बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एन्फामा स्पष्ट तीन धार !

थापा रुष्ट हुँदा नेम्वाङ अल्पमतमा
बिहीबार, २३ असार २०७९, १३ : १२
बिहीबार, २३ असार २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)का तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाले कार्यकाल सम्हालेको पहिलो वर्ष देखि नै एन्फा दुई धारमा विभाजित भयो । एउटै कार्यसमिति सत्तापक्ष र प्रतिपक्षको रुपमा बाँडियो । तत्कालीन अध्यक्ष शेर्पाले सत्ता पक्षको भूमिका निर्वाह गरे भने वरिष्ठ उपाध्यक्ष नेम्वाङ प्रतिपक्ष बने । 

कतिपय निर्णयहरुमा शेर्पाले नेम्वाङलाई सहभागी नगरेर नै पारित गरे । एन्फा कार्यसमितिमा अल्पमतमा रहेको नेम्वाङ समूहले विरोध त जनायो तर उनीहरूको आवाजलाई सधैँ बेवास्ता गरियो । त्यही विरोधको स्वरले नेम्वाङलाई अहिलेको अध्यक्ष बन्न बाटो खोल्यो । 

नेतृत्वलाई निरन्तर प्रहार गरेका नेम्वाङ अहिले आफै नेतृत्वमा छन् । एन्फाको नयाँ नेतृत्वले पूर्णता पाएको अवस्था छैन । दुई सदस्यका लागि एन्फाको विशेष साधारण सभाले निर्वाचनमार्फत अन्तिम रूप दिनेछ । 

नयाँ नेतृत्वमा आएका नेम्वाङ अहिले अल्पमतमा छन् । अहिले एन्फामा प्रष्ट तीन धार छ । कर्माछिरिङ शेर्पा, पंकज नेम्वाङ र गणेश थापा । यो तीन धारमा सबैभन्दा कमजोर भनेका अध्यक्ष नेम्वाङ हुन् । उनको पक्षमा उनीसहित मात्र कार्यसमितिका दुई व्यक्ति छन् । उपाध्यक्ष दावा लामा र महिला सदस्य सरिला श्रेष्ठ । 

तीन धारमा बलियो गणेश थापा हुन् । गणेश थापासँग वरिष्ठ उपाध्यक्ष देखि लिएर सदस्यसम्म गरेर नौँ जना छन् । वीरबहादुर खड्का वरिष्ठ उपाध्यक्ष नै थापा पक्षका हुन् । 

त्यस्तै उपाध्यक्ष विराटजंग शाही र दीपक खतिवडा पनि थापा पक्षकै हुन् । अनिल मल्ल, रवीन्द्र चन्द, भोजराज शाही, पुरुषोत्तम थापा, विकास नारायण श्रेष्ठ र महेन्द्र क्षेत्री थापा पक्षका हुन् । 

पछिल्लो समय थापा पक्षमा सरिला श्रेष्ठ पनि सम्मिलित हुन खोजिरहेकी छन् । त्यस्तै शेर्पा पक्षका दुई सदस्य थापा पक्षसँग नजिकिने चरणमा छन् । उनीहरू दुई जना पनि आएमा एन्फामा थापा पक्षको बहुमत हुनेछ । 

उता, शेर्पा पक्षका उपाध्यक्ष दीर्घबहादुर केसी सहित मनिस जोशी, पेमा डोल्मा लामा, भरत बुढथापा, मणिराज विष्ट, टीकाराम लामा र रमेश ब्यञ्जनकर छन् । अन्य दुई जना सस्यको टुङ्गो लाग्न बाँकी छ । चार जना सदस्यले समान मत पाएका कारण दुई सदस्यका लागि निर्वाचन हुनेछ । 

जसमा उम्मेदवार दीपक थापा क्षेत्री, रुपेश अधिकारी, दीपेन्द्र धिमाल र लोकेन्द्र गुरुङले ३९ मत प्राप्त गरेका थिए । उनीहरुबाट दुई सदस्य आउने छन् ।

आफू अल्पमतमा रहेका कारण पहिलो कार्यसमिति बैठकमा नै नेम्वाङले पहिलो एजन्डा प्रस्तुत नगरेर नै निर्णय गरे । चुनाव जितेको पहिलो बैठकमा नै विरोध गर्नुहुन्न भन्ने पक्षमा नयाँ कार्यसमितिका पदाधिकारी थिए । सोही समयमा नेम्वाङले किरण राईलाई महासचिवमा मनोनयन गरे । खेलाडीलाई न्याय दिलाउँछु भनेर खेलाडी संघसँग मागेको भोटको गुन पनि तिरे । नेपाली फुटबल राजनीतिमा झुल्की रहने विदेशी नागरिक नवीन पाण्डेलाई पनि विदेश विभागमा पुर्‍याए । त्यस्तै उपाध्यक्षमा हारेका न्युरोड टिम (एनआरटी)का अध्यक्ष सुन्दरनरसिंह जोशीलाई उपहार स्वरूप साफको उपाध्यक्षका लागि मनोनयन गरे । 

यो सबै निर्णय गर्दा कर्मा छिरिङ शेर्पा प्यानलले विरोध गर्ने अवस्था थिएन । नत गणेश थापा पक्ष । निर्वाचन भएको पहिलो बैठकमा नै विरोध भाषा बोल्न उचित उनीहरुले ठानेनन् । पहिलो बैठकमा निर्णय गर्दा आफूहरूलाई नै घाटा हुने नयाँ सदस्यहरूको आँकलन थियो । 

‘पहिलो बैठकमा नै के विवाद गर्ने भन्ने भयो । एजन्डाहरुमा छलफल नै नगरी प्रस्तुत गरेर पारित गर्नु भयो । अहिले पनि अध्यक्षको एकल निर्णय लाद्ने प्रयत्न हुँदैछ, हामी त्यसलाई स्वीकार गर्ने पक्षमा छैनौँ,’ कार्य समिति बैठकमा सहभागी एक सदस्यले रातोपाटीसँगको कुराकानीमा भने । 

अब एन्फाको दोस्रो कार्यसमितिको बैठकबाट एन्फामा तीन धार देखिनेछ । नेम्वाङले थापालाई गरेको वाचा पूरा गर्न आनाकानी गरिरहेको समयमा अब थापा पक्षले कार्यसमिति बैठकमा चुप लागेर बस्ने अवस्थामा छैन । 

अहिले नेम्वाङलाई विदेश विभाग प्रमुख नवीन पाण्डेले चलाउन खोजेका छन् । चुनाव ताका आफूले गरेको सहयोगको ब्याजसहित पाण्डेले नेम्वाङबाट असुल्नेसँगै एन्फामा हुने हरेक नियुक्तिमा आफ्नो व्यक्ति राख्ने प्रयत्न गरिरहेका छन् । 

नेम्वाङले गणेश थापाका जेठा छोरा गौरव थापालाई एन्फाको कुनै जिम्मेवारीमा राख्ने चुनावअघि प्रतिबद्धता जनाएका थिए । चुनाव जितिसके गौरवको कुरा नेम्वाङले उठाउनै छोडे । आफूले गरेको प्रतिबद्धता नै भुल्न थालेपछि थापा पक्ष अहिले नेम्वाङ पक्ष प्रति रुष्ट छ । 

नेम्वाङले चुनावअघि सुरेश शाहलाई प्रवक्तामा ल्याउने प्रतिबद्धता जनाएका थिए । तर, अहिले नेम्वाङले एन्फा निर्वाचनमा आफूलाई सघाएका दामोदर भट्टराइलाई एन्फाको प्रवक्तामा ल्याउने मनसाय बनाएका छन् । 

यता थापा पक्षको अबको पहिलो एजन्डा गौरवलाई सीईओ पदमा एन्फामा राख्ने र शाहलाई प्रवक्तामा राख्ने हुनेछ । दुवै कुरा नभएमा थापा पक्षले अन्य निर्णय नमान्ने बताएको छ । पाण्डेलाई विदेश विभाग दिएर रुष्ट बनेको थापा पक्षलाई अझ विरोध गर्ने बाटो मिलेको छ । एन्फाले पाण्डेलाई विधान मिचेर विदेश विभाग प्रमुखमा मनोनयन गरेको थियो । 

त्यस्तै राष्ट्रिय यु–२० टोलीको टिम म्यानेजरमा दिवाकर घलेलाई नियुक्त गर्दा पनि नवीन पाँडे, किरण राई, उपाध्यक्ष दावा लामा र अध्यक्ष नेम्वाङको बलियो हात थियो । थापा पक्षका सदस्यलाई सुइँको नै नदिएर उनलाई टिम म्यानेजर बनाइयो । 

यतिबेला एन्फामा रहेको तीन धारमध्ये अध्यक्ष नेम्वाङ सबैभन्दा कमजोर छन् । उनले थापा पक्षसँग मिलेर जान्छन् वा शेर्पा समूहसँग कम्प्रमाइज गर्छन्, त्यो हेर्न भने बाँकी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप