सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाका दुवै समूहको एकैदिन बस्ने बैठकका के के छन् एजेण्डा ?

बिहीबार, २३ असार २०७९, १८ : ०२
बिहीबार, २३ असार २०७९

जनता समाजवादी पार्टी नेपालको दुई गुट उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्षले आ–आफ्नो पक्षको बैठक एकै दिन पारेर बोलाएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जमा र जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले काठमाडौँमा बैठक बोलाएका छन् ।

सुरुमा अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिको बैठकको मिति घोषणा गरेका थिए । वीरगञ्जमा असार २७ र २८ गते केन्द्रीय समितिको बैठक बस्ने भनि जेठ १६ गते केन्द्रीय समिति सदस्यलाई खबर गरिएको थियो । त्यसको ठिक चार दिनपछि अर्थात् जेठ २० गते अध्यक्ष भट्टराई पक्षले केन्द्रीय समितिको विस्तारित बैठक असार २९ र ३० गते काठमाडौंमा बस्ने निर्णय ग¥यो ।

अध्यक्ष भट्टराई पक्षको यस्तो निर्णय सार्वजनिक भएपछि अध्यक्ष यादव पक्षले असार २१ गते एउटा निर्णय सार्वजनिक गर्दै आफ्नो पक्षको केन्द्रीय समितिको बैठक असार २९ र ३० गते वीरगञ्जमा बस्ने जानकारी गरायो ।

जसपा कार्यालयका सचिव प्रकाश अधिकारीले जारी गरेको प्रेसनोटमा भनिएको छ, ‘जसपाको केन्द्रीय समितिको बैठक असार २८ र २९ गते गर्ने भनिएकोमा सो दिन मुस्लिम समुदायको महान चाड बकर–इद (कुर्वानी) परेकोले सो दिनको सट्टा असार २९ र ३० गते वीरगञ्जमै हुने भएको सबैमा जानकारीका लागि यो प्रेसनोट जारी गरिएको छ ।’

यी दुई बैठकबाट जसपा नेपाल एक रहने नरहने बारेमा टुङ्गो लाग्ने बताइएको छ । जसपा कार्यकारिणी सदस्य रामसहाय यादवले भने, ‘जसपा केन्द्रीय समितिको बैठक वीरगञ्जमा बस्दैछ, त्यो बैठकमा पार्टीको अन्तरिक समस्याको बारेमा पनि छलफल हुन्छ, पार्टीमा देखिएको पछिल्लो आन्तरिक विवादको विषयमा छलफल हुन्छ । छलफलपछि नै पार्टी कुन दिशामा जान्छ भन्ने तय हुन्छ ।’

आफू पार्टी विभाजनको पक्षमा नरहेको बताउँदै उनले अर्को समूहको बैठकबारे आफूलाई केही जानकारी नभएको बताए । उनले भने, ‘वीरगञ्जमा जसपा नेपालको केन्द्रीय समितिको बैठक छ, त्यो बैठकमा स्थानीय चुनावको समीक्षा, आगामी चुनावको बारेमा रणनीतिलगायतका विषयमा छलफल हुने मलाई जानकारी आएको छ ।’

लोकतान्त्रिक पार्टीमा सानोतिनो अन्तरसंघर्ष चल्नु समान्य कुरा भएको उनले बताए । यति सानो कुराले पार्टी विभाजन हुन्छ भने कुरामा आफूलाई विश्वास नलागेको उनको भनाइ छ । वीरगञ्जमा बस्ने बैठकले पार्टीमा देखिएका सबै समस्या समाधान हुने दाबी गर्दै उनले पार्टीलाई एकतावद्ध गर्नकै लागि केन्द्रीय समितिको बैठक बोलाएको बताए ।

तर बाबुराम भट्टराई पक्षका नेताहरुले अध्यक्ष उपेन्द्र यादवले एकलौटी रुपमा केन्द्रीय समितिको बैठक बोलाएको आरोप लगाएका छन् । ‘अध्यक्ष यादवले सो बैठकको बारेमा आफ्ना पक्षलाई मात्र जानकारी गराएको देखिन्छ, वीरगञ्जमा हुन गइरहेकोे बैठकबारे केन्द्रीय समितिका अधिकांश सदस्यलाई जानकारी छैन,’ कार्यकारिणी समिति सदस्य गंगा श्रेष्ठले भने ।

लामो समयपछि केन्द्रीय समितिको बैठक बस्न लागेको अवस्थामा बैठक बस्नुअघि कसैसँग सल्लाह नभएको उनले बताए । उनले भने, ‘बैठक किन बस्न लागेको हो, के एजेण्डामा छलफल हुन्छ लगायतका विषयमा जानकारी नहुँदासम्म त्यो बैठकमा किन जानु भनेर नै हामीले त्यो बैठकमा नजाने निर्णय गरेका छौं ।’

काठमाडौँमा बस्ने केन्द्रीय समितिको विस्तारित बैठकमा सहभागी हुन आफूहरुले सबैलाई जानकारी गराउने बताउँदै उनले यो बैठकले पार्टीको आगामी कार्यदिशा तय गर्ने प्रस्ट पारे । आफूहरु पार्टी विभाजनको पक्षमा नरहेको दाबी गर्दै उनले पार्टीमा देखिएको आन्तरिक विवाद बारेमा बैठकले के दिशा निर्देश गर्छ, त्यही आधारमा आगाडि बढ्ने बताए । पार्टीबाट अलग हुने वा त्यहीँ बसेर संघर्ष गर्ने भन्ने कुराको छिनोफानो त्यही बैठकले गर्ने उनको भनाइ छ ।

दुवै पक्षले बहुमत सदस्य आफूसँग रहेको दाबी गरेका छन् । एकै दिन बस्ने दुवै पक्षको बैठकबाट कुन पक्ष बलियो र कुन पक्ष कमजोर छ भन्ने पनि प्रस्ट हुन्छ । दुवै समूह बैठकको तयारीमा जुटिसकेका छन् । आआफ्नो बैठकमा बहुमत केन्द्रीय समिति सदस्य उपस्थिति गराउन दुवै समूहले नेताहरुलाई आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप