शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

आइतबारको बिदाले विश्वराजलाई घाटा, इजलासबाट सुनुवाइको मिति कुर्दै सर्वोच्च प्रशासन

बिहीबार, २३ असार २०७९, १७ : ०९
बिहीबार, २३ असार २०७९

मुस्लिम धर्मावलम्बीहरूको पर्व इदका कारण असार २६ गते सरकारले विदा दिने घोषणा गरेपछि प्रहरी महानिरीक्षक विरुद्धको मुद्दाको सुनुवाइ फेरि धकेलिएको छ । यसअघि आइतबारका लागि पेसी तोकिएको भएपनि आइतबार विदा परेपछि उक्त मुद्दामाथिको सुनुवाइ फेरि धकेलिने भएको छ ।  सरकारले आफूभन्दा कनिष्ठ एआइजी धीरजप्रताप सिंहलाई आइजीपीमा नियुक्ति गरेको भन्दै एआइजी विश्वराज पोखरेल सर्वोच्च अदालत पुगेपछि लामो समयदेखि उक्त मुद्दाको सुनुवाइ भइरहेको छ । 

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा.कुमार चुडालको संयुक्त इजलासमा हेर्दाहेर्दैमा राखिएको उक्त मुद्दा सातामा एकदिन सुनुवाइ हुने गरेको थियो । असार १९ गते पेसीमा चढेको उक्त मुद्दाको सुनुवाइपछि असार २६ गते आइतबारका लागि पेसी तोकिएको थियो । तर आइतबार सार्वजनिक विदा परेपछि उक्त मुद्दाको पेसी कहिले पर्ने यो टुङ्गो लागेको छैन ।

 सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार हेर्दाहेर्दैमा रहेको कारण कामु प्रधानन्यायाधीश र न्यायाधीश कुमार चुडालको इजलासले सुनुवाइका लागि अर्को मिति दिएपछि मात्रै सुनुवाइको मिति तोकिने छ । उनीहरुले सुनुवाइका लागि मिति नतोकेसम्म उक्त मुद्दाको पेसी अन्योलमै रहेको छ । 

सर्वोच्चले पक्ष र विपक्षमा बहस गर्ने अधिवक्ताहरूलाई असार २३ गतेभित्रै बहस नोट पेस गर्न भनिएको थियो । बहस नोट पेस भएपछि असार २६ गते सुनुवाइ गरी टुङ्गो लगाउने वा अन्य आदेश गरेर सुनुवाइका लागि अर्को मिति तोक्ने वा निसुका लागि मिति तोक्ने सम्भावना रहेको थियो । तर आइतबार विदा परेपछि अब अर्को आइतबारसम्म सुनुवाइका लागि कुर्नुपर्ने वा न्यायाधीशहरूले सुनुवाइका लागि मिति तोकेर सर्वोच्च प्रशासनमा पठाएपछि चाँडै नै सुनुवाइको मिति तोकिने हो टुङ्गो लागेको छैन । 

यो विदाले एआइजी विश्वराजलाई थप घाटा भएको छ । अनिवार्य अवकाश पाउन २५ दिन मात्रै बाँकी रहेको कारण यो मुद्दामा जति विलम्ब भयो विश्वराजलाई त्यति नै घाटा हुन्छ । साउन १९ गतेभित्र उक्त मुद्दाको टुङ्गो नलागेमा एआइजी विश्वराज पोखरेल अनिवार्य अवकाशमा जानेछन् र आइजीपी नियुक्तिसम्बन्धी अदालतमा विचाराधीन मुद्दाको औचित्य सकिनेछ ।

यसअघि कामु प्रधानन्यायाधीश दीपककुमार कार्की हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ-सम्पादक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप