मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

जनयुद्ध, अटो चालक हुँदै जिसस उपप्रमुखको जिम्मेवारी

शुक्रबार, २४ असार २०७९, ०७ : ३१
शुक्रबार, २४ असार २०७९

बराहताल गाउँपालिका–४ का सचिन बडुवाल पूर्व माओवादी लडाकु हुन् । उनी सुर्खेत जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुख पदमा विजयी भएका छन् । जम्मा एक सीट रहेको माओवादीले एमालेसँग तालमेल गरेर जिसस उपप्रमुख पद हात पार्न सफल भयो । सचिनले एमालेको ९ र  माओवादीको १ गरी १० भोट पाएर निर्वाचित भएका हुन् ।

तत्कालीन समयमा नेकपा माओवादी केन्द्रले थालेको जनयुद्धमा २० भन्दा बढी लडाइँ मोर्चामा सहभागी भएका उनको जिन्दगीको यात्रा कम प्रेरणादायी छैन । ०३७ सालमा पश्चिम दैलेखको सिङ्गासैन (हाल आठबीस नगरपालिका–९)मा जन्मिएका उनी चरम गरिबीका कारण ०४८ सालमा साविक सुर्खेत तरङ्गा झरेका थिए ।

वीरेन्द्रनगरमा अटो सञ्चालकका रुपमा चिनिएका उनको देब्रे खुट्टामा अझै दुई वटा गोलीका छर्रा छन् । शनिबार वीरेन्द्रनगरको एरिचोकमा अटो चलाइरहेको अवस्थामा भेटिएका उनले रातोपाटीसँग भने, ‘मेरो जिन्दगी भनेको नाफाको जिन्दगी हो हजुर !’

सचिन भेरी माध्यमिक विद्यालयमा कक्षा ५ मा पढाई गर्दागर्दै जनयुद्धमा सामेल भएका रहेछन् । उनले भने, ‘विद्यालयमै पढाउने यादव गुरुङ नाम गरेका शिक्षकले माओवादीको चर्चा परिचर्चा गर्थे । उनै शिक्षकले १० दिनसम्म म लगायत ७ जना साथीलाई माओवादी बन्नुपर्छ, माओवादीले थालेको युद्धमा सहभागी बनेर देशमा एउटा नयाँ बिहानको सुरुवात गर्नुपर्छ भनेर क्लास दिए । त्यसपछि युद्धप्रति आकर्षण बढ्दै गयो ।’

सचिन त्यतिबेला १५ वर्षका मात्रै थिए । ०५४ तिर तरङ्गामा आयोजित एउटा कार्यक्रममा केही माओवादी नेतालाई चिन्ने अवसर पाएका उनी औपचारिक रुपमा युद्धमा सामेल भने ०५६ साल फागुनबाट भएका थिए, जतिबेला विद्यार्थीको १२ जिल्ला सम्मेलन उनी पढ्ने विद्यालयमै भएको थियो ।

सचिनले आफ्नो पहिलो फौजी ‘एक्सन’ ०५७ वैशाख ७ गते सुर्खेतको मसिनामा थाले । शान्ति प्रक्रियामा आउञ्जेलसम्म त २० भन्दा बढी मोर्चामा युद्ध गरेको उनले बताए ।

युद्धमै गरिएको विवाह युद्धमै समाप्त

सचिनले ०५९ असोजमा जनयुद्धमै माओवादी महिला संगठन दैलेखको जिल्ला अध्यक्ष डिला भण्डारीसँग जनवादी विवाह गरे । असोजमा बिहे भयो तर त्यसको ठिक तीन महिनामा उनले जीवनसाथी गुमाउनु प¥यो,’ उनी भन्छन्, ‘नौमुले (दैलेख) नजिक नेपाल आर्मीले उनी(श्रीमती)सँगै दुई अन्य महिलाको विभत्स हत्या ग¥यो । हुन त युद्धमा जीवनसाथी भए पनि आ–आफ्नो काम कर्तव्य निभाउनै पर्थ्यो । तर सँगै हुँदा थप ऊर्जा मिल्थ्यो ।’

सचिन अछामको मंगलसेन घटनामा घाइते भए । त्यही घटनामा लागेको गोलीको छर्रा उनको खुट्टामा अझै छ । उनी छर्रा लागेको भाग देखाउँदै भन्छन्, ‘हेर्नोस्, यो एउटा स्मृति भएको छ । जसले बेला–बेला विगतलाई झस्काइरहन्छ ।’

सचिन नौमुलेमा पनि घाइते भए । सुर्खेत मसिनाको पहिलो लडाइँ, मंगलसेनमा घाइते भएको, ०५७ मा कालिकोटको कोटबाडाको मोर्चा, २०५९ को भदौको अर्घाखाँचीको सदरमुकाम कब्जा गर्दाको क्षणले सचिनलाई नाफाको जिन्दगी पाएको अनुभूति गराउँछ ।

देश परिवर्तन र सर्वहारा वर्गको परिवर्तनका लागि हामी क्रान्तिमा होमिएका थियौं,’ उनले भने, ‘त्यतिबेला माओवादीको ठूलो सैन्य संगठन भइसकेकाले निकै हौसला र उत्साह हुन्थ्यो । २÷४ जना साथीहरु युद्ध मैदानमा ढल्दा पनि स्वाभाविक प्रक्रिया हो, युद्धमा क्षति र उपलब्धि सँगसँगै हुन्छ, यसलाई समान्य रुपमा लिएर अगाडि बढ्नुपर्छ भन्ने लाग्दथ्यो ।

त्यही मानसिकता बोकेर नै होला निकै ठूलो संघर्षको बीचबाट यहाँसम्म आइपुगेको उनी बताउँछन् । ०६० मा उनले दोस्रो विवाह गरे ।

जब नेतृत्वले एजेण्डा भुल्यो

सचिन युद्धमा होमिनुको एउटै कारण जनताको शासनव्यवस्था स्थापित गर्नका लागि हो । हामी थुप्रै मान्छे अन्यायमा छौं, हामीले नै अब न्याय दिनुपर्छ भन्ने बुझाइ भयो र नेतृत्वले पनि त्यही सिकाएकाले समानता ल्याउनुपर्छ भनेर अघि बढियो,’ उनले भने, ‘तर पछि नेतृत्व अर्कै तरिकाले ल्याण्ड भयो । शान्ति प्रक्रियामा जान सहमत भयो । हामीले कल्पनै गरेका थिएनौं । हामीलाई यतिमात्र थाहा थियो कि सिधै राज्यसत्ता कब्जा गरेर हामीले सोचेजस्तो शासनसत्ता आउँछ ।’

तर त्यो ब्यर्थ भएको उनी बताउँछन् । ०६४–०६५ सम्म आईपुग्दा पनि नेतृत्वमा यही भावना भए पनि सत्तामा गइसकेपछि माओवादीले सारेका एजेण्डाहरु नेतृत्वले भुलेको उनको भनाइ छ ।

कतारदेखि अटो चालकसम्मको यात्रा

नेतृत्वले एजेण्डा भुलेपछि निराश भएका उनी ०६४ को चुनावपछि विदेश पलायन भए । घरमा २ जना छोराछोरी भइसकेका र आर्थिक अवस्था कमजोर भएका कारण कतार गएर डेढ वर्षपछि फर्किएको उनले बताए । त्यसपछि छोराछोरीलाई राम्रो शिक्षा दिनुपर्छ भनेर ०६६ मंसिरतिर वीरेन्द्रनगरमा आएर उनी बस्न थाले । उनले सामान्य नास्ता पसल सञ्चालन गरे । तर त्यसबाट पनि उनले सन्तुष्टि प्राप्त गर्न सकेनन् । घर धान्न पनि धौ–धौ भएपछि उनले नयाँ विकल्पका रुपमा अटो चलाउने सोचे ।

०७३ मा अटो किनेर चलाउन सुरु गरेका उनले त्यसपछि भने आर्थिक अवस्था मजबुत हुँदै गएको बताए । अटोबाटै ४ जनाको परिवारको गुजारा चलिरहेको उनको भनाइ छ ।

उसो त सचिन माओवादी नेतृत्वबाट निराश भएर केही समय एमालेतर्फ पनि लागे । ०६३–०७० सम्म पार्टीको कुनै जिम्मेवारीमा नरहेका उनले एमालेलाई सपोर्ट गर्थे । तर उनले आफ्नो पार्टी भुल्न सकेनन् । ०७० को निर्वाचनमा माओवादीमै फर्किए तर उनलाई पार्टीले ‘सपोर्ट नगरेको’ भन्दै बेवास्ता ग¥यो । गत चैतबाट भने उनी पुनः माओवादी मै फर्किए । ‘चुनाव हुनुभन्दा अघि जिसस उपप्रमुख हुन्छु भन्ने आशा थिएन,’ उनले भने, ‘त्यही पनि पार्टीभित्र चुनाव लडेर आउनु जिससको सदस्यमा ल्याउने भन्ने संकेत पाएको थिएँ ।’

उनी वडा सदस्यमा लड्दा अध्यक्ष, गाउँपालिका अध्यक्ष लड्ने क्षमता भएको मान्छे सदस्यमा कहाँ लडेको भनेर अरुले भन्थे । उनी भन्छन्, ‘भाग्यले साथ दिएको होला, नसोचेकै कुरा भयो ।’

आम्दानी त अटो चलाउँदा नै राम्रो

सचिन अटोबाट राम्रै आम्दानी हुने बताउँछन् । जिसस उपप्रमुख हुँदा जिम्मेवारी थपिएको छ । ‘आर्थिक पाटोको कुरा गर्ने हो भने उपप्रमुखमा केही पनि छैन, अटो चलाउँदा धेरै हुन्छ,’ उनले भने, ‘सम्मानका रुपमा अटो चालकभन्दा उपप्रमुख सम्मानित पद हो ।’

सचिनले अटो चलाउँदा दैनिक औसत १८ सय देखि २ हजारसम्म र मासिक ३५–४० हजार कमाई गर्ने गरेको बताए । ‘राजनीति समाजसेवा हो तर मान्छेहरु यसबाट कमाउने धन्दातर्फ लागे,’ उनी भन्छन्, ‘मेरो सोच त्यस्तो छैन ।’

सानै उमेरमा युद्धमा सामेल हुँदै वैदेशिक रोजगारी, अटो चालक हुँदै जिसस उपप्रमुख बनेका उनी अब अटो चलाउन छाड्ने बताउँछन् । अटो बेचेर जिससकै जिम्मेवारीमा केन्द्रित हुने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप