मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

औषधिको मूल्य समायोजन गर्ने तयारी, मूल्य बढ्ला कि घट्ला !

बिहीबार, २३ असार २०७९, १५ : ३९
बिहीबार, २३ असार २०७९

औषधि व्यवस्था विभागले सिटामोल र जीवनजलको मूल्य बढाउन लागेको भन्दै संसदमा विरोध भएको थियो । विभागले भने सिटामोल र जीवनजललाई जोडेर समग्र औषधिको मूल्य समायोजन प्रक्रियालाई अलमल्याउन खोजिएको आरोप लगाएको छ ।

विभागका महानिर्देशक भरत भट्टराईले औषधिको मूल्य समायोजनका लागि विभागले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा फाइल पठाएको जानकारी दिए । मन्त्रालयले औषधिको मूल्य समायोजना फाइल स्वीकृत गरी मन्त्रिपरिषद् बैठकमा पठाएर निर्णय भएको खण्डमा मूल्य समायोजन हुने उनको भनाइ छ । विभागका अनुसार करिब ७ वर्ष यता कुनै पनि औषधिको मूल्य समायोजन गरिएको छैन । यसभन्दा अघि २०६४ सालमा २२ थरी औषधि र २०७३ सालमा ९६ थरी औषधिको मूल्य तोकिएको थियो ।

‘वर्षौंदेखि जीवनजल लगायतका औषधिको मूल्य बढेको छैन । नेपालका केही कम्पनीले जीवनजल उत्पादन गर्दा घाटा भयो भनेर पछि हट्न खोजिरहेका छन्,’ महानिर्देशक भट्टराईले भने, ‘वर्षौंदेखि १० रुपैयाँ प्रति प्याकेट जीवनजल बिक्री हुँदै आएको छ जबकि छिमेकी राष्ट्र भारतमा २५ रुपैयाँभन्दा बढी पर्छ ।’ उनले केही औषधिको मूल्य समायोजनलाई ‘मूल्यवृद्धि’ भनेर बुझन् नहुने पनि प्रस्ट पारे । बजारमा कच्चा पदार्थ र औषधिको मूल्य वृद्धि भएकाले विभागले मूल्य समायोजनका लागि स्वास्थ्य मन्त्रालयमा प्रस्ताव पठाएको उनले बताए ।

‘हामीले मूल्य समायोजन भनेको मूल्य वृद्धि हो भनेर बुझिरहेका छौँ तर, त्यस्तो होइन । यदि मूल्य समायोजनको प्रस्ताव मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट स्वीकृत भएको खण्डमा समायोजनले ८० प्रतिशत औषधिको मूल्य घट्छ । २० प्रतिशतको मूल्यमात्रै बढ्छ,’ उनले भने । बजारमा एउटै कम्पनीका औषधिका मूल्य दर्ता पनि भिन्नाभिन्नै रहेको उनको भनाइ छ । त्यसैले औषधिको मूल्यमा एकरुपता ल्याउन समायोजन अतिआवश्यक रहेको उनी बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धि हुँदा स्वदेशी औषधि उत्पादक कम्पनीले सस्तो दरमा औषधि उत्पादन गर्न नसक्ने अवस्था सिर्जना भएको उनले बताए ।

महानिर्देशक भट्टराईले औषधि कम्पनीले औषधिको मूल्य बढाइरहँदा त्यसलाई नियमन गर्न खोजिएको बताए । विश्व स्वास्थ्य संगठनले नै रिफ्रेन्स मूल्यलाई आधार मानेर मूल्य नवीकरण गर्दै आएको उनको जिकिर छ । अन्तर्राष्ट्रिय बजारमा क्यान्सर, मधुमेह लगायतका रोगका औषधिको मूल्य घटेको छ । त्यसैले औषधिको मूल्य समायोजनले धेरै औषधिको मूल्य घट्ने महानिर्देशक भट्टराईको भनाइ छ ।

भट्टराईका अनुसार नेपालमा १८ हजार ब्रान्डका औषधि बिक्री गरिन्छ । जसमा जम्मा ११६ थरीका औषधिको मूल्य निर्धारण गरिएको छ । मूल्य समायोजन नहुँदा औषधिको कम्पनी अनि ब्रान्डअनुसार फरकफरक मूल्य तिर्न उपभोक्ता बाध्य छन् । यस्तै, विभागले विभिन्न रोगका एन्टिबायोटिक औषधि ९० थरी र थरीथरीका दीर्घरोगका लागि २७ वटा औषधिको मूल्य हालसम्म निर्धारण गरिएको छ ।

विदेशबाट आयात हुने औषधिको मूल्य कन्ट्री अफ ओरिजीन र खुद्रा मूल्यका आधारमा समायोजन गरिने उनले बताए । भारतमा सेडुल ड्रग्सको मूल्य हरेक ६ तथा १२ महिनामा समायोजन गरिने उनको भनाइ छ । नन सेडुल ड्रग्सको मूल्य नेपालमा भारतभन्दा बढि हुँदैन । पछिल्लो समय औषधि आयात गर्ने र स्वेदशमै उत्पादन गर्नेहरु पनि औषधिको मूल्य समायोजनको पक्षमा रहेको उनको जिकिर छ । विभागले मूल्य निर्धारण नगरिएका औषधिहरूको कम्पनी र ब्रान्डका आधारमा मूल्य तोक्ने गर्छ । यस्तै, नेपालमा उत्पादन हुने अनि विदेशमा उत्पादन हुने औषधिको मूल्य पनि ब्रान्डका आधार निर्धारण गरिने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप