतमा दर्ता गरिएको विभागले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय लगायतका प्रहरी ईकाईमा वैदेशिक रोजगारीको सिलसिलामा ठगी भएका तर वैदेशिक रोजगार ठगी गरेको प्रमाणित नभएका उजुरीलाई ठगीको उजुरी अनुसार अनुसन्धान तथा कारवाही भइरहेको विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप