मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कड्किए धरान मेयर हर्क साम्पाङ : स्वतन्त्र भनेर हेपेको हो ?

बजेट नगरसभामा लैजाने सहमति
शुक्रबार, २४ असार २०७९, १० : १३
शुक्रबार, २४ असार २०७९

धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङ बजेट पास गर्न नदिने कार्यपालिका सदस्यमाथि खनिएका छन् । उनले ‘स्वतन्त्र भनेर हेपेको ?’ भन्दै कार्यपालिका बैठकमै आक्रोश पोखेका हुन् । बजेटबाट छलफलका लागि बिहीबार बसेको कार्यपालिकाको बैठकमा धरानको विकासका लागि बजेट बनाऔं, विकास गरौं भन्दा कतिपय वडाध्यक्षहरुले विवाद निकालेको साम्पाङको भनाइ छ । 

‘बजेट बनाऔं, विद्यालय बनाऔं, विकास गरौं भनेको छु त यो विषयमा किन विवाद गर्नु ? बजेट कुन कुन शीर्षकमा कति कति गर्ने भन्ने कुरा मैले गरेको छैन । सिलिङ बनाउने विषयमा तपाईहरुले नै भन्नुभएको छ,’ बैठकलाई सम्बोधन गर्दै साम्पाङले भने, ‘हामीले पटकपटक छलफल गरिरहेकै छौं नि । हाम्रो मनसाय बजेट पास नगर्ने नै हो त ? त्यसो गर्दा नगरपालिका चल्छ त । वडा चल्छ । उहाँ के के गर्नुहुन्छ (उपप्रमुख अइन्द्र बेघातिर देखाउँदै) कहिले मिलो है भन्दै आउनु हुन्छ, फेरि यहाँ आयो मिलेको हुँदैन । को को समितिमा बस्ने को के गर्ने उहाँलाई नै जिम्मा दिएको छु । यो बजेट राम्रो बन्नुपर्यो । समयमै आउनु पर्यो । तपाईहरुले गृहकार्य गर्नुभयो । अझै पनि छलफल गरौं, छलफल गरौं, छलफल गरौं भन्नुहुन्छ । कति गर्नु छलफल ?’

साम्पाङले स्वतन्त्रको मेयरले बजेट पास गर्नै सकेनन् भनेर बदनाम गर्न खोजेको भन्दै त्यसप्रति पनि आक्रोश व्यक्त गरे । ‘बैठक सार्ने बजेट पनि पास गर्न नदिने अनि स्वतन्त्र आएर बजेट पास गर्नै सकेन भन्न खोजेको हो कि के हो ? हर्क साम्पाङ भन्ने व्यक्ति असफल हुँदा खेरि म एक्लो असफल हुँदिन । यो कुरा ख्याल गर्नुहोस्,’ उनले भने, ‘तपाईंहरुको सुर चाहिँ के हो ? स्वतन्त्रले मेयर जित्यो यसलाई ऊ गर्नुपर्छ भनेको हो कि ? आफैंले बनाएको बजेट मैले बनाएको होइन भन्दिने ? आफ्नै छोरा आफैं मार्ने ? असारमा गर्ने बजेट साउनमा गर्ने ? तपाईँहरुले वडा चाहिँ कसरी चलाउनु हुन्छ ? तपाईंहरु पनि डोनेसन माग गरेर चलाउनु होस् । म पनि मागिरहेको छु त ।’

उनले आफ्नो र धरानको धेरै बदनाम भइसकेको भन्दै धरान बनाउने ठेक्का आफ्नो मात्रै नभएको पनि बताए । ‘बदनाम भइसक्यो । मेरो मात्रै ठेक्का हो र धरान बनाउने ? तपाईलाई पनि जनताले जितेर पठाएको छ नि ? जनतालाई के भनेर आउनु भयो ? के भनेर चुनेर आउनु भयो । त्यतिधेरै गैर जिम्मेवार पनि नबन्नुहोस्,’ उनले भने, ‘यसपालि स्वतन्त्र आयो मेयर भनेर हेपेको हो तपाईंहरुले ? धरानले जनताको म्यान्डेट लिएर आएको हुँ । प्रतिद्वन्द्वी भन्दा ५ हजार बढी मत ल्याएर जितेको हुँ । त्यो हेक्का रहोस् । हावामा कहिले के बोलेको छ कहिले के भनेको छ । आफूले गरेको काम आफ्नो जिम्माको काम आफूले यो यो गरें भनेर भन्नुहोस् । तपाईंहरुले माने पनि नमानेपनि ५ वर्षका लागि तपाईहरुको नगर प्रमुख त म नै हो नि ? ।’

सम्बोधनकै क्रममा उनले धराने बेसार बनाएर बेच्ने आफ्नो योजना रहेको सुनाए । यस्तै धरानले टुथपिन बनाएर बेच्ने पनि उनले योजना सुनाए । साम्पाङले आक्रोशित हुँदै सम्बोधन गरेपछि वडाध्यक्षहरु पनि कड्कीएका थिए भने उपप्रमुख अइन्द्र विक्रम बेघाले प्रमुख साम्पाङको पक्षमा वडाध्यक्षलाई फकाउने प्रयास गरेका थिए । ‘ए बाबा मिलाएर बजेट पास गरौं भन्दा किन बेमेल र झैझगडा ?,’ बेघाले भने । 

बजेट नगरसभामा लैजाने सहमति 

असार १० गते बजेट बक्तव्य सार्वजनिक भएसँगै स्थगित भएको नगरसभा बिहीबारका लागि तोकिएको थियो । सोही सभाको पूर्व तयारीका लागि कार्यपालिकाका बैठक बिहान डाकिएको थियो । सोही क्रममा चर्काचर्की भएपनि अन्तिममा सहमति भएको थियो । विवादको मुख्य कारण भनेको मेयर र उपमेयरको छुट्टा–छुट्टै कोष बनाउने भन्ने थियो । अन्तिममा उक्त कोषमा १ करोड ७० लाख रहने र त्यसलाई नगरसभामा पेश गर्ने सहमति भएपछि बैठक स्थगित भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप