बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतीय निर्माण कम्पनीको लापरबाहीका कारण राष्ट्रिय गौरवको आयोजना अलपत्र

बिहीबार, २३ असार २०७९, १० : १४
बिहीबार, २३ असार २०७९

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको राँके–रवि–बुधबारे सडकको काम  लथालिङ्ग अवस्थामा छ । भारतीय निर्माण कम्पनीको लापरबाहीका कारण राँके–रवि–बुधबारे सडकले गति लिन सकेको छैन । 

पाँचथरको राँकेदेखि रवि–छ नम्बर बुधबारे हुँदै धनकुटाको भेडेटार जोड्ने १०३ किलोमिटर सडक कालोपत्र गर्न तोकिएको चार वर्षे अवधिको म्याद गुज्रेको सात महिना बितिसकेको छ । उक्त काम हालसम्म अगाडि बढ्न सकेको छैन । काम सुरु भएको पाँच वर्ष पुग्न लाग्दासम्म वित्तीय प्रगति १७ र भौतिक प्रगति १९ प्रतिशत मात्रै भएको छ । 

“सम्झौता सकिँदासम्म न्यूनतम ३० प्रतिशत काम गरेकै हुनुपर्छ । मापदण्डअनुसार काम नभएकाले म्याद थप्न सक्ने अवस्था छैन”, कन्सलटेन्ट कम्पनी सिम्याटका इन्जिनियर स्वागत महर्जनले भने । तीन करोड २६ लाख १८ हजार डलर लागत रहेको उक्त सडक कालोपत्र गर्न भारतीय निर्माण कम्पनी एप्को इन्फ्रान्टले नेपाल सरकारसँग २०७५ सालमा सम्झौता गरेको थियोे । काम २०७८ मङ्सिरसम्म सक्नुपर्ने छ । सडक निर्माणका लागि सहयोग भारतीय एक्जिम बैंकले गरेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्झौता लगत्तै २०७५ पुस २१ गते कालोपत्र गर्न उद्घाटन गरेका थिए । म्याद गुज्रेको सात महिना बितिसक्दासम्म कामको प्रगति १९ प्रतिशतमा सीमित छ । निर्माण कम्पनीले श्रमिकलाई नियमित पारिश्रमिक दिएको छैन । इन्जिनियर महर्जनका अनुसार निर्धारित समयमा काम नसकिए पहिलो पटक थप्न ३० प्रतिशत काम गरेकै हुनुपर्छ । पूर्ण एकाइको ३० प्रतिशतभन्दा कम मात्रै काम गरेकाले म्याद थप्दा दैनिक ०.१ प्रतिशतका दरले जरिवाना नेपाल सरकारलाई तिर्नुपर्छ । एप्को इन्फ्रान्टका सञ्चालक जरिवाना तिरेर म्याद थप्ने मानसिकतामा देखिएका छैनन् ।

एप्को इन्फ्रान्टका प्रोजेक्ट म्यानेजर राजु सिंह काममा ढिलाइ हुनुको कारक कोभिड–१९ र झरी भएको दाबी गर्छन् । कालोपत्र गर्न जिम्मा लिएको उक्त कम्पनीले १०३ किलोमिटर लामो सडक १ नम्बर प्रदेशका पाँचथर, इलाम, मोरङ र धनकुटालाई सडक मार्गसँग जोड्ने उद्देश्यअनुसार तीन दशक अगावै सुरु भएको अभिलेख सडक डिभिजन इलामसँग छ ।

उक्त सडक मेची राजमार्गअन्तर्गत इलाम–फिदिम खण्डमा पर्ने राँके बजारबाट सुरु भएर देउराली, घुर्विसे पञ्चमी, सप्‍तमी, रवि, चिसापानी पञ्चमी, कम्फुटार, लेकगाउँ, छ नम्बर बुधबारे, सौरे, मुढेवास, समिया, चौकीभञ्ज्याङ, राजारानी, डाँडाबजार, ओख्रे र नाम्जे हुँदै कोसी राजमार्गको धरान–धनकुटा सडकखण्डमा पर्ने भेडेटार पुगेर टुङ्गिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप