शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीका स्थानीय तहमा छैन विपद् पूर्वतयारी खोज, उद्धार तथा राहत सामग्रीको अभाव

बिहीबार, २३ असार २०७९, २० : २८
बिहीबार, २३ असार २०७९

हरेक वर्ष बाढी, डुबान, कटान तथा पहिरोको जोखिममा रहेका कैलालीका स्थानीय तहहरु विपद् पूर्वतयारीमा भने निकै कमजोर देखिएका छन् । मनसुन सुरु भएसँगै कैलालीका पूर्वी क्षेत्रका स्थानीय तहमा बाढी तथा डुबानको समस्या भोग्नुपर्ने नियति छ ।

कैलाली जिल्लाका स्थानीय तहमा खोज, उद्धार तथा राहत सामग्रीको अभाव छ । मनसुन सक्रिय भएसँगै बाढी, डुबान, चट्याङ लगायतको उच्च जोखिममा रहेका कैलालीका १३ वटै स्थानीय तहमा खोज, उद्धार तथा राहत सामग्री अभाव रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले तयार गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९’ को प्रतिवेदनमा भनिएको छ, ‘यस जिल्लामा प्रभावकारी विपद् प्रतिकार्यका आवश्यक छ तर हालसम्म विभिन्न निकायमा सामग्रीहरुको अभाव छ ।’

स्थानीय तहमा लाइफ ज्याकेट, साइरन, मोघाफोन, लेहरपन्जा, रबर ट्युव, इमर्जेन्सीलाईट, टर्चलाईट, गमबुट, सेफ्टी हेल्मेन्ट, टेन्ट, स्टे«चर, बेल्चा लगायतका सामग्री अभाव रहेको सो प्रतिवेदनमा उल्लेख छ । स्थानीय तहहरुले प्राकृतिक विपद्को जोखिमबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि पनि आवश्यक तयारी गर्न नसकेको जनाइएको छ । स्थानीय तहहरुले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, वन वातावरण तथा विपद् व्यवस्थापन सम्बन्धी नीति, आपतकालीन कार्य संचालन कार्यविधि, विपद् व्यवस्थापन कोषको व्यवस्था लगायत निर्माण गरे पनि विपद पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्न नसकेको जनाइएको छ ।

१३ वटा स्थानीय तह रहेको कैलाली जिल्लामा दुई वटा स्थानीय तहले विपद् व्यवस्थापन कोष नै बनाउन सकेका छैनन् । कैलालीको जानकी र जोशीपुर गाउँपालिकाले विपद् व्यवस्थापन कोष नबनाएको सो प्रतिवेदनमा उल्लेख छ । जिल्लाका ११ वटा स्थानीय तहको विपद् व्यवस्थापन कोषमा तीन करोड ४४ लाख ८७ हजार ८९२ रुपैयाँ संकलन रहेको जनाइएको छ । कैलालीको एकमात्र उपमहानगरपालिका धनगढीले विपद् व्यवस्थापन कोषमा ६ लाख ११७ रुपैयाँको व्यवस्था गरेको छ ।

प्रदेशको स्थायी राजधानी गोदावरी नगरपालिकाले एक करोड पाँच लाख ८० हजार, गौरीगंगा नगरपालिकाले एक करोड, घोडाघोडी नगरपालिकाले २० लाख, लम्की चुहा नगरपालिकाले पाँच लाख, टीकापुर नगरपालिकाले ७० लाख र भजनी नगरपालिकाले आठ लाख ६६ हजार दुई सय २५ रुपैयाँ व्यवस्था गरेको छ । यस्तै, जिल्लाको कैलारी गाउँपालिकाले ५१ लाख ८० हजार, बर्दगोरिया गाउँपालिकाले १० लाख, मोहन्याल गाउँपालिकाले ७ लाख र चुरे गाउँपालिकाले २३ लाख ६१ हजार पाँच सय ५० रुपैयाँको कोष बनाएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘विगतको बाढीले पारेको प्रभावलाई मध्यनजर गर्दा ६ हजार ५६३ घरधुरी प्रभावित भएको देखिन्छ । जनसंख्या वृद्धि र हुलाकी राजमार्गको विकास निर्माणका कारण केही बढ्न जाने अनुमान गरी ४० हजार जनसंख्या प्रभावित र आठ हजार घरधुरी विस्थापन हुन सक्ने अनुमान गरिएको छ ।’ मोहना, शिवगंगा, घुराह, घुरही, सुकुटिया नालालगायतले डुबान, कटान तथा बाढीको जोखिम बढाउँदा धनगढी उपमहानगरपालिकामा चार हजार ८६१ घरधुरीका २२ हजार जना प्रभावित हुने अनुमान गरिएको छ ।

गोदावरी, मोहना, सोनखरा, जुरेपानी, खैराना, खुटिया, चाक्ले, मछेली, टुडेला लगायतका स–साना तथा ठुला नदीबाट प्रभावित हुँदै आएको गोदावरी नगरपालिकामा दुई हजार ५७ घरधुरीका दश हजार २८५ जना, ठुलिगाड, पियाले, खैराला, चरुवा, भण्डारा, वसर, कान्द्रा, निगाली, गोपाले, स्याहाली लगायतका नदीबाट प्रभावित हुँदै आएको चुरे गाउँपालिकाका एक हजार ३७५ घरधुरीका पाँच हजार १७५ जना प्रभावित हुने स्थानीय प्रशासनको अनुमान छ । यस्तै, गौरीगंगा, चौमाला, शिवगंगा, लिक्मा, बनबेहडा नदीले प्रभाव पार्दै आएको गौरीगंगा नगरपालिकामा एक हजार ९५९ घरधुरीका सात हजार ८९५ जना प्रभावित हुने अनुमान गरिएको छ ।

डोडा, बोराहनाला, कौवा, सुक्तीकाडा, टेङ्गना, कान्द्री, कान्द्रा, जुरपानी नदीको प्रभाव क्षेत्र रहेको घोडाघोडी नगरपालिकामा दुई हजार ७६० घरधुरीका १३ हजार ८०० घरपरिवार, वर्षादपानी, धोवेनी, चोरी, रोरा, चरैला, पथरिया नदीले क्षति पु¥याउँदै आएको लम्की चुहाका पाँच हजार २४० घरधुरीका २६ हजार २०० घरपरिवार, कर्णाली, जमराकुला, पथरैया, मोहना नदीबाट क्षति व्यहोर्दै आएको टीकापुर नगरपालिकामा दुई हजार २३८ घरधुरीका ११ हजार १९० घरपरिवार प्रभावित हुने अनुमान गरिएको छ । यसैगरी काँडा, कान्द्रा, मोहनाबाट प्रभावित हुँदै आएको भजनी नगरपालिकामा सात हजार ६०० घरधुरीका ३८ हजार घरपरिवार तथा कर्णाली, झाप्री, ठुलीगाड, बोटाखोला, बाधेखोला, तिउली, करुवाखोलाबाट प्रभावित मोहन्याल गाउँपालिकामा एक हजार ९०० घरधुरीका ११ हजार २५५ जना प्रभावित हुने अनुमान छ ।

कुइरा कान्द्र, पथरैया, घैलानाला नदीबाट बर्दगोरिया गाउँपालिकामा दुई हजार ८०० घरधुरीका १४ हजार परिवार, कर्णाली, पथरैया, रोरा, गुलरिया, विजुलिया नदीबाट जानकी गाउँपालिकामा एक हजार ५९८ घरधुरीका सात हजार ७९० र मोहना, कटैनी, सुर्मीनाला, घुराहा, घुराही नदीबाट कैलारी गाउँपालिकामा तीन हजार ९३० घरधुरीका १९ हजार ६५० घरपरिवार प्रभावित हुने अनुमान छ । सो प्रतिवेदनमा जोशीपुर गाउँपालिका क्षेत्रमा रहेका नदीले पार्न सक्ने प्रभाव र प्रभावित हुन सक्ने घरधुरी संख्या विवरण र विपद व्यवस्थापनमा रहेको कोष उल्लेख छैन ।

प्रतिवेदनमा भनिएको छ, ‘कैलाशपुरी बाँधका कारण टिकापुर नगरपालिकाको दक्षिणीक्षेत्रमा पानीको प्रवाह अवरुद्ध हुनगई बस्तीहरु लामो समयसम्म डुबानमा पर्न सक्छन् ।’ प्रतिवेदनमा आवास तथा व्यक्तिगत सम्पत्ति क्षति, बालबालिका, महिला, वृद्ध–वृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरु मुख्य रूपमा प्रभावित हुने गरी मानिसहरू विस्थापन हुन सक्ने, आवास लगायत अत्यावश्यक मानवीय सहयोग तत्काल आवश्यक हुने गरी विस्थापित परिवारका मानिसहरु बेपत्ता हुने, पुरिने, बगाउने, नदी बीचमा फस्ने, घाइते हुने तथा मानवीय क्षति हुनसक्ने अनुमान गर्दै सोही अनुसार पूर्वतयारी गर्नुपर्नेमा जोड दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप