सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

‘उपेन्द्र यादव एउटा प्रदेश र समुदायमा मात्र रमाउनु भयो’

बाबुराम र उपेन्द्रजी हात मिलाएर छुट्टिनुभयो भन्ने हल्ला फैलियो : गंगा श्रेष्ठ
बिहीबार, २३ असार २०७९, ०९ : १०
बिहीबार, २३ असार २०७९

जनता समाजवादी पार्टी नेपाल विभाजनको संघारमा छ, मात्र औपचारिकता दिन बाँकी छ । डा.बाबुराम भट्टराई र उपेन्द्र यादवबीच सौहाद्रपूर्ण तरिकाले अलग हुने सहमतिपछि दुवै पक्षले आ–आफ्नो समूहको केन्द्रीय समितिको बेठक बोलाएका छन् । अहिले त्यसैको तयारी चलिरहेको छ । 

यसबीचमा पार्टी अध्यक्ष यादवले तीनजना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्रीहरु सरकारमा पठाएका छन् । यसले पार्टीभित्रको आन्तरिक विवाद झनै चर्किएको छ । यिनै विषयहरूमा केन्द्रित रहेर रातोपाटीका लागि मनोज न्यौपानेले जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्य गंगा श्रेष्ठसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, उहाँसँग गरिएको कुराकानी:

तपाईंहरु जसपाबाट अलग हुने निर्णयमा नै पुग्नुभएको हो ?

–जसपाबाट अलग हुने निर्णय गरेका छैनौँ । जसपा सबैको मेहनतबाट बनेको पार्टी हो । जसपालाई एकताबद्ध गरौँ, पार्टीमा देखिएको समस्यालाई समाधान गरौँ भनेर हामी लागेका छौँ । जसपाबाट निस्किने–ननिस्किनेभन्दा पनि यसलाई कसरी मजबुत बनाउने मुख्य कुरा हो । हाम्रो बहस त्यसैमा केन्द्रित छ । 

तर बाहिर दुई (बाबुराम–उपेन्द्र) पक्षबीच भएका कुराहरूको बारेमा जे चर्चा भइरहेको छ, त्यो बुझ्दा त पार्टी फुटिसक्यो जस्तो लाग्छ त !

–जसपाभित्र समस्याहरू छन् । जसपाले भोगिरहेका जे जस्ता समस्याहरू छन्, त्यसलाई एकजना व्यक्तिले समाधान गरेर हुँदैन । त्यसको निम्ति हामीले वैशाख २९ र ३० केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छौँ । त्यो विस्तारित बैठकमा उपस्थित हुने एक हजारभन्दा बढी नेता तथा कार्यकर्ताहरूको छलफलबाट एउटा सामूहिक समाधान निकाल्छौँ । 

राष्ट्रिय पार्टी संविधानतः थ्रेसहोल्ड कटेपछि हुन्छ । तर त्यो राष्ट्रिय चरित्रको पार्टी भयो कि भएन, त्यो हेर्नुपर्छ ।

जसपाबाट सौहाद्र रूपमा छुट्टिने सहमति उपेन्द्र यादव र बाबुराम भट्टराई बीच भएको होइन र ? 

–त्यस्तो सहमति भएको छैन । बाहिर एउटा यस्तो हल्ला फैलियो कि बाबुराम र उपेन्द्रजी हात मिलाएर छुट्नुभयो रे । वास्तवमा त्यो यथार्थ होइन । यथार्थ त के थियो भने हाम्रो नेपालका राजनीतिक दलको नेतृत्व गर्ने नेताहरू मिलुन्जेलसम्म एक अर्कालाई देवत्वकरण गर्ने तर जब अलिकति कुरा मिल्दैन अनि पुरै खुइल्याउने, राक्षसीकरण गर्ने, मान्छे भन्दा तल गिराउने काम हुन्छ । यस्तो खालको जुन तल्लो तहको संस्कृति छ नि त्यो संस्कृतिबाट हामी अलग हुनुपर्छ है, अलिकति सुसंस्कृत हुनुपर्छ है भनिएको हो । पार्टीभित्र समस्या छ, पार्टीभित्र बहस छ । त्यो बहस उपेन्द्र र बाबुरामको लागि मात्र होइन, त्यसमा सबै मिलेर विचारमा बहस गर्नुपर्छ । यो विचार र बहसलाई एकताबद्ध गरेर पार्टीमा पुर्‍याउन असम्भव भयो भने त्यतिखेर छुट्टिने पर्दा भए पनि हात मिलाएर छुटौँ । एकले अर्कालाई किन खुइल्याउने ? एकले अर्कालाई किन गाली गर्ने ? व्यक्तिगत रूपमा किन टीकाटिप्पणी गर्ने ? उहाँले भनेको कुरा त्यो थियो । 

जसपामा खास विवाद के हो, जनताले बुझ्ने भाषामा बुझाई दिनु न ?

–हाम्रो सोचमा उपेन्द्रजीसँग अन्तर पर्‍यो । उपेन्द्रजीले हिजो नेतृत्व गरिरहनु भएको संघीय समाजवादी फोरम थियो । त्यो फोरमभित्र उहाँसँगको विचारमा निकट राख्ने नेताहरू बीचको अन्तर के हो भने हामी अहिले राष्ट्रिय पार्टी निर्माण गर्न लागेका हौँ । नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकता हुँदा यही कुरा भएको थियो । पछि समाजवादी पार्टी र राजपा बीच एकीकरण हुँदा पनि यही कुरा भएको थियो ।

उहाँमा क्षेत्रीय सोच अलिकति बढी भएको पायौँ हामीले । अर्को कुरा, उहाँसँग सुरुदेखि नै नेतृत्वका लागि कुरा मिलिरहेको थिएन । नेपालको सन्दर्भमा सामूहिक नेतृत्व मात्र भएर पुग्दैन, .नेपालमा समावेशी नेतृत्वको सामूहिक नेतृत्व चाहिन्छ । यसमा उपेन्द्र यादवजीको फरकमत रह्यो ।

नेपालमा थुप्रै राष्ट्रिय पार्टीहरू छन् । देशको समस्या समाधानका निम्ति राष्ट्रिय पार्टी भएर मात्र हुँदैन । राष्ट्रिय चरित्रको पार्टी चाहिन्छ । त्यो राष्ट्रिय पार्टी संविधानतः थ्रेसहोल्ड कटेपछि हुन्छ । तर त्यो राष्ट्रिय चरित्रको पार्टी भयो कि भएन, त्यो हेर्नुपर्छ । समाज जस्तो छ, त्यस्तो पार्टी, समाजजस्तो छ, त्यस्तै राज्य जहिलेसम्म बनाउन सक्दैनौँ त्यतिखेरसम्म यो देशलाई हामीले चाहेजस्तो रूपान्तरण गर्ने, नागरिकले खोजेको जस्तो निर्माण गर्ने कुरा सम्भव हुँदैन । हाम्रो सबैभन्दा मूल कुरो नै राष्ट्रिय चरित्रको पार्टी निर्माण गर्ने थियो । समाज जस्तो छ त्यस्तै पार्टी निर्माण गर्ने उद्देश्य थियो ।  

यसमा उपेन्द्र यादवको सोच कस्तो पाउनु भयो त ?

–स्थानीय तहको निर्वाचनसम्म आउँदा राष्ट्रिय चरित्रको पार्टी भन्दा पनि अलि क्षेत्रीय चरित्रको पार्टीमा उहाँ बढी रमाउनेमा पर्नुभयो । उहाँ बढी मधेश केन्द्रित नै हुने । जसपा राष्ट्रिय चरित्र निर्माण गर्ने जुन सोच थियो तर पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले एउटा प्रदेश विशेषमा मात्र जोड, एउटा समुदाय विशेषमा मात्र जोड, एउटा भूगोल विशेषमा मात्र जोड दिनुभयो । त्यसको रिफलेक्सन के हुन्छ, अरू प्रदेशहरूमा आफै विचार गर्नुस् । अरू समुदायमा त्यसको असर के पर्छ, त्यसको प्रश्न उठ्छ नि । उहाँमा क्षेत्रीय सोच अलिकति बढी भएको पायौँ हामीले । अर्को कुरा, उहाँसँग सुरुदेखि नै नेतृत्वका लागि कुरा मिलिरहेको थिएन । नेपालको सन्दर्भमा सामूहिक नेतृत्व मात्र भएर पुग्दैन, .नेपालमा समावेशी नेतृत्वको सामूहिक नेतृत्व चाहिन्छ । यसमा उपेन्द्र यादवजीको फरकमत रह्यो । उहाँले के तर्क दिनुहुन्छ भने ‘एमाले र माओवादी मिलेर नेकपा बनायो त्यहाँ दुईटा अध्यक्ष बनायो, त्यो सफल भएन । जसपामै दुईटा अध्यक्ष राख्यो त्यहाँ पनि सफल भएन । त्यसैले नेपालमा बहु–नेतृत्व सफल छैन र सम्भव पनि छैन ।’ एकल नेतृत्वको सोचसँग उहाँको कार्यशैली मिल्दोजुल्दो छ । एकल नेतृत्वमा हुनुहुन्छ, पार्टीका कुनै पनि निर्णय ड्याङ डयाङ गर्नुहुन्छ । निर्णयको शृङ्खला हेर्दा सबै स्पष्ट हुन्छ । सामूहिक नेतृत्व प्रणालीको अभ्यास गर्नका लागि केन्द्रीय समितिको बैठकबाट एउटा तीन सदस्य मुख्यालय बनाएका थियौँ । त्यो मुख्यालयले सोचमा रूपान्तरण गर्ला भनेका थियौँ । तर स्थानीय चुनावमा गरेका निर्णयहरूबाट पनि उहाँको कार्यशैली स्पष्ट हुन्छ । उहाँले दुई दिनअघि तीनजना मन्त्री फिर्ता बोलाएर पुनः नयाँ मन्त्री पठाउनुभयो । न बाबुरामलाई थाहा छ, न केन्द्रीय कार्यकारिणी समितिलाई थाहा छैन । उहाँलाई मन लाग्यो फिर्ता बोलाउने, उहाँलाई मन लाग्यो भने पठाउने काम गर्नुहुन्छ । वीरगञ्जमा केन्द्रीय समिति बोलाउनु भएको छ, त्यस बारेमा हामीलाई थाहै छैन । संसदीय समितिको बैठक बस्यो रे, त्यसको बारेमा सांसदहरुलाई जानकारी छैन । 

पार्टी यसरी दुई चिरामा विभाजित हुनुमा उपेन्द्र यादव मात्र दोषी हुनुहुन्छ कि बाबुराम भट्टराई पनि दोषी हुनुहुन्छ ? 

–यसमा व्यक्तिगत कुरा छैन । तर व्यक्ति न हो कहीँ न कहीँ त्रुटि भइहाल्छ । भगवानले गल्ती गर्दैन, ढुंगाले गल्ती गर्दैन । तर मानवबाट गल्ती हुने गरेको छ । मानवीय स्वभाव र मानवीय कमजोरी हुनसक्छ । तर म यहाँ विचार र सिद्धान्तको कुरा गरेको छु । 

माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्डले मैले २५ वर्षसम्म बाबुरामलाई झेलेँ, कसैले एक वर्ष पनि झेलेर देखाइ दियोस् भन्नुभएको थियो । तपाईंहरुले बाबुरामलाई कसरी झेलिरहनु भएको छ ? 

–मैले लगभग बाबुराम भट्टराईसँग ३२ वर्षदेखि काम गरिरहेको छु । अरू–अरू नेताहरूसँग निकट रहेर पनि काम गर्ने मौका प्राप्त गरेको थिएँ । प्रचण्डकै कुरा भनौँ वा अरू नेताहरुको कुरा भनौँ, उहाँहरू र बाबुराम भट्टराईमा सारभूत रूपमा भिन्नता छ । बाबुराम भट्टराईले नयाँ–नयाँ सोच अनुसारको खोज गर्नुहुन्छ । र, त्यो खोजलाई प्रयोग गर्नुहुन्छ । नयाँ–नयाँ खोज र प्रयोगको मामिलामा बाबुराम भट्टराई निकै सिपालु हुनुहुन्छ । नयाँ नयाँ प्रयोग नगरीकन नयाँ नयाँ आविष्कार कसरी हुन्छ ? 

व्यवस्था बदलियौँ, अवस्था बदल्नुपर्छ, मेरै पालामा समृद्धि जस्ता नारा उहाँले दिनुभयो । उहाँले त्यो नारा दिँदै माओवादी केन्द्र छाडेर नयाँ शक्ति गर्दै समाजवादी हुँदै यहाँसम्म आइपुग्नु भएको हो । हो, यहीँनिर आउँदा हाम्रो सोचमा अन्तर पर्‍यो । 

जनयुद्ध हाँकेका व्यक्ति प्रधानमन्त्री र अर्थमन्त्री भइसकेका व्यक्ति यसरी अस्थिर हुँदा समस्या हुन्छ होला नि होइन ?

–त्यस्तो होइन, उहाँले अहिलेसम्म जनयुद्धमा हुँदा पनि र यता हुँदा पनि अब देश यो बाटोबाट अगाडि बढ्नुपर्छ है, यो बाटोबाट जानुपर्छ है जुन उहाँले भन्नुहुन्छ । त्यही बाटोमा देश हिँडेको देख्छु म । जनयुद्ध लड्दा उहाँले के भन्नुभयो भने रुसमा जस्तो, चाइनामा जस्तो फाइट टु फिनिसको सम्भावना छैन ।’ विश्व परिवेश बद्लेको छ । बदलिएको परिवेशमा हाम्रो सिद्धान्तहरु परिमार्जन गर्नुपर्छ । लडाईंका प्रारूपहरूमा परिमार्जन गर्नुपर्छ भन्ने कुरा उहाँले पार्टीभित्र भन्नुहुन्थ्यो । उहाँले संविधानसभाको कुरा ल्याउनुभयो, लोकतान्त्रिक गणतन्त्रको कुरा ल्याउनु भयो । त्यही कुरा ल्याएबापत प्रचण्डले उहाँलाई दण्डित गर्नुभयो । पछि त्यही बाटोमा माओवादी पार्टी गयो । संविधानसभाबाट संविधान बनिसकेपछि बाबुरामले अर्को स्टेप लिनुभयो । देशमा आधारभूत रूपमा एउटा राजनीतिक परिवर्तन पुरा भयो । संविधानसभाबाट संविधान घोषणा गरेपछि व्यवस्था बदल्ने जुन अहम् कार्यभार थियो राजनीतिक दलहरूको, त्यो आधारभूत रूपमा पुरा भयो । अब हामीहरू अर्को कार्यभारमा जानुपर्छ । एउटा शृङ्खला पुरा भयो एउटा कोर्स पुरा भयो, अब नयाँ कोर्समा जानुपर्छ उहाँले भन्नुभयो । व्यवस्था बदलियौँ, अवस्था बदल्नुपर्छ, मेरै पालामा समृद्धि जस्ता नारा उहाँले दिनुभयो । उहाँले त्यो नारा दिँदै माओवादी केन्द्र छाडेर नयाँ शक्ति गर्दै समाजवादी हुँदै यहाँसम्म आइपुग्नु भएको हो । हो, यहीँनिर आउँदा हाम्रो सोचमा अन्तर पर्‍यो । 

फेरि जसपाकै कुरा गरौँ, स्थानीय चुनावअघि पार्टीमा कुरा मिलिसकेको थियो तर चुनावपछि बाबुरामले फेरि विवाद झिक्नुभयो किन ?

–बाबुरामले नमान्नु भएको पनि होइन, उहाँले विवाद झिक्नु भएको पनि होइन । निर्वाचन सम्पन्न भएपछि आजसम्म तीनजनाको जुन हेडक्वार्टर छ त्यसको बैठक बसेको छैन । प्रोटोकलको हिसाबले एक नम्बरको अध्यक्ष बाबुराम भट्टराई हो नि । एक नम्बरको अध्यक्षलाई थाहै नदिईकन कस्तो केन्द्रीय समितिको बैठक बोलाउनुभयो ? त्यो कस्तो बैठक भयो ? उहाँले संसदीय दलको बैठक बोलाउनु भयो । सांसद त बाबुराम भट्टराई पनि हुनुहुन्छ तर के उहाँले बैठकको बारेमा थाह नपाउने ! मन्त्री फेरबदल गर्दा बाबुरामले थाहा नपाउने ? कार्यकारिणी समितिको बैठक बोलाउनुभयो, के–के निर्णय गर्नुभयो ? त्यो बैठकको बारेमा बाबुरामले थाह नपाउने । यो सबै हेर्दा के देखिन्छ भने बैठक भनेर बोलाउनु हुन्छ तर गुटको बैठक बोलाउने गर्नुहुन्छ । समग्र पार्टीको बैठक उहाँ (उपेन्द्र यादव) ले गर्नुहुन्न । 

हस्ताक्षर अभियान पनि पार्टीभित्रको समस्या समाधानका लागि गरिएको थियो । हस्ताक्षर गर्ने नै नपाउने केही छैन नि ।

बाबुराम भट्टराईको जनाधार छैन, सांगठनिक संगठन छैन अनि उपेन्द्र यादवसँग बराबरको हैसियत खोजेर हुन्छ त भन्ने आरोप पनि छ ?

–एउटै पार्टीमा भएपछि बराबरको अधिकार खोज्नु समान्य राजनीतिक सिद्धान्त होइन र । कहिलेकाहीँ अप्रिय कुराहरू पनि मेरो कानमा आइपुग्छ सुन्दा नै अप्रिय लाग्छ । ‘भोट धोतीले ल्याउने भाग टोपीले खोज्ने’ कुरा पनि भन्ने गरेको सुनिन्छ । त्यही भएर त हामीले राष्ट्रिय चरित्रको पार्टीको कुरा गरेको हो नि । सदियौँदेखि सिंहदरबारले मधेसलाई उपेक्षा गर्‍यो । मूलधारबाट विमुख बनायो । त्यही मूलधारमा ल्याउन मधेसमा त्यत्रो विद्रोह भयो । त्यो विद्रोहको जगमा बाबुरामले माओवादीमा विद्रोह गर्नुभयो । अनि अहिले आएर फेरि पनि मधेसी, फेरि पनि पहाडी भन्न सुरु गर्छन् त्यहीनिर हाम्रो सोचमा अन्तर हुन जान्छ । त्यसैले यो कुरामा कसैले खेल्न खोज्छ भने त्यो कुरा स्वीकार गरिँदैन । कोही पनि सत्तामा स्थायी रूपमा बस्न सक्दैन । कसैले सधैँ समान ढंगको राजनीतिक शक्ति आर्जन गर्न सक्दैन । उपेन्द्रजीले नेतृत्व गर्नुभएको तत्कालीन मधेसी जनअधिकार फोरम कुनै बेला ५३ सीट जितेको पार्टी हो नि । कुनै बेला दुई सिटमा झरेको इतिहास पनि छ नि । त्यसैले यो सत्ता, शक्ति स्थायी होइन । मुख्य कुरा विचार, सिद्धान्त र कार्ययोजना हो । 

तपाईहरुले पनि विवाद मिलाउनुको सट्टा पटक–पटक हस्ताक्षर अभियान चलाएर पार्टीमा विवाद सिर्जना गर्नुभयो नि त किन त्यस्तो ?

–हस्ताक्षर अभियान पनि पार्टीभित्रको समस्या समाधानका लागि गरिएको थियो । हस्ताक्षर गर्ने नै नपाउने केही छैन नि । हाम्रो विधानमा महिनामा कम्तीमा एकपटक केन्द्रीय समितिको बैठक बस्ने प्रावधान छ । बैठक बसेको ६ महिना कटिसक्दा पनि बैठक नबसेपछि बैठक बोलाउन दबाब दिनका लागि त्यो हस्ताक्षर सङ्कलन गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप