शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतको नयाँ प्रधानमन्त्रीका लागि ९ मन्त्रीको नाम चर्चामा

शुक्रबार, २४ असार २०७९, १० : ४६
शुक्रबार, २४ असार २०७९

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा दिएपछि अब सत्तारुढ कन्जरभेटिभ पार्टीमा नेतृत्वको चयन हुनेछ । नयाँ आउने नेतृत्व नै आगामी प्रधानमन्त्री हुनेछ । पछिल्लो निर्वाचनमा कन्जरभेटिभको बहुमत आएको र त्यस निर्वाचनबाट जितेर आएको सदनको समय नसकिएकाले बाँकी अवधि पनि कन्जरभेटिभ पार्टीकै नेताले सरकार चलाउनेछन् । 
आगामी अक्टोबरसम्ममा कन्जरभेटिभ पार्टीको नयाँ नेतृत्व चुनिनेछन् । अहिले यहाँ सो प्रतिस्पर्धामा उठ्ने सम्भावना रहेका र बलियो सम्भावना भएका नेताको चर्चा गरिएको छ ।  

लिज ट्रस 
जोनसन सरकारमा विदेश मन्त्री रहेकी ट्रस एक पटक चर्चित कन्जरभेटिब नेतृ मार्गेरेट थ्याचरको झल्को दिने फोटोका कारण चर्चामा आइन् ।  इरानको जेलबाट बन्दी रहेकी बिट्रिस नागरिक नजनिन जघारी–¥याट्क्लिफको रिहाई गराउन सफल भएपछि उनको चर्चा एक्कासी चुलियो । 

त्यसबाहेक युक्रेनमाथि रुसी आक्रमणपछि उनको प्रयासले रुसी धनाढ्यहरुमाथि प्रतिबन्ध लगाएर उनले आफू बलियो नेता भएको परिचय दिईन् ।  
कैयौं नयाँ सांसद उनलाई ‘असाधारण’ नेतृ मान्छन् तर उनलाई अस्थिर मान्ने सांसदको संख्या पनि त्यतिकै नै रहेको मानिन्छ । यस्तो भन्नेहरु उनमा नीतिप्रति अचम्मलाग्दो व्यग्रता र अनौठो खालको सार्वजनिक मन्तव्य भन्ने शैली रहेको बताउँछन् ।  
विगतमा युरोपेली संघमा रहनु पर्ने विचार राख्ने ट्रस पछिल्लो समय ब्रेक्जिट पक्षमा ढल्किएकी छन् । युरोपेली संघबाट छुट्टिने बेलामा संघसँग भएको नर्दन आयरल्याण्ड प्रोटोकलको केही बुदा उलघंन गरेर उनले युरोपेली संघविरोधी सहकर्मी नेताको विश्वास जितेकी छन् । 

जेरेमी हन्ट 
विदेशमा विदेश मन्त्रालय र स्वास्थ्य मन्त्रालय सम्हालिसकेका हन्ट यस अघिको नेतृत्व चयनको प्रतिस्पर्धामा जोनसनसँग पराजित भएका थिए । यही कारण उनी जोनसनको मन्त्रीमण्डलमा पनि गएनन् । 
धेरै होहल्ला नगरी उनले पृष्ठभूमिमा रहेर वृद्ध राजनेताको भूमिका निभाए । पार्टीभित्रका मझधारका नेता मानिने हन्ट जोनसनको स्वभाव भन्दा उल्टो शान्त देखिन्छन्् । साथै उनको बारे जनतामा ध्रुविकृत विचार देखिदैन ।  

ऋषि सुनाक 
तुलनात्मक न्युन राजनीतिक अनुभवका बावजुद ऋषि सुनाकले अर्थ मन्त्रालय चलाउदाँ आफूलाई सम्भावित उत्तराधिकारीका रुपमा उठाउन सके । तर उनको परिवारको ‘कर प्रकरण’ बाहिरिएपछि उनको लोकप्रियता स्वात्तै घट्न पुग्यो । 
महमारीकालमा सुनाकले कोभिड राहातमार्फत धेरै परिवार र व्यवसायलाई सघाए । त्यस कार्यक्रमले उनले धेरै प्रशंसा बटुले । तर पछिल्लो समय मंहगी वृद्धिविरुद्ध उचित कदम चाल्न नसकेकोमा उनको आलोचना भयो । उनको महंगो जीवनशैलीले पनि उनको राजनीतिक महत्वकाक्षलाई असर गर्ने ठानिन्छ ।
पार्टीभित्र उनलाई समर्थन गर्ने धेरै छन् । तर केहीले भने सुनाक स्वयमलाई भन्दा उनको भित्री वृतले उनलाइ प्रधानमन्त्री बनाउने चाहिरहेको विश्लेषण गर्छन् । अर्थमन्त्रीबाट बाहिरिए पछि उनी क्यालिफोर्नियाको पुरानो जीवनमा फर्किने चर्चा पनि छ । 

नधिम जहावी 
जोनसनको मन्त्रीपरिषदमा शिक्षा मन्त्री नधिम जहावीले यसअघि खोप मन्त्री रहदाँ पार्टी पक्तीलाई प्रभावित बनाउन सफल भए । 
शिक्षाको सबालमा पनि उनले कन्जरभेटिब पार्टीले सामना गरिरहेको केही कठिन मुद्धालाई सुल्झाएपछि थप पार्टीपंत्तीमा लोकप्रिय भए । 
बाल्यकालमा इराकबाट शरणार्थीको रुपमा बेलायत आएर पनि सफलताको उचाईमा पुगेको उनको संघर्षको कथाले धेरैलाई प्रभावित बनाउने गर्छ । 
तर सुनाककोजस्तै उनको अहिलेको जीवनशैली भने महंगो रहेको छ जसले समस्या सिर्जना गर्नसक्छ । उनले विगतमा तेल तथा ग्यास कम्पनीसँग गरेको सम्झौताले विवादमा आएकाले त्यो पुन ब्युतिनेछ । 

साजिद जाभिद 
सुनाकको जस्तै जाभिदको पनि कर काण्ड सार्बजनिक भएपछि उनको प्रतिष्ठामा धक्का लागेको छ । पूर्व बैंकर जाभिद जोनसनको सरकारमा स्वास्थ्य मन्त्री रहे । यसअघि उनले अर्थ मन्त्रलाय, सस्कृति मन्त्रालय, व्यापार मन्त्रालय र समुदाय मन्त्रालय लगायतको अनुभव लिईरहेका छन् । बस चालक पिताका छोरा जाभिद सामान्य परिवारमा हुर्किएका थिए ।

टम टुगेन्डह्याट 
पूर्व सैनिक टुगेन्डह्याट कन्जरभेटिभ पार्टीको मध्यपन्थी माझ लोकप्रिय छन् । तर कुनै मन्त्रालयको अनुभव नभएको र छाया क्याबिनेटको समेत अनुभव नभएका व्यक्ति बेलायतमा प्रधानमन्त्री हुने सम्भावना न्युन हुन्छ । 
तथापि उनलाई समर्थन गर्ने सांसदहरु जोनसनको सरकारमा नरहनु नै उनको एउटा गुण रहेको बताउछन् । आलोचकहरु उनको ध्यान घरेलु एजेन्डामा भन्दा विदेशी मामिलामा केन्द्रीत रहेकोमा चिन्ता व्यक्त गर्छन् । 

पेन्नी मोरडोन्ट 
ब्रेक्जिट पक्षधर भएकाले पूर्व रक्षामन्त्री मोरडोन्ट उनलाई जोनसनको मन्त्रीमण्डलमा स्वागत गरिएको थियो । तर पछि उनले जेरेमी हन्टको समर्थन गर्न थालेपछि उनलाई धोकेबाजको रुपमा प्रस्तुत गरियो । 
लकडाउनको समयमा जोनसनले पार्टी गरेको विषयमा प्रधानमन्त्री जोनसनलाई स्पष्ट भाषामा विरोध गर्ने मन्त्री थिइन्, पेन्नी । अहिले उनी आफै प्रधानमन्त्रीको तयारी गरिरहेको जस्तो देखिन्छ । 

बेन बालेस 
वर्तमान क्याबिनेटका रक्षा मन्त्री वेन वालेसले युक्रेनको युद्धमा कुसलतापूर्वक कदम चालेकोमा ब्रिटिस राजनीति र विशेष कन्जरभेटिभमा राम्रो छवि बनाए ।  
विगतमा त्यति ठूलो सार्वजनिक छवि नबनाएका भए पनि अहिले उनले त्यसको भरपाई गरिरहेकाले प्रधानमन्त्रीको लागि उमेद्वारी दिनसक्ने चर्चा छ ।  

माईकल गोभ 
गोभले प्रधानमन्त्रीको उमेद्वारी नदिने बताएका भए पनि उनको उमेद्वारीलाई खारेज गर्न सकिँदैन । उनी सर्वसाधरणमाझ त्यति लोकप्रिय त छैनन्, तर कैयौँ कन्जरभेटिभ सांसद उनलाई सबैभन्दा अनुभवी र कुशल वक्ता मान्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप