बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

जोशीको ‘हिति प्रणाली’ विमोचित

बिहीबार, २३ असार २०७९, १४ : २७
बिहीबार, २३ असार २०७९

पद्मसुन्दर जोशीको अनुसन्धनामूलक कृति ‘हिति प्रणाली’को विमोचन गरिएको छ ।  ललितपुर महानगरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी लेखक पद्मसुन्दर जोशी, ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिल बाबु श्रेष्ठले संयुक्त रूपमा सो कृतिको विमोचन गरेका थिए । 

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले हितिसम्बन्धी पुस्तक प्रकाशित हुँदा सबैभन्दा खुसी लागेको बताए । “मेरो अघिल्लो कार्यकालमा पाटनका हितिहरूबाट पानी झारेर देखाउने धोको थियो,” उनले भने, “त्यो पूरा हुन पाएन तर अझै पनि प्रयास जारी छ ।” उनले लगनखेलको सप्तपाताल पोखरीको जमिन नगर स्वामित्वमा ल्याउन सफल भएको र टीकाभैरव राजकुलो ब्युँताउने अभियानसमेत उल्लेख्य रूपमा अघि बढेको उनले बताए । आफूहरू केटाकेटी छँदा यिनै पोखरीमा फुलेका कमलका पातमा भोज खाएको स्मरण गर्दै उनले भने, “तिनै पोखरीमा फेरि कमल फुलाउने आफ्नो इच्छा छ ।” 

कार्यक्रममा बोल्दै सर्जक जोशीले आजको समयमा दिगो सहरी खानेपानी योजनाहरू डिजाइन गर्दा बीस वर्षे योजना बनाइने बताए । “धेरै महत्त्वाकाङ्क्षी योजना छ भने तीस वर्षे पनि होला,” उनले भने, “आधुनिक जलविज्ञान र इन्जिनियरिङले त्योभन्दा बढी कल्पना गर्न सक्दैन तर हाम्रो हिति प्रणाली भने एउटा ऐतिहासिक प्राविधिक चमत्कार नै हो किनभने यसले झण्डै दुई हजार वर्षदेखि पानीको बहाव व्यवस्थापन गरेको छ ।” हिति प्रणाली, भावि पिँढी र संसारको सबैभन्दा आधुनिक प्रविधिको लागि पनि अकल्पनीय उदाहरण रहेको उनले बताए ।

हिति प्रणाली काठमाडौँ उपत्यकाको एउटा अद्वितीय र सम्पन्न जल व्यवस्थापन प्रणाली हो । यो प्रणालीको सबैभन्दा पुरानो लिखित प्रमाण किराँत र लिच्छवी काल (झण्डै १७०० वर्ष पहिले) अङ्कित गरिएको पाइन्छ । प्रायः सबै हितिहरु खाल्डोमा बनाइएको हुन्छन् । त्यसैले हितिलाई नेवार भाषामा गाः हिति अर्थात खाल्डोको धारा पनि भनिन्छ । यस खाल्डोको एकापट्टिको भित्तामा गोहीको मुखाकृति कुँदिएको कलात्मक ढुङ्गाको डुँडबाट पानी झारिएको हुन्छ । जसलाई हितिमंगः भनिन्छ । 

एउटा हितिगाःमा एक वा एकभन्दा बढी हितिमंगःहरु हुनेगर्दछन् । हितिमंगःसम्म पानी ल्याउनका लागि भूमिगत रूपमा काठ वा टेराकोटाको चारकुने नाली पानीको मूलसम्म नै बिछ्याइएको हुन्छ । यो पानी ल्याउने नालीलाई हितिदुं भनिन्छ । हितिदुंको बीच बीचमा पानीको बहावको दिशा परिवर्तन गर्न वा सतह मिलाउन आवश्यकता अनुसार अथलहरु राखिएका हुन्छन् । हितिदुं पानीको  मूलसम्म नै बिछ्याइएको हुन्छ । 

पब्लिकेसन नेपालयद्वारा प्रकाशित सो कृतिमा आधा शताब्दीअघिसम्म काठमाडौँ उपत्यकामा रहेको संस्कृति र वास्तुकलाको अवस्थाका बारेमा प्रकाश पारिएको छ ।  नेपाल भनेर चिनिने काठमाडौँ उपत्यका हालको जनसङ्ख्या विस्फोट हुनुअघिसम्म वास्तुकला र संस्कृतिको विश्व स्तरको जिउँदो नमुनालाई यस कृतिमा प्रस्तुत गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप