बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

आयोगद्वारा मंसिर २ गतेका लागि निर्वाचन मिति प्रस्ताव

बुधबार, २२ असार २०७९, १६ : ५४
बुधबार, २२ असार २०७९

निर्वाचन आयोगले आगामी मंसिर २ गतेका लागि प्रदेश र संघको निर्वाचनको मिति प्रस्ताव गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसहितको छलफलमा आयोगका पदाधिकारीले मंसिर २ गतेका लागि चुनावको मिति प्रस्ताव गरेका हुन् । 

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६(१) र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६(१) बमोजिम प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएको जानकारी दिएको छ । निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचन सम्बन्धी कानूनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ । 

आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कानुनमन्त्री गोविन्द बन्दी, मुख्यसचिव शंकरदास बैरागी लगायतसँग छलफल गरेको थियो । छलफलपछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले रातोपाटीसँग भने, ‘हामीले मंसिर २ गते शुक्रबार एकै चरणमा निर्वाचनको मिति प्रस्ताव गर्‍यौँ ।’

उनले १२० दिन अवधि हुने गरी निर्वाचनको मिति तोकिदिन प्रधानमन्त्रीसँग आग्रह गरिएको बताए ।  प्रधानमन्त्री देउवाले १२० दिनकाे समय अवधि हुने गरि निर्वाचनको मिति दिने जवाफ दिएका थिए । प्रधानमन्त्री देउवाले एकै चरणमा निर्वाचन गर्ने सन्दर्भमा सहमति जनाएको थपलियाले बताए । आयोगले प्रस्तुत गरेको मितिका सन्दर्भमा भने प्रधानमन्त्री देउवाले छलफल गर्न आवश्यक रहेको जवाफ दिएका थिए ।

 ‘मंसिर २ गतेको हकमा हामीले अलि कति छलफल गरेर मंसिर ५ गते उता नजाने गरी उपयुक्त मिति दिने छौं,’ प्रधानमन्त्री देउवाको भनाइ उधृत गर्दै थपलियाले भने । उनका अनुसार प्रधानमन्त्री देउवाले निर्वाचन आयोगलाई चुनावी तयारी थाल्न निर्देशन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप