सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यी पाँच कारण : जसले बोरिस जोनसनको सत्ता ढल्यो

बिहीबार, २३ असार २०७९, १९ : ४१
बिहीबार, २३ असार २०७९

तीन वर्ष अघि मात्र बोरिस जोनसनले कन्जरभेटिभलाई सन् १९८७ पछिको सबैभन्दा ठूलो चुनावी जित दिलाएका थिए । अहिले जोनसनले आफ्ना सांसदहरुको समर्थन गुमाएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । राजीनामा सम्बोधन गर्दै जोनसनले आफूले राजीनामा गर्नुपर्ने अवस्था आउनुमा साथ छाड्ने सांसदलाई दोष दिए । तथापि उनले पार्टीले आफूमाथि विश्वास गुमाउनुका विभिन्न कारणहरूबारे भने बोलेनन् ।

यहाँ उनको पतनका कारण रहेको केही घटना र प्रवृतिबारे चर्चा गरिएको छ : ​
क्रिस पिन्चर प्रकरण
२९ जुन बुधबार तत्कालिन कन्जरभेटिभ पार्टीका एक सचेतक क्रिस पिन्चर लन्डनस्थित सदस्यले मात्र प्रवेश पाउने एक क्लब गए । उनकै शब्दमा, उनले त्यहाँ ‘अत्यधिक धेरै पिए’ र ‘आफैलाई लज्जित’ बनाए । 
उनीमाथि दुई जना पुरुषहरूलाई हातपात गरेको आरोप लाग्यो । त्यसपछि उनीमाथि श्रृंखलावद्ध आरोपहरू आउन थाले, केही वर्षौं अघिका उनले गरेका दुर्व्यवहारका थिए । यसपछि सुरु भएका घटनाक्रमका श्रृङ्खला प्रधानमन्त्री बोरिस जोनसनको पतनको कारण बन्यो । 

पहिले प्रधानमन्त्री कार्यालयले फेब्रुअरीमा जोनसनले उप–प्रमुख सचेतकको रूपमा नियुक्त गर्दा पिन्चरमाथि विगतमा लागेका ‘आरोप’ बारे थाहा नभएको स्पष्टोक्ति दियो । जोनसनका मन्त्रिपरिषदका अन्य सदस्यले पनि यही भनाई दोहोर्याए । यद्यपि यो गलत साबित भयो । ४ जुलाईमा बीबीसीले जोन्सनलाई पिन्चरमाथि लागेका उजुरीबारेमा थाहा भएको समाचार छाप्यो । भोलिपल्ट, एक पूर्व निजामती कर्मचारी लर्ड म्याकडोनाल्डले कि प्रधानमन्त्रीलाई व्यक्तिगत रूपमा उजुरीको बारेमा भनिएको खुलासा गरे । त्यसपछि जोनसनले सन् २०१९ मै आफूलाई पिन्चरबारे विगतका उजुरी थाहा भएको बताउँदै पिन्चरलाई उप–प्रमुख सचेतकको रूपमा नियुक्त गरेकोमा माफी मागे । 

पार्टीगेट
बोरिस जोन्सनले २०२० मा कोरोना महामारीबीच विभिन्न समयमा पार्टीमा भाग लिएको विषयले ठूलो विवाद सिर्जना गर्यो । यी सबै घटनालाई ‘पार्टी गेट’का रुपमा चिनिन्छ । पहिले बोरिस जोन्सनले मे २०२० मा कोरोना महामारीबीच भएको पार्टीमा भाग लिएको स्वीकार गरे । यही वर्षको अप्रिलमा जोनसनलाई सन् २०२० जुनमा उनको जन्मदिनको पार्टी आयोजना गरेर लकडाउन नियमहरू तोडेको आरोपमा जरिवाना गराइयो । उनले पहिलो लकडाउनको समयमा प्रधानमन्त्रीको आवासमा रहेको बगैँचामा ‘आफै महिरा लिएर आउने’ पार्टी आयोजना गरेकोमा माफी पनि मागे ।

त्यसपछि पनि लण्डन महानगरीय प्रहरीले प्रधानमन्त्री कार्यालय र ब्रिटिस सरकारले लकडाउन नियम तोडेको भन्दै ८३ जनालाई १२६ वटा जरिवाना तोक्यो । पछि एक जना वरिष्ठ निजामती कर्मचारी सु ग्रेले तयार पारेको एक रिपोर्टले कैयौं राजनीतिक पदाधिकारीले लकडाउन तोड्ने श्रृंखलावद्ध समाजिक कार्यक्रम आयोजना गरेको खुलासा गर्यो । ‘केन्द्रका वरिष्ठ नेतृत्वले यस संस्कृतिको लागि जिम्मेवारी वहन गर्नुपर्छ,’ उनले रिपोर्टमा लेखिन् । गत डिसेम्बरमा, जोन्सनले बेलायतको तल्लो सदन हाउस अफ कमन्समा बोल्ने क्रममा भने ,‘सबै नियमावलीहरु प्रधानमन्त्री कार्यालयले पूर्ण रूपमा पालना गरेको’ बताए । उनले जानीजानी संसदलाई झुट बोलेको विषयमा अहिले संसदीय समितिले छानबिन गरिरहेको छ ।

बढ्दो महँगी र त्यसका बीच कर वृद्धि
सन् २०२२ मा मुद्रास्फीति तीव्र रूपमा बढिरहेको छ । अहिले बेलायतमा मुद्रास्फिर्ती दर ९.१ प्रतिशत पुगेको छ । । महँगीका कैयौं कारणहरु त बोरिस जोनसनको नियन्त्रण बाहिर थिए । जस्तो युक्रेनमा रुसको आक्रमणले तेलको मूल्य र खाद्यान्नको मूल्यमा वृद्धि भएकाले विश्वभर नै महँगी बढिरहेको छ । महँगी घटाउनको लागि ब्रिटिस सरकारले केही कदम चालेको पनि छ । उदाहरणका लागि, तेलको मूल्य बघटाउनको लागि सरकारले इन्धन कर घटायो ।

 तर सँगसँगै सरकारले अप्रिलमा कर वृद्धि गर्यो । सरकारले कर वृद्धिले स्वास्थ्य र सामाजिक हेरचाहको लागि भुक्तान गर्ने तर्क दियो । विरोधका बीच यो साता सरकराले कर दरमा केही कम गरेर असरहरू न्युनिकरण गरे पनि वर्षमा ३४ हजार पाउण्डभन्दा बढि कमाउने मानिसले अझै पनि बढी कर तिर्नुपर्छ । अप्रिलमा लेबर नेता सर केयर स्टारमरले कर वृद्धि गरेकोमा सरकारको विरोध गर्दै भनेका थिए ,‘ दशकौंको सबैभन्दा ठूलो महँगीका बीच सरकारले कामकाजी मानिसहरुमाथि कर बढाउने निर्णय गर्यो ।’

ओवेन प्याटरसन विवाद
अक्टोबर २०२१ मा हाउस अफ कमन्सको एक समितिले तत्कालीन कन्जरभेटिभ सांसद ओवेन प्याटरसनलाई ३० दिनको निलम्बन सिफारिस गरेको थियो । समितिले उनले राजनीतिक प्रभाव पार्न हुने खर्चको नियम तोड्दै उनलाई पैसा दिने कम्पनीहरूलाई फाइदा पु¥याउने प्रयास गरेको आरोप लगाएको छ । तर प्रधानमन्त्रीको नेतृत्वमा कन्जरभेटिभ पार्टीले भने उनको निलम्बन रोक्का गर्न को लागि मतदान गरे । साथै तिनले अनुसन्धान कसरी अघि बढाइएको हेर्न नयाँ समिति गठन गरे । तर कन्जरभेटिभको प्रयास खेर गयो, जब जन आक्रोश थेग्न नसकेर प्याटरसनले राजीनामा दिए । जोनसनले पछि यो मुद्दामा ‘ दुर्घटना’ भएको स्वीकारे । 

एकाग्रता र आदर्शको कमी 
बोरिस जोनसनले विगतमा उनको स्पष्ट र सजिलै पछ्याउन सकिने ‘ ब्रेक्जिटलाई पुरा गर्ने’ नीतिको बलमा प्रचण्ड बहुमत हासिल गरे । तर जब ब्रेक्जिट पुरा भयो त्यसबेलादेखि प्रधानमन्त्री कार्यालयमा एकाग्र र विचारहरूको अभाव भएको आलोचकले बताउन थाले । उनका पूर्व सल्लाहकारबाट कटु आलोचक बनेका डोमिनिक कमिंग्सले बारम्बार उनलाई शपिंग मलका नियन्त्रणहिन ट्रलीसँग तुलना गरे । 

अरूले प्रधानमन्त्रीको आदर्शमै समेत प्रश्न गरे । जस्तो कन्जरभेटिभ सांसद र पूर्व मन्त्री जेरेमी हन्टले जोनसनलाई ‘निष्ठा, योग्यता र दृष्टि’हिन भएको आरोप लगाए । हन्टले यो कुरा विश्वास मतअघि भनेका थिए, जुन मतदान जोनसनले जितेका थिए । विश्वासको मत जिते पनि उनीविरुद्धको असन्तुष्टि भने चर्किँदै गयो । र अहिले यो उनले राजीनामा दिनुपर्ने स्थिति आयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप