शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अब को बन्ला नयाँ अर्थमन्त्री ?

बुधबार, २२ असार २०७९, २१ : ५४
बुधबार, २२ असार २०७९

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएपछि नयाँ अर्थमन्त्री को भन्ने चर्चा सुरु भएको छ । गत वर्ष असार २९ गते प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको नेतृत्व सम्हाल्दा जनार्दन शर्माले अर्थमन्त्रालयको जिम्मेवारी पाएका थिए ।

प्रधानमन्त्री देउवासँगै गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जामन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले सपथ लिएका थिए । काँग्रेसबाट खाण र कार्की मन्त्री हुँदा माओवादीले शर्मा र भुसाललाई पठाएको थियो ।

३ सय ४३ दिन अर्थ मन्त्रालयको नेतृत्व सम्हालेका शर्मालाई बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नताको आरोप लागेपछि आज पदबाट बाहिरिएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा छानविनका लागि मार्गप्रशस्त गर्दै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उक्त मन्त्रालयको जिम्मेवारी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाले नै तोकेकी छन् ।

बुधवार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई दिइएको जानकारी गराएको छ । यद्यपि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएसँगै नयाँ अर्थमन्त्रीबारे बहस सुरु भइसकेको छ ।

काँग्रेसका नेताहरुले बिग्रिँदो अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन विज्ञलाई अर्थमन्त्री बनाउनुपर्ने लबिङ थालेको देखिन्छ । तर अर्थमन्त्रालय सत्ता गठबन्धनको भागबण्डामा माओवादीले पाएको थियो ।

शर्माले राजीनामा दिएपछि यसमा पहिलो हक माओवादीकै रहने प्रष्टै छ । तर काँग्रेसमा अर्थमन्त्रालय राखेर गृह वा परराष्ट्र माओवादी केन्द्रलाई दिएर भागबण्डा मिलाउन भने तीव्र लबिङ भइरहेको छ । अर्थमन्त्री काँग्रेसले पाएको अवस्थामा बलियो दाबेदार सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की नै देखिन्छन् ।

परराष्ट्रमन्त्री नारायण खड्का पनि अर्थमन्त्रीका लागि सुरुदेखि नै लबिङ गरिरहेका थिए । अर्थमन्त्रालय माओवादीको भागमा परेपछि खड्कालाई परराष्ट्रमन्त्री बनाइएको थियो । माओवादी केन्द्र अर्थको सट्टा परराष्ट्रमन्त्री लिन तयार भएको खण्डमा खड्का अर्थमन्त्री बन्ने सम्भावना रहेको काँग्रेस नेताहरु बताउछन् । 

विनोद चौधरीको सम्भावना कति ?

काँग्रेसले अर्थमन्त्री लिएर नयाँ व्यक्तिलाई जिम्मेवारी दिँदा काँग्रेस केन्द्रीय सदस्य तथा संघीय सांसद विनोद चौधरीको सम्भावना बलियो छ । गठबन्धनको सरकार बन्दा चौधरीले सुरुमै अर्थमन्त्रीमा रुची देखाएका थिए ।  त्यसका लागि उनले तीव्र लबिङ गरेका थिए । 

तर अर्थमन्त्रालय माओवादीको भागमा परे पछि चौधरीको लबिङ त्यतिबेला काम लागेन । अर्थमन्त्रीबाट शर्माले राजीनामा दिएपछि चौधरीलाई अर्थमन्त्री बनाउन काँग्रेसका नेताहरुले लबिङ थालेको पाइएको छ । अहिले चौधरी विदेशमा भएपनि उनलाई अर्थमन्त्री बनाउन नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष लबिङ गरिरहेको बालुवाटार स्रोतले बतायो ।

माओवादीले अर्थमन्त्री छोड्न तयार भएको खण्डमा चौधरीलाई अर्थमन्त्री बनाउन देउवा पनि सकारात्मक रहेको काँग्रेसका एक पदाधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘अर्थतन्त्रई अहिलेको संकटबाट माथि उठाउनुपर्ने चुनौती छ । अर्थतन्त्रको विज्ञ र विश्व दुनियाँले पत्याउने अर्थमन्त्री आवश्यक छ । यो कुराको बोध प्रधानमन्त्रीजीमा पनि देखिएको छ ।’

शर्माले अर्थमन्त्रीबाट राजीनामा देखिएपछि नयाँ अर्थमन्त्रीबारे आफूहरु आन्तरिक छलफलमा रहेको उनको भनाइ छ । ‘सांसदलाई मन्त्री बनाउने कि गैरसांसदलाई भन्ने विषयमा पनि छलफल भइरहेको छ,’ उनी भन्छन्, ‘प्रधानमन्त्रीजी सांसदहरुबाटै विज्ञलाई अर्थमन्त्री बनाउने कुुरामा सकरात्मक हुनुहुन्छ । त्यस्तो अवस्था विनोद चौधरी पनि मन्त्री भन्न सक्नुहुन्छ ।’

सफल उद्यमी चौधरीको अन्तराष्ट्रिय सम्बन्ध राम्रो भएकाले वैदेशिक सहायता ल्याउने सजिलो हुने उनको बुझाइ छ । अर्थमन्त्रीमा योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्लेको पनि चर्चा पनि चर्चामा छ । काँग्रेसका केन्द्रीय सदस्य गोविन्द पोखरेल र अजयबाबु सिवाकोटीले सामाजिक सञ्जालमार्फत नै वाग्लेलाई अर्थमन्त्री बनाउनु उपयुक्त हुने तर्क गरेका थिए । तर काँग्रेसको संस्थापन पक्ष भने वाग्लेप्रति त्यति सकारात्मक नभएको बुझिएको छ । 

वाग्लेलाई जिम्मेवारी दिएपनि उनले पार्टीका लागि योगदान नगरेको काँग्रेसमा गुनासो छ । पार्टीको महासमिति सदस्य मनोनित गरे पनि वाग्ले फेरि जागिर खान हिडेकोमा प्रधानमन्त्री देउवालाई पनि चित्त नबुझेको छैन । प्रधानमन्त्री सरकारात्मक नभएकाले  वाग्ले अर्थमन्त्री बन्ने सम्भावना रहेको बालुवाटार स्रोतको दाबी छ ।

पुनः शर्माकाे सम्भावना कति ?

शर्मा नै पुनः अर्थमन्त्रीका रुपमा आउने सम्भावना पनि उत्तिकै छ । उच्चस्तरीय संसदीय छानविन समितिलाई शर्मामाथि छानविन गर्न १० दिनको समय दिइएको छ । उक्त समयमा निर्दोष ठहरिए शर्मा नै अर्थमन्त्रीका रुपमा पुनः सिंहदरबार भित्रिन सक्ने माओवादीका नेताहरु बताउँछन् । संसदीय समितिको छानबिनबाट शर्मा निर्दोष साबित हुने माओवादी केन्द्रका नेता वर्षमान पुनको दाबी छ ।

संसद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पुनले छानबिनबाट निर्दोष साबित भए शर्मा नै पुनः अर्थमन्त्री बन्ने बताए । उनले भने, ‘छानबिन हुन्छ । उहाँले निर्दोष छु भन्नुभएको छ। उहाँ निर्दोष हो भने उहाँ नै अर्थमन्त्री हुनुहुन्छ । अर्को कोही मान्छे अहिले पठाउँदैनौँ ।’

शर्मा पुनः अर्थमन्त्री भएर जाने अवस्था नबने नेता देव गुरुङ अर्थमन्त्री बन्ने तीव्र आकांक्षामा छन् । यस्तै पूर्व अर्थमन्त्री वर्षमान पुनलाई पनि शर्माको विकल्पका रुपमा हेरिएको छ ।

तर अर्थ मन्त्रालय माओवादीलाई नै दिने वा काँग्रेसले दिने भन्ने विषयमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल हुन बाँकी नै छ । काँग्रेस प्रवक्ता प्रकाशशरण महतले भने, ‘सरकार गठन हुँदा नै अर्थ मन्त्रालयमा माओवादी केन्द्रले लिएको हो ।’

उनले भने, ‘अब के गर्छ भन्नेबारे प्रधानमन्त्री र प्रचण्डजीबीच छलफल होला । यसअघि उहाँहरूबीच केही छलफल भएको भए मलाई थाहा छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप