बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

भारत र कुवेतमा महिला बेचबिखन गर्ने कार्यमा संलग्न ३ जना पक्राउ

बुधबार, २२ असार २०७९, १७ : ४६
बुधबार, २२ असार २०७९

मानव बेचविखन तथा ओसारपसारमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका–१० चापागाउँ बस्ने ४८ वर्षीय दौलत रोका, काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलाकी २७ वर्षीया रेवती सुनार र काठमाडौं टोखा नगरपालिका–२ चण्डेश्वरी बस्ने रोल्पा त्रिवेणी गाउँपालिका–७ का ५२ वर्षीय भरतमणि घर्तीमगर रहेका छन् । 

दौलतलाई गत जेठ २४ गते ललितपुर जावलाखेलबाट, रेवतीलाई गत जेठ २० गते काठमाडौं बबरमहलबाट र भरतमणिलाई गत जेठ १३ गते काठमाडौं टोखाबाट प्रहरीले पक्राउ गरेको हो ।   उनीहरूमध्ये दौलतले विभिन्न प्रलोभन तथा डरत्रास देखाई पीडितलाई ललितपुर ढोलाहिटीमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । 

दौलतले कुवेतमा मासिक ४०–५० हजार रूपैयाँसम्म कमाई हुने प्रलोभन देखाई भारतको नयाँदिल्ली हुँदै २०७८ चैत १६ गते कुवेतमा घरायसी कामका लगि बिक्री गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । कुवेतमा ती पीडितलाई घर मालिकले समेत बन्धक बनाई जबरजस्ती करणी गरेकोमा मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलको पहलमा उनलाई कुवेतबाट उद्धार गरिएको थियो । 

साथै रेवतीले भारतमा डान्स बारमा काममा लगाइदिने प्रलोभन देखाई पीडितलाई वीरगञ्जबाट भारतको रक्सौल सौनाबजार पुर्याई डर त्रास देखाई डान्स गर्न लगाएको प्रहरीले जनाएको छ । ती पीडितलाई सौनाबजारबाट भारतीय प्रहरीले उद्धार गरी भारतको बालिका गृह मोतिहारीमा राखेकोमा माइती नेपालको सहयोगमा नेपाल फिर्ता ल्याइएको थियो । 

यसैगरी भरतमणिले दुबईमा कम्पनीको प्याकिङ सम्बन्धी काममा लगाइदिने भनि मासिक ४०–५० हजार रूपैयाँसम्म कमाई हुने प्रलोभनमा २०७९ वैशाख १६ गते काठमाडौं एयरपोर्टबाट दुबई भनी कुवेतको घर मालिकलाई ५ हजार कुवेत दिनारमा बिक्री गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 

जिल्ला अदालत काठमाडौंको २०७९ असार २१ गतेको आदेशले दौलतलाई, २०७९ असार १५ गतेको आदेशले रेवतीलाई र २०७९ असार ८ गतेको आदेशले भरतमणिलाई मुद्दा पुर्पक्षको लागि कारागार कार्यालय पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप